२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

कसले रोक्यो दोषीमाथि कारबाही?

त्रिवि उत्तरपुस्तिका गायब प्रकरण

परीक्षा नतिजाअगावै विद्यार्थीका उत्तरपुस्तिका गायब पार्ने पदाधिकारीलाई कारबाहीका लागि सिफारिस गरेको दुई महिना पुग्न लाग्दा समेत त्रिभुवन विश्वविद्यालयले कारबाही प्रक्रिया सुरु गरेको छैन। नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेसँगै दोषीमाथि कारबाही गर्नुको साटो उल्टै जोगाउने चलखेल भइरहेको भन्दै शिक्षक तथा विद्यार्थीले आलोचना गरिरहेका छन्।

त्रिविका पूर्व रजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले उत्तरपुस्तिका गायब प्रकरणमा दोषी ठहराएका परीक्षा नियन्त्रकसहित सातजनालाई बर्खास्तसहितको कारबाहीका लागि स्पष्ट रूपमा सिफारिस गरेको थियो। त्यसयता त्रिवि कार्यकारी परिषद् पटकपटक बस्यो, तर दोषी ठहरिएका पदाधिकारीमाथि कारबाही गर्ने विषयले प्रवेश नै पाएन।

मानविकी र शिक्षाशास्त्र संकायका तीन सय ४२ विद्यार्थीले परीक्षा दिएर नतिजा कुरिरहेको समयमा त्रिवि परीक्षा नियन्त्रक कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो। समस्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले दुई महिनाअघि त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बराललाई बुझाएको प्रतिवेदनमा परीक्षा नियन्त्रकसहित सातजनाले विद्यार्थीको भविष्यसँग खेलबाड हुने हदैसम्मको लापरबाही गरेकाले पदबाट हटाउनुपर्ने पर्याप्त आधारसहित कारबाही सिफारिस गरेको हो।

त्रिविका पूर्व रजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय उच्चस्तरीय समितिले गत वर्ष वैशाख पहिलो साता परीक्षा दिएर नतिजा कुरिरहेका मानविकीतर्फका हेल्थ एन्ड पपुलेसन स्नातक तहका एक सय ५६ र शिक्षाशास्त्र संकायतर्फका फाउन्डेसन अफ एजुकेसनतर्फका एक सय ८६ गरी कुल तीन सय ४२ विद्यार्थीको उत्तरपुस्तिका नतिजाअगावै धुल्याउन पठाएको निष्कर्षसहित परीक्षा नियन्त्रकसहित सातजनालाई दोषी ठहर गर्दै सबैलाई पदबाट हटाउने कारबाही सिफारिस गरेको हो। तर पनि अझै त्रिविले किन कारबाही प्रक्रियासमेत अघि बढाउन सकेन ? कारबाही गर्न केले रोक्यो ?

राजनीतिक आडमा नियुक्ति पाएका दोषी ठहरिएका पदाधिकारीले आफ्नो पद जोगाउन भन्दै शीर्ष नेताहरूको भेटमा दौडधुप गरिरहेको रहस्य खुलेको छ। यही खबर पाएपछि असार ११ गते अखिल (समाजवादी) विद्यार्थी संगठनले परीक्षा नियन्त्रण कार्यालयमा पुगेर समितिले दोषी ठहर्‍याएका परीक्षा नियन्त्रकसहित सबै पदाधिकारीलाई कार्यकक्षबाट बाहिर निकालेर कार्यालय प्रवेशमा निषेधसमेत गरेका थिए।

त्रिवि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीका अनुसार अहिलेको समय बजेट निर्माण, विद्यार्थीको ग्रेसलिस्ट पास, परीक्षा र नतिजा प्रकाशनमा व्यस्त रहनुपरेकाले कारबाही प्रक्रिया बढाउन ढिलाइ भइरहेको हो। ‘नयाँ राजनीतिक घटनाका कारण त्रिवि सभा नै बस्न पाएको छैन। अब त्रिवि सभा छिटै बसाउने तयारीमा हाम्रो ध्यान केन्द्रित हुने छ’, शिक्षाध्यक्ष केसीले नागरिकसँग भने, ‘यहीबिच अबको दीक्षान्त समारोहमा योग्य ७५ हजार पाँच सय विद्यार्थीको प्रमाणपत्रमा हस्ताक्षर गरी ग्रेसलिस्ट पास गराउने तयारी र विद्यार्थीकै भविष्यसँग जोडिएको परीक्षा सम्पन्न र नतिजा प्रकाशन गर्ने काममा व्यस्त भयौं ।’ 

उनले उत्तरपुस्तिका हराउनेमा दोषी ठहर भएकामाथि कारबाही गर्न कानुनी सल्लाह लिएको बताए। उनले भने, ‘अब कार्यकारी परिषद्को बैठक बसेर निर्णय गर्न बाँकी छ। कार्यकारीले मात्र कारबाही के गर्नेबारे निर्णय गर्ने हो।’ तर विद्यार्थी भने कारबाही हुनेमा ढुक्क छैनन्। एकातिर समितिले पर्याप्त आधारसहितको कारबाहीको प्रतिवेदन उपकुलपतिलाई बुझाए पनि दोषी ठहरिएकालाई त्रिविले अझै कारबाही गर्न सकेको छैन भने अर्कातिर मुख्य दोषी ठहरिएका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई जोगाउन चलखेल भइरहेको समाजवादी विद्यार्थी संगठनका उपाध्यक्ष ललित सीले बताए। 

उनले त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारहरूले नै दोषीलाई बचाउ गरिरहेको आरोपसमेत लगाए। ‘त्रिवि कार्यकारी परिषद्ले गठन गरेको छानबिन समितिले नै पदबाट बर्खास्तसहितको आधार पुष्टि हुने गरी कारबाही सिफारिस गरिसकेका व्यक्तिलाई हामी पदमा बस्न दिँदैनौं’, उपाध्यक्ष सीले नागरकसँग भने, ‘कांग्रेस, माओवादी र एमाले तीनै दलका पदाधिकारी कारबाहीमा परेका छन्। यी पदाधिकारी राजनीतिक सेटिङमा मिलाउन खोज्दै छन्।’ उनले चेतावनी दिए, ‘विद्यार्थीको भविष्यसँग खेलबाड गर्नेलाई छाड्ने छैनौं । अब सडक आन्दोलनबाट कारबाहीको आवाज उठाउने छौं।’ परीक्षा नियन्त्रक जोशीको यो दोस्रो कार्यकाल हो। उनी कांग्रेसका सभापति शेरबहादुर देउवानिकट हुन् भने मानविकीतर्फका सहनियन्त्रक पवन बराल माओवादीनिकट हुन्। शिक्षाशास्त्रतर्फका अर्का सहनियन्त्रक सुरेशजंग शाही कांग्रेसनिकट हुन्।

समिति संयोजक प्रा.डा. पौडेलले बुझाएको छानबिन प्रतिवेदनअनुसार परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासनिकसम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र परिच्छेद ५७ का आधारमा पदबाट बर्खास्त गर्नुपर्ने सिफारिस गरेको छ।यसैगरी मानविकीतर्फका सहनियन्त्रक पवन बराल र शिक्षाशास्त्रतर्फका सहनियन्त्रक सुरेशजंग शाही, शाखा अधिकृत शम्भु दाहाल, मानविकीतर्फका शाखा प्रमुख दीपक पाण्डे, कर्मचारी चन्द्रप्रसाद जोशी र नारायणप्रसाद न्यौपानेलाई त्रिवि कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद ८२ अनुसार पदबाट हटाउने सिफारिस गरेको छ। अनुसन्धानमा उत्तरपुस्तिका हराएको नभएर धुल्याउन पठाएर चरम लापरबाही गरेको फेला परेको स्रोतले बतायो।

‘हामीले अध्ययन–अनुसन्धान गर्दा दोषी ठहर भएका नियन्त्रक, सहनियन्त्रक तथा कर्मचारीले कति सहज रूपमा पुराना उत्तरपुस्तिका धुल्याउन पठाउँदा त्यससँगै विद्यार्थीको उत्तरपुस्तिका पनि मजदुरले उठाएर लगेछ भन्नुभयो’, स्रोतले भन्यो, ‘यता एक वर्षदेखि नतिजा कुरेर बसिरहेका विद्यार्थीको नतिजाअगावै उत्तरपुस्तिका धुल्याउनेसम्मको अपराध गोप्य शाखाबाट भएको रहेछ, तर जिम्मेवार पदाधिकारीले कति सहज रूपमा लिनुभएको रहेछ ।’ स्रोतले औंल्यायो, ‘दोष परीक्षा नियन्त्रण कार्यालयको भए पनि विद्यार्थीले पुनः परीक्षा दिनुपर्‍यो। समितिले पर्याप्त आधार खडा गरेर पदबाट हटाउन सिफारिस गरी प्रतिवेदन बुझाएको छ।’

गत वर्ष वैशाख पहिलो साता भएको परीक्षा कार्यालयले उत्तरपुस्तिका नतिजाअगावै धुल्याइदिएपछि ती पीडित विद्यार्थीले ०८१ सालको चैत २१ गते पुनः परीक्षा दिनुपरेको थियो ।

प्रकाशित: ३ श्रावण २०८१ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App