७ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

पैयुँपाटाका विद्यार्थी: पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

बागलुङ नगरपालिका १३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्। कक्षा २ देखि १० सम्मका छात्र-छात्रा अध्ययनका अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन्।
विद्यालयले हालै आफ्नो ७४औं वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए। विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरिराखेका छन् भने बिदाको समय सिकाउँदै आएका छन्।

कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउनुहुन्छ। कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउँछन् भने कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गरेका छन्।

कक्षा ३ मा अध्ययनरत आयन परियार र कक्षा ४ मा अध्ययनरत विहान परियार(ख) ले दमाहा बजाउने गरेका छन्। उनीहरू सबैले घरमा राखेका बेलामा बजाउँदा सिकेको शिक्षक थमबहादुर जानकारी दिए। पछिल्लो सयम गाउँमा बाजा बजाउनेको संख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उनको भनाइ छ।

‘पहिले गाउँमा बाजा बजाउने टोली धेरै थिए, अहिले युवा बजाउन लाज मान्छन्, बूढापाकाले नसक्ने भएपछि बाजा बजाउने चलन हराउँछ कि भन्ने डर थियो, अहिले हाम्रा नानीबाबुले धेरै रुचि राखेर बजाउन थालेका छन्’, शिक्षक थमबहादुरले भने, ‘मैले पनि राम्रोसँग सिक्नुपर्छ भनेर सिकाउने प्रयास गरेको छु, एक टोली १० जनाको हुन्छ, विद्यालयले बाजा बजाउने एक टोली उत्पादन गर्ने देखिएको छ । नयाँ पुस्ताले नसिके बाजा बजाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ।’

बाजा बजाउने परम्परागत चलन भएको हुँदा आफूहरूले सिकेको रेश्नु परियारले बताए। सानैदेखि वरपरका साथीसँग मिलेर बजाएको सुनाउँदै अहिले घरमा राखेका बाजा लिएर विद्यालय कार्यक्रममा बजाउने गरेको उनको भनाइ छ। सीप र ताल मिले जसले पनि बाजा बजाउन हुने उनले बताए। अहिले साना भाइबहिनीले पनि धेरै रुचि राखेको उनको भनाइ छ।

उनले भने, ‘बाजा बजाउन गाह्रो छैन, सजिलो छ, गाउँघरमा बाजा बजाउने हुँदा हामीले पनि त्यही देखेर सिकेको हो, पहिले धेरै बाजा बजाउने मान्छे हुन्थे, अहिले निक कम भएको छ, अहिले हामी स्कुलमा पढ्ने साथीसँग मिलेर बजाउने गरेका छौं, सरहरूले पनि हौसला दिएका छन्, उनीहरुको साथले प्रेरणा मिलेको छ, साना भाइहरू पनि बजाउन सिक्दैछन्, दाइदिदीबाट पनि अझै राम्रो बजाउन सिकिरहेका छौं।’

विद्यालयमा बाजा बजाउने अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी छन्। प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा संकलन अभियान सुरु गरेको जानकारी दिए।

अहिले विद्यालयमा एउटा पनि बाजा नहुँदा सिकाउन नसकेको उनको भनाइ छ। विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको जनाउँदै उनीहरूलाई सक्षम बनाउनतर्फ लागेको प्रधानाध्यापक आचार्यले बताए।  

‘बाजाको अभाव छ, बाजा हुने हो भने विद्यालयमा सिकाउन सकिन्थ्यो, अहिले घरमा आफ्ना बाबुबाजेले बजाएको देखेर बजाउँदै आएका छन्, बाजा सङ्कलन कोष स्थापना गर्न  आर्थिक सङ्कलन अभियान चलाएका छौं’, प्रधानाध्यापक आचार्यले भने, ‘बाजा बजाउने उनीहरूको प्रतिभा हो, यसलाई प्रोत्साहन गरिरहेका छौं, सैद्धान्तिकसँगै व्यावहारिक शिक्षा दिनुपर्छ भन्ने मान्यताले बाजा बजाउनतर्फ प्रेरित गरिरहेका छौं, बाजा बजाउन सिके विद्यार्थीले भविष्यमा यसैबाट जीविकोपार्जन गर्न सक्छन्।’

अहिले बाजाको माग निकै बढिरहे पनि बजाउने मान्छेको अभाव खट्किँदै गएको छ। बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छन्, तर पछिल्लो समय बाजा बजाउने दक्ष युवाशक्तिले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।

मेला, महोत्सव, विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अचेल कमै मात्रामा बज्ने गर्छन्। बाजाका सट्टा ठूला–ठूला साउन्ड सिस्टममा ‘रेकर्डेड’ गीत बजाइने गरिएको छ। कहीँ बाजा बजाउने जनशक्ति छैनन्, कहीँ भएर पनि बजाउन चासो दिँदैनन्। यसकारण मौलिक पञ्चेबाजा संरक्षणमा चुनौती बढेको छ। –रासस

प्रकाशित: ३ माघ २०८० ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App