१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

बन्ने भो नमुना मावि गुरुङचौरीको अत्याधुनिक भवन

बेलका नगरपालिका ४ स्थित जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीको नयाँ भवन शिलान्यास गर्दै। तस्बिर : महेश्वर

बेलका नगरपालिका ४ स्थित जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीको नयाँ भवन निर्माण हुने भएको छ। शैक्षिक वर्ष ०७७ देखि नमुना विद्यालय घोषणा भएसँगै स्कुलले अत्याधुनिक भवनलगायत भौतिक संरचना थप्ने क्रम जारी राखेको छ।

यसैबीच चालु वर्षको ‘नमुना विद्यालय कार्यक्रम’ अन्तर्गत बहुकोठे अत्याधुनिक र सुविधासम्पन्न नयाँ भवन निर्माण कार्य सुरु भएको छ। बेलका नगरपालिका ४ गुरुङचौरीमा रहेको सो विद्यालयले चार वर्षयता साधारणसँगै प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको पठनपाठन गराउँदै आएको छ।

यसअघि गत शैक्षिक वर्ष १२ कोठे तीनतले अत्याधुनिक भवन निर्माण गरिसकेको छ। सो भवन पनि नमुना विद्यालय कार्यक्रमअन्तर्गत नै निर्माण भएको हो। विद्यार्थीको चाप बढेसँगै अपुग संरचना थप्न विद्यालयले चालु वर्ष थप नयाँ भवन बनाउन लागेको प्रधानाध्यापक सम्मर राईले बताए।

नयाँ बन्ने भवनको बुधबार एक कार्यक्रमबीच शिलान्यास गरिएको थियो। बेलका नगर प्रमुख अशोक कार्की, वडाध्यक्ष तीर्थराज अधिकारी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङले संयुृक्त रुपमा भवनको शिलान्यास गरे। नयाँ भवन चालु वर्ष प्राप्त नमुना विद्यालय अनुदान एक करोड बजेटबाट निर्माण हुन लागेको उनले बताए।

प्रअ राईका अनुसार ३ तले १२ कोठे भवन विद्यालयपरिसरको दक्षिणतर्फ बनाउन थालिएको छ। बहुवर्षीय क्रमागत योजनाअन्तर्गत बन्ने सो भवनका लागि चालु वर्ष एक करोड पाँच लाख रुपैयाँको प्राविधिक लागत इस्टिमेट बनेकोमा निर्माण व्यवसायीबीच प्रतिस्पर्धा गराउँदा ६२ लाख ३६ हजार २ सय ५ रुपैयाँमा ठेक्का लागेको प्रअ राईले बताएका छन्। भवन निर्माणको जिम्मा बज्रमनु निर्माण सेवा बौद्ध काठमाडौँले पाएको छ।

आगामी असार मसान्तभित्र पहिलो तला बनाइसक्ने सम्झौता भएको भवनको काम शिलान्यास भएसँगै सुरु भइसकेको प्रअ राईले बताएका छन्। उनका अनुसार आगामी वर्ष प्राप्त हुने बजेटबाट दोस्रो र तेस्रो तलाको काम सम्पन्न गर्ने कार्ययोजना रहेको छ।

नगरपालिकाकै अगुवा शिक्षण संस्थाको परिचय बनाइसकेको मावि गुरुङचौरीमा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ तथा साधारणतर्फ विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा पठनपाठन भइरहेको छ। सदरमुकामभन्दा बाहिरको विद्यालयमै विज्ञान, व्यवस्थापन र इन्जिनियरिङ अध्ययन गर्न पाउने भएपछि स्थानीय बालबालिकाको आकर्षण थपिँदा बर्सेनि विद्यार्थीको चाप बढ्दै गएको छ।

चाप बढ्दै गएपछि विद्यालयले टाढाटाढाका बालबालिकालाई पनि पढ्न आउन सहिलो गराउन दुईवटा स्कुल बससमेत सञ्चालनमा ल्याएको छ। बस सेवाको सुविधा भएपछि नगरका पहाडी भूभागदेखि टाढाटाढाका वडावासी बालबालिकालाई विद्यालय आउनजान सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले बताए।

कक्षा शिशुदेखि १२ सम्मको अध्यापन गराउँदै आएको विद्यालयमा हाल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन र शिक्षा सबै गरी एक हजार आठ सय बढी विद्यार्थी पठनपाठन गर्दै आएको अध्यक्ष तामाङले बताए।

प्रकाशित: ८ चैत्र २०८० १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App