२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

उपचारात्मक कक्षाले सिकाइ स्तर उच्च

राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा कुल ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको अवस्थामा काठमाडौं महानगरपालिकाको एसइईको नतिजा सामुदायिकतर्फ ७८ प्रतिशत रहेको छ। यति मात्र होइन, देशको समग्र एसइईको नतिजामा सामुदायिक स्कुलको नतिजा ३५.६५ प्रतिशत मात्र रहेको बखत काठमाडौंको सरकारी विद्यालयबाट उच्च जिपिए अर्थात् ४ जिपिए ल्याउने विद्यार्थी १० जना रहेका छन्। महानगरले विद्यार्थीलाई खुसी बनाएर मात्र उच्च नतिजा हासिल गर्न सकेको महानगरको बुझाइ छ।

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट २०८० को एसइईमा सहभागी विद्यार्थीमध्ये ५४५ जना अर्थात् १७.६६ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य तथा इन्जिनियर शैलेन्द्र झाले बताए। गत वर्षको नतिजा हेर्दा यो जिपिए ल्याउने ३.८३ प्रतिशत मात्र थिए। यसरी हेर्दा गत वर्षभन्दा उच्च जिपिए प्राप्त गर्ने विद्यार्थी यस वर्ष निकै वृद्धि भएका छन्।

५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष तीन हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए। कुल परीक्षार्थीमध्ये तीन हजार ८६ जना अर्थात् ७७.९४ प्रतिशत उत्तीर्ण भएका छन्। ८७३ जना अर्थात् २२ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने भएको छ।

झाका अनुसार ३.६ देखि ३.२ सम्म जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष एक हजार ५० जना छन् अर्थात् ३४ प्रतिशत छन्। गत वर्ष यो जिपिए प्राप्त गर्ने १२.४५ प्रतिशत मात्र थियो। गत वर्षको भन्दा करिब ३ प्रतिशतले वृद्धि भएको छ।

३.२० देखि २.८१ सम्म जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष एक हजार ८० जना अर्थात् ३४.९९ प्रतिशत छ। गत वर्ष यो समूहमा २० प्रतिशत मात्र थियो। यस्तै २.८० देखि २.४१ जिपिएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष ३९५ जना अर्थात् १२.७९ प्रतिशत छ । गत वर्ष २५.०४ प्रतिशत थियो । यस्तै २.४० देखि २.०१ जिपिए ल्याउने विद्यार्थीको संख्या यस वर्ष १६ छ। गत वर्ष यो संख्या ९२३ थियो।

‘यो नतिजाले कमजोर जिपिए ल्याउने विद्यार्थीको संख्या घटिरहेको र उच्च जिपिए ल्याउने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ,’ इन्जिनियर झाले भने, ‘काठमाडौं महानगरको सामुदायिक विद्यालयको नतिजा सुधार गर्न गत वर्षदेखि महानगरले विद्यालयहरूको अध्ययन गरी कमजोर विद्यार्थी र विद्यालयको संख्या पत्ता लगायो।

त्यसपछि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी गणित, विज्ञान र अंग्रेजीका शिक्षक नभएका स्कुलमा शिक्षक पठायो। शिक्षकलाई क्षमता अभिवृद्धि गर्ने तालिम दियो। कक्षा १० सम्मकै विद्यार्थीका लागि रकम उपलब्ध गराएर विद्यालयमा दिवा खाजाको व्यवस्था गर्‍यो।’

उनले महानगरले विद्यालय शिक्षामा गरेको सुधारको तरिका बताए। ‘विद्यालयमा किताबरहित प्रत्येक शुक्रबारलाई बुक फ्रि फ्राइडे बनायो। हो, यसले विद्यालयमा विद्यार्थी रमाएर आउन थाले। अतिरिक्त क्रियाकलाप गर्न थाले। कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा सञ्चालन गरियो । यसले विद्यार्थी खुसी भए र सिकाइ स्तर गुणस्तरीय बनायो।’ 

उनका अनुसार खुसी विद्यार्थीको दिमाग पनि स्वस्थ हुन्छ । स्वस्थ दिमागले शिक्षण सिकाइ स्तरीय बन्छ । ‘यति मात्र होइन अगामी वर्षदेखि महानगरको अध्ययनले ऐच्छिक विषयको पनि कमजोरी पत्ता लगाएर त्यसलाई समाधान गर्ने उपायको खोजी गरिसकेको छ। 

महानगरभित्र ऐच्छिक विषय भन्ने तर विद्यार्थीको इच्छाविपरीत इकोनोमिक, ऐच्छिक गणितलगायत अफ्ठ्यारा विषयको विकल्प छैन,’ झाले भने, ‘अब अगामी वर्ष महागरले समाज शास्त्रभित्रका जस्तै वातावरण, शिक्षा, स्वास्थ्य, साहित्य, जनसंख्या, सामाजिकसँग जोडिने व्यावहारिक विषय छनोटको व्यवस्था गर्ने तयारी गरेको छ।’  

विश्वनिकेतनका ४ जनाको ४ जिपिए

काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्। यो नेपालभरिका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट संख्या हो।

यससँगै ज्ञानोदय माध्यमिक विद्यालय, बाफलका तीनजना, रत्नराज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरका दुई जना र तरुण माध्यमिक विद्यालय बालाजुका एक जनाले ४ जिपिए प्राप्त गरेका छन्। 

यसरी महानगरपालिकाभित्र ५८ विद्यालयमध्ये चारवटा विद्यालयका १० जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका हुन्।

प्रकाशित: १९ असार २०८१ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App