२४ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

‘गोल्ड मेडलिस्ट’को अबको यात्रा अमेरिका कि अस्ट्रेलिया !

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ख्वप कलेजबाट अंग्रेजी साहित्यमा एमए गर्दा ३.९१ सिजिपिए प्राप्त गरी सर्वोकृष्ट भई पलिस्था रञ्जितकारले ‘नरेन्द्रमणि आचार्य दीक्षित पदक’ र ‘डा. मोहनप्रसाद लाखे स्वर्ण पदक’ प्राप्त गरेकी छिन्। रातदिन गरेको मिहिनेतको फलस्वरूप विश्वविद्यालयबाट सम्मानस्वरूप उनले दुईवटा पदक पाएकी हुन्।

त्रिविको ४९औं दीक्षान्त समारोहमा आफ्नो नाम लेखेको कुर्सीमा बसेर पदक पाएकोमा खुसी देखिएकी उनले थप शिक्षा र अवसर प्राप्तिका लागि अमेरिका प्रस्थान गर्ने सोच बनाइरहेको बताइन्। ‘अवार्ड मात्र पाएर भएन नि, जब मार्केटमा अवसर नै छैन भने के गर्नु,’ पलिस्थाले भनिन्, ‘दुईवटा पदकले मलाई निकै प्रोत्साहन गरेको छ। अब मेरो लक्ष्य विद्यावारिधि गर्ने हो। तर नेपालमा पैसा खर्चेर विद्यावारिधि गर्न चुनौती छ,’ उनले यथार्थता सुनाइन्, ‘विदेशमा फन्ड दिएर विद्यावारिधि गराइन्छ। पढाइअनुसार काम र दाम पनि पाइन्छ। अवसर पाए त स्वदेशमै बस्ने र पढ्ने इच्छा हो नि तर नेपालमा विद्यार्थी प्रोत्साहनको कुनै वातावरणै छैन।’

सोही समारोहमा त्रिविको रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरबाट ३.९५ सिजिपिए ल्याएर एमएस्सी रसायन शास्त्रमा सर्वोकृष्ट भई ‘अमृत पदक’ प्राप्त गरेका हिक्मत खनाल पनि थप शिक्षा हासिल गर्न बिदेसिने सुरमै छन्। २६ वर्षीय खनालले स्नातकोत्तर गरे पनि हाल पढाइअनुसारको काम र तलब पाएका छैनन्। 

‘म पार्टटाइम टिचिङ गर्छु तर तलब खासै राम्रो छैन,’ दैलेखका हिक्मतले भने, ‘मैले व्यक्तिगत रूपमा मिहिनेत गरेर पदक पाएँ, खुसी छु। तर अबको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्ता छ।’ उनले नेपालका विश्वविद्यालयले शैक्षिक गुणस्तर कायम गर्न र स्तर उकास्न अत्यावश्यक रहेको बताए। ‘विद्यावारिधि गर्न म अमेरिका जाने तयारीमा जुटेको छु। त्यहाँ अवसर पनि राम्रो छ। हेरौं के हुन्छ,’ उनले भने।

जैविक प्रविधि विषयमा ३.८९ सिजिपिए प्राप्त गरी एमएस्सीमा सर्वोत्कृष्ट भई ‘डा. रेखा र लक्षमैयाँ श्रीरामा स्वर्ण पदक’ प्राप्त गरेका विनोद खड्का एकातिर सफलतामा उत्साहित छन् भने अर्कातिर स्वदेशमा अवसर नपाउँदा दुःखीसमेत छन्। ‘साथीभाइ र आफन्तको बधाई पाउँदा उत्साह मिल्यो तर स्वदेशमा अवसर नपाउँदा दुःख लाग्छ,’ विनोदले भने, ‘म पनि विद्यावारिधि गर्न अमेरिका या अस्ट्रेलिया जाने प्रयासमा छु।’ उनका अनुसार गोल्ड मेडल पाएका प्रायः साथी बिदेसिने सोचमा रहेका छन्। बरु अध्ययनपछि नेपाल फर्किने सोच कतिपयमा छ।

सोमबारको दीक्षान्त समारोहमा तीन पदक पाएका कपिल पोखरेलले पनि विदेशमा अध्ययन गर्न जाने सोच बनाएको सुनाए। अर्थशास्त्र केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट ३.७८ सिजिपिएसहित एमए अर्थशास्त्रमा सर्वोत्कृष्ट भई ‘तारापद चौधरी पदक’, ‘खगेन्द्रमानसिंह प्रधान’ पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार गरी तीन वटा पदक पाएका पोखरेलसमेत विद्यावारिधि गर्न फन्डको खोजीमा छन्। 

‘विद्यावारिधि गर्न फन्ड व्यवस्था गरेर विदेश जाने सोचमा छु,’ कपिलले नागरिकसँगको भेटमा भने, ‘अध्ययनपछि फर्केर स्वदेशमै आफ्नो योग्यता र क्षमता प्रयोग गर्ने मेरो लक्ष्य हो। अब राज्यले पनि अवसरको व्यवस्था गरिदिनुपर्छ।’ झापाका पोखरेलले त्रिविले शैक्षिक गुणस्तर वृद्धि गरी उत्कृष्ट विश्वविद्यालय कायम गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए।

त्रिविको ४९औं दीक्षान्त समारोहमा सहभागिता जनाएका धेरै विद्यार्थी र अभिभावको चिन्ता ‘दीक्षित भएकाहरूले अब के गर्ने होला ?’ भन्ने थियो। हातमा मेडल बोकेका विद्यार्थीहरूसँग बुझ्दा प्रायजसो विदेश जाने तयारीमै देखिन्थे। स्वदेशमा अध्ययनको समेत सकारात्मक वातावरण नभएको भन्दै उनीहरूले अवसरको खोजीमा विद्यार्थी बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्न सरकारसँग माग गरे।

त्रिविका निमित्त उपकुलपति एवं शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले उपलब्ध गराएको तथ्यांकअनुसार त्रिविका पाँच अध्ययन संस्थान, चार संकाय र ती मातहतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूका कुल ७३ हजार ७४९ विद्यार्थी दीक्षित हुन योग्य छन्। ‘तर समारोह स्थलमै सहभागिता जनाएर दीक्षित हुन आउने विद्यार्थीको संख्या १२ हजार ४१५ मात्र रह्यो,’ उपकुलपति भुसालले भने, ‘विद्यार्थी, शिक्षक, कर्मचारी तथा पदाधिकारीहरूसमेत गरी २६ हजार १६ को उपस्थितिमा समारोह सम्पन्न भयो। हामीले आजै धेरै विद्यार्थी दीक्षान्तमा सहभागी गराएर विश्व कीर्तिमान कायम गरेका छौं। तर हाम्रो सामु यतिबेला चुनौतीको चाङसँगै धेरै अवसर पनि छन्। चुनौती सम्बोधन गर्दै अवसरलाई मूर्त रूप दिन हामी सुधारका लागि प्रयत्नशील छौं।’

यसैबीच दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दीक्षित हुने विद्यार्थीहरूले देशबाट के पाए भन्नुभन्दा पनि देशलाई के दिइयो भन्ने सोचबाट आफूले प्राप्त गरेको ज्ञान र सीपको सदुपयोग गर्न आग्रह गरे। ‘आजको प्रतिस्पर्धी पर्यावरणमा तपाईंहरूले बेहोर्नुपरेको चुनौतीप्रति राष्ट्र अनभिज्ञ छैन। एकातिर पढाइमा अब्बल बन्नुपर्ने दबाब अभिभावक र समाजबाट हुन्छ भने अर्कातर्फ आकर्षण रोजगारी पाइन्छ कि पाइन्न भन्ने चिन्ता पनि रहिरहन्छ,’ उनले आग्रह गरे, ‘यस प्रकारको अवस्थाले तपाईंहरूमा मानसिक तनाव पर्ने गर्छ। यस्तो अवस्थाको अन्त्य आवश्यक छ।’

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुन नहुने बताएका छन्। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राजनीतिक स्वार्थले विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक गुणस्तर खस्कँदै गएको महसुस भइरहेको उनले स्पष्ट पारे।

उनले विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा कमजोर हुँदै गएको बताए। ‘एकातर्फ हामी विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुनुहँुदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायका रूपमा हुनुपर्छ भनिरहेका छौं, अर्कातर्फ हामी आफैं राजनीतिक भागबन्डा र दाउपेचका निम्ति दौडिरहेका छौं,’ उनले भने। उनले यस्ता चुनौती र प्रश्नहरूबारे गम्भीरतापूर्वक छलफल गरी निर्णय लिने बेला आएको बताए।

उनले व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुने शिक्षा प्राप्त गर्ने अवसर सबैलाई हुनुपर्ने जिकिर गरे। ‘अब हामीले पनि आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ र निःशुल्क बनाउनुपर्छ,’ कुलपति दाहालले भने, ‘शिक्षा समतामूलक र सबै वर्ग, समुदायका निम्ति उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता हो।’ 

त्रिविले आफनो दीक्षान्त समारोहमा भौतिक उपस्थितमै धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान कायम गरेको छ। काठमाडौंको दशरथ रंगशालामा आयोजित ४९औं दीक्षान्त समारोहमा सबैभन्दा धेरै संख्यामा विद्यार्थी तथा अभिभावकको उपस्थित रहेको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (डब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई प्रमाणपत्र प्रदान गरेको हो।  

प्रकाशित: ३ पुस २०८० ००:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App