१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषण गर्न संस्कृत सम्मेलन हुँदै

भाषाको मूल जगनै संस्कृत हो। तर पनि पछिल्लो समय संस्कृतलाई परम्परागत पुराना विषयको रुपमा बुझ्ने गलत बुझाइका कारण यस विषय प्रति रुचि घट्दै गएको यथार्थलाई मनन गर्दै संस्कृत विज्ञहरूले संस्कृत विषय तथा भाषाको प्रवर्द्धन गर्न नेपाल –भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनको आयोजना गर्ने तय गरेको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरि आयोजक संस्थाहरू नीति अनुसन्धान प्रतिष्ठान नेपाल, केन्द्रीय संस्कृत विश्वविद्यालय नयाँ दिल्ली र इन्डिया फाउन्डेशन नयाँ दिल्लीले संयुक्त सम्मेलनबारे जानकारी गराएका हुन्।

काठमाडौंको बुढानिलकन्ठमा आयोजना गरिने उक्त सम्मेलन चैत्र १४ देखि चैत्र १६ गतेसम्म चल्ने छ। तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका गरि कुल ४० संस्कृतका प्राध्यापक, विश्वविद्यालयका उपकुलपतिहरु तथा विज्ञहरुको सहभागिता रहने सम्मेलनका संयोजक तथा संस्कृत विश्वविद्यालयका सह प्राध्यापक डा. प्रेम न्यौपानेले जानकारी दिए।

‘प्राचीन संस्कृतका ग्रन्थहरूको ज्ञानलाई वर्तमानमा पनि प्रयोग गर्ने परिपाटीलाई विकसित हुँदै आएको सन्दर्भमा विश्वभरिको संस्कृतको नेतृत्व संसाधन एवं जनशक्तिका दृष्टिले नेपाल र भारतले मात्र गर्न सक्छन् र गर्नुपर्छ भन्ने अपेक्षा विश्वलेनै गरेको छ,’ संयोजक न्यौपानेले भने ,‘यस सम्मेलनले नेपालको संस्कृतको गतिविधिलाई भारतमा एवं भारतमा भइरहेको संस्कृतको कार्यबारे पनि नेपालमा परस्पर बोध गराउने छ।’ 

उनका अनुसार नेपाल र भारतको विकासमा संस्कृतको योगदानमा दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्धिक विकासको विशिष्ट अध्ययन गर्नु मुख्य उद्देश्य हो। 

नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक केशवराज पन्थीले विश्वका विभिन्न भाषाहरूमा संस्कृतका प्रभावका बारेमा छलफल गर्दै त्यसको सान्दर्भिकताका विषयमा चिन्तन गर्नु लगायतका संस्कृतका समकालिन चासोको विषयमा मन्थन गरिने जनाए।

‘विश्वभरि संस्कृतको विस्तार गर्न नेपाल र भारतका विद्धान्हरुको योगदानबारे परिचर्चा गरिने छ,’ उनले भने ‘तीन दिन चल्ने आवासीय सम्मेलनमा नेपाल र भारतका संस्कृतसँग सम्बन्धित विषय बस्तुहरुमा माथि नवीन चिन्तन प्रणालीलाई संस्कृतले कसरी धारण गर्नु पर्छ भन्ने विषयमा समेत मन्थन हुन्छ।’

पत्रकार सम्मेलनमा सहभागीहरूले हाल नेपालका विद्यालय तथा विश्वविद्यालयहरूमा समेत संस्कृत विषयको पठनपाठन गराउन नीतिगत निर्णय गर्न सरकारलाई दबाब दिनु पर्ने जोड दिएका थिए।

प्रकाशित: ७ चैत्र २०८० १९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App