२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

लोकसेवा परीक्षामा ‘खेताला’

लोकसेवा आयोगले लिने केही परीक्षामा उम्मेदवारले ‘खेताला’ लगाउने गरेको पाइएको छ। एक वर्षमा चारदेखि पाँच जना ‘खेताला’ परीक्षार्थी भेटिने गरेको आयोगले जनाएको छ।

आयोगले शुक्रबार मात्र सूचना निकालेर मातहतको कार्यालय महेन्द्रनगरबाट लिइएको परीक्षामा खेताला प्रयोग भएको पाइएको भन्दै उम्मेदवार रमेश विकको परीक्षा रद्द गरेको छ। आयोगले यही फागुन ९ गते लिएको श्रेणीविहीन वन स्काउट पदको परीक्षामा वास्तविक उम्मेदवार विकले रूख चढ्ने काममा आफू नगई अर्कैलाई सहभागी गराएको पाइएको थियो। उक्त परीक्षा रद्द गरिएको आयोगको भनाइ छ। विकले अब उक्त परीक्षा फेरि दिने पाउने छैनन्।

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईका अनुसार एक वर्षमा चार–पाँचजनाले लोकसेवाले लिने विभिन्न परीक्षामा आफू सामेल नभई अर्कैलाई सहभागी गराउने गरेको पाइएको छ।

‘केही नक्कली परीक्षार्थी परीक्षा हलभित्र जाँचका क्रममा समातिन्छन्। केही गोप्य सूचनाका आधारमा पत्ता लाग्छन्,’ उनले भनिन्, ‘यहाँसम्म कि अन्तर्वार्तामा समेत केही व्यक्तिले आफू सहभागी नभई अर्कैलाई पठाउने गरेको पाइएको छ।’

उनका अनुसार खासगरी सुरक्षा निकायको परीक्षामा नक्कली परीक्षार्थी भेटिन्छन्। ‘प्रशासन र प्राविधिक सेवामा पनि यदाकदा नक्कली परीक्षार्थी भेटिएका छन्,’ उनले भनिन्।

नक्कली परीक्षार्थी भएको थाहा पाएपछि आयोगले परीक्षा लिने–दिने दुवैलाई भविष्यमा परीक्षा दिनबाट रोक लगाउने गरेको छ। परीक्षामा सहभागी व्यक्ति खेताला भएको पत्ता लागे आयोगले लोकसेवा आयोग ऐन २०७९ को दफा ४१, २ (घ) बमोजिम कारबाही गर्ने गरेको छ।

‘पहिले हामीले परीक्षा मात्र रोक लगाउने गरेका थियौं। अहिले कानुनमा संशोधन गरी अनैतिक काम गरेको आरोपमा जेल सजायसम्म हुने गरेको छ,’ उनले भनिन्।

गीताकुमारी होमेगाई प्रवक्ता, लोकसेवा आयोग

केही नक्कली परीक्षार्थी परीक्षा हलभित्र जाँचका क्रममा समातिन्छन्। केही गोप्य सूचनाका आधारमा पत्ता लाग्छन्। यहाँसम्म कि अन्तर्वार्तामा समेत केही व्यक्तिले आफू सहभागी नभई अर्कैलाई पठाउने गरेको पाइएको छ।

गीताकुमारी होमेगाई प्रवक्ता, लोकसेवा आयोग

 

उनका अनुसार नक्कली परीक्षार्थी भएको थाहा पाउनेबित्तिकै प्रहरीलाई जानकारी गराउने गरिएको छ।

आयोगले निकालेको तथ्यांकअनुसार सरकारी सेवाप्रति युवामा आकर्षण बढ्दै गएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा परेको कुल दरखास्त संख्याभन्दा आव २०७९/८० मा परेका दरखास्तको संख्या ३२.२३ प्रतिशतले बढी भएको पाइएको छ।

 आव २०७८/७९ मा ३ लाख ६५ हजार ४३४ जनाबाट दरखास्त परेको थियो। आयोगका अनुसार पछिल्ला १० वर्षमा आयोगमा सबैभन्दा कम दरखास्त आव २०७५÷७६ मा परेको थियो।

त्यस वर्ष १ लाख ४३ हजार ७५३ जनाबाट मात्र दरखास्त परेको थियो। यसैगरी सबैभन्दा बढी दरखास्त आव २०७३/७४ मा परेको थियो। त्यस वर्ष ८ लाख ४४ हजार २९७ जनाले दरखास्त दिएका थिए। आव २०७९/८० मा ५०३ वटा बढुवा सूचना, १४७ वटा आन्तरिक प्रतियोगितात्मक परीक्षा, २९९ वटा खुला प्रतियोगितात्मक परीक्षा र ६६७ वटा विभिन्न समावेशी गरी १ हजार ६१६ वटा विज्ञापन तथा बढुवा सूचना प्रकाशन गरिएका थिए।

आयोगको तथ्यांकअनुसार लोकसेवा परीक्षामा सहभागी हुन किसानका सन्ततिहरू बढी देखिएका छन्। आव २०७९/८० मा दिइएका कुल दरखास्तमध्ये ७९ दशमलव ६४ प्रतिशत दरखास्त कृषि पेसा अँगालेका बाबुआमाका सन्ततिले दिएको आयोगको रिपोर्टमा जनाइएको छ।

कुल दरखास्तमध्ये १० दशमलव ६४ प्रतिशत व्यक्तिका आमाबाबुले मात्र कृषिबाहेकका व्यवसाय गर्ने गरेको रिपोर्टमा जनाइएको छ। रिपोर्टअनुसार उक्त आवमा १ दशमलव ८५ प्रतिशत श्रमिकका छोराछोरीले आयोगको परीक्षाका लागि दरखास्त दिएका छन्।

प्रकाशित: १९ फाल्गुन २०८० ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App