२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

चितवनको इच्छाकामना गाउँपालिका २ को वल्र्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन्।

यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्रावासमा बस्छन्। गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्रावासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ।

शतप्रतिशत चेपाङ बालबालिकाले आवासीय सुविधा लिइरहेको यो छात्रावासमा कक्षा ७ सम्म अध्ययन गर्ने २३ बालबालिका छन्। छात्रावास सञ्चालनपछि बालबालिका विद्यालयमा नियमित भएको र पढाइमा पनि सुधार आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताए।

‘बाबुआमा नभएका टुहुरा र विपन्न बालबालिकालाई छात्रावासमा राखेर अध्ययन गराइरहेका छौँ’, उनले भने, ‘नजिकै रहेको विद्यालयमा उनीहरुले राम्रोसँग पढ्न पाएका छन्।’ हाल अध्ययन गरिरहेको विद्यालयबाट आधारभूत तह पार गरिसकेपछि माध्यमिक तहमा पढ्न कहाँ जाने भन्ने अन्योल रहेको उनले बताए।

राष्ट्रिय आधारभूत विद्यालय बल्र्याङले आगामी शैक्षिक सत्रमा कक्षा ८ खुलाउने तयारी गरिरहेको छ। ‘अहिलेसम्म गाउँपालिकाले संरक्षण गरिरहेको छ, व्यवस्थापनको पाटो हामीले नै हेरिरहेका छौँ‘, प्रजाले भने, ‘यी नानीबाबुलाई अबको एक वर्ष चिन्ता भएन, त्यसपछि कहाँ लैजाने भन्नेमा अन्योल छ।’

विद्यालयका प्राचार्य कमला भण्डारीले छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थी पढाइमा पनि अब्बल बन्दै गइरहेको बताए। उनले यहाँ बसेका बालबालिकाले अनुशासित र सरसफाइमा समेत ध्यान दिने गरेको बताए। छात्रावासमा बसेर अध्ययन गरिरहेका बालबालिका पनि आवासीय सुविधासहित अध्ययन गर्न पाउँदा खुसी छन्।

कक्षा ६ मा अध्ययनरत गीता चेपाङ छात्रावासमा बस्ने मौका पाएकै कारण आफूले पढ्न पाएको बताउँछिन्। ‘बाबा बित्नुभयो, आमाले दोस्रो विवाह गर्नुभयो, ठूला बा र आमासँग बसिरहेकी थिएँ, उहाँहरुले मलाई पढाउन सक्ने सम्भावना थिएन’, उनले भनिन्, ‘कक्षा ८ सम्म यहीँ पढ्ने हो, त्यसपछि सर–म्याडमले जहाँ पठाउनुहुन्छ त्यहीँ गएर पढ्ने हो।’

आमा र बुबा दुवैले दोस्रो विवाह गरेपछि अभिभावकविहीन जस्तै बनेकी सुनिता चेपाङ पनि मामाघरमा थिइन्। कक्षा ६ मा पढ्ने उनका भाइहरु पनि यही छात्रावासमा पढिरहेका छन्। आफ्नो जन्मदिने बाआमाबाट टाढा रहनुपरे पनि उनीहरुले आधारभूत शिक्षाका लागि अभिभावक पाएका छन्। छात्रावासमै घरपरिवारजस्तो वातावरण भएको र ढुक्क भएर पढ्न पाएको उनीहरुले बताए।

इच्छाकामना गाउँपालिकाले भौगोलिक विकटतालाई हेरेर विगत चार वर्षदेखि छात्रावास सञ्चालनमा ल्याएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजाका अनुसार सुरुको वर्ष गाउँलेबाटै नुन, तेल, चामल र तरकारी संकलन गरेर छात्रावासको सुरुआत गरिएको हो। अहिले गाउँपालिकाले वार्षिक पाँच लाख बजेट छुट्याँदए आएको छ। –रासस

प्रकाशित: १९ माघ २०८० १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App