२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

चेपाङ गाउँमा आवासीय सुविधासहित विद्यालय चलाउने तयारीमा गाउँपालिका

चितवनको इच्छाकामना गाउँपालिका–१ भाराङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा आवासीय सुविधासहितको विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ। गाउँपालिकाले तयारीस्वरूप पक्की भवन निर्माणको थालनी गरेको छ। अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भनेपछि नयाँ भवन निर्माण सुरु गरिएको हो।

गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा नौ कोठे विद्यालय भवन निर्माण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। ‘चेपाङ बाहुल्य विकट वस्तीमा विद्यालयको पहिलो पक्की भवन निर्माण सुरु गरेका छौं,’ अध्यक्ष गुरुङले भने ‘विद्यालयमा पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र कक्षा १० सम्मको स्विकृति प्रदानको लागि प्रक्रिया अगाडि बढाइएको छ।’

उनले यो विद्यालयलाई भविष्यमा आवासीय सुविधासहित बनाउने योजनाका साथ सपना भिलेजसँगको सहकार्यमा भवन निर्माणको काम अघि बढाइएको बताए। भवन निर्माणसंगै जीर्ण भवनमा त्रासमा पढ्दै आएका विद्यार्थीको सो बाध्यता हट्ने  उनले बताए।

‘कक्षाकोठा राम्रो नभएसम्म सिकाइका क्रियाकलाप राम्रा हुँदैनन्,’ उनले भने, ‘बहुवर्षीय योजनामा राखेर विद्यालय निर्माणको काम सुरु गरेका छौं।’ उनले भवन निर्माणको काम समयमै सम्पन्न गरिने भन्दै अन्य जीर्ण भवनको पनि मर्मतको काम गरिने जानकारी दिए।

 पहिलो तलाको चार कोठा आर्थिक वर्ष २०८१/८२ भित्र निर्माण सम्पन्न गर्ने योजना छ। भवनको दास्रो तलामा चार र तेस्रो तलमा ट्रष्ट हालेर थप एउटा कोठा बनाउने बहुवर्षीय योजनासहित काम सुरु गरिएको उनले बताए। उनले यो विद्यालयमा शिक्षक दरबन्दी र अन्य सेवा सुविधालाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको बताए।

गाउँपालिकाको ४० लाख र सपना भिलेजको ४० लाख गरी ८० लाखको लगानीमा भवन निर्माणको काम सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।

कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयमा तीन सय एक विद्यार्थी अध्यानरत छन्। विद्यालयका प्रधानाध्यापक दीपबहादुर गुरुङले विद्यालयको मुख्य भवन भत्काएपछि एउटा कक्षा कोठामा दुईवटा कक्षा सञ्चालन गरिरहेको बताए। यहाँ कालिका नगरपालिका वडा नम्वर १० बाट समेत चेपाङ बालबालिका अध्ययनका लागि आउने गर्दछन्।

‘बालबालिकालाई डेढ÷दुई घण्टा हिडेर विद्यालय आउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘यहाँ आवासीय विद्यालय बनाउन आवश्यक छ।’ यहाँ विद्यालय टाढा भएकै कारण कतिपय बालबालिकाले पाँच कक्षा पढेर पढाइ छाड्ने गरेका छन्। कक्षा ८ उर्तीर्ण भएपछि यहाँका ७५ प्रतिशत विद्यार्थीले पढाइ छाड्छन्। यहाँका विद्यार्थीलाई शक्तिखोर जान पाँच घण्टा र हात्तीवाङ तीन घण्टा लाग्छ।

चेपाङ वस्तीमा नमुना स्कुल बनाउने योजना रहेको घरदेखि विद्यालयको दुरी निकै टाडा रहेका कारण पढाइ छोड्नुपर्ने अवस्था अन्त्य गरिने उनको भनाइ छ। सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले विद्यायलमा छ कक्षा माथिका बालबालिकालाई आवासीय सुविधा दिने योजनाका साथ भवन निर्माणको काम सुरु गरिएको जानकारी दिए।

प्रकाशित: १० वैशाख २०८१ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App