२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

सूर्योदयका छोरी–बुहारीलाई छात्रवृत्तिपछि सय दिनको रोजगारी

इलामको सूर्योदय नगरपालिका।तस्बिर: भीम/नागरिक <br>

सूर्योदय नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने भएको छ। नगरले विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा रोजगारी दिने तयारी गरेको हो।

सूर्योदय नगरमा बिहे भएर आएका बुहारी र यहाँका छोरीहरूलाई नगरले करफोक क्याम्पसमा स्नातक तहको पढाइमा शतप्रतिशत छात्रवृत्ति दिएको छ। बिहे भएर घर आएपछि बुहारीलाई पढाउनुपर्छ भन्ने सोच सबैमा विकास गर्न नगरले चार वर्षयता छोरी–बुहारीलाई छात्रवृत्तिको कार्यक्रम कार्यान्वयन गरेको हो।

मेयर रणबहादुर राईले छात्रवृत्तिमा स्नातक उत्तीर्ण महिलालाई प्रोत्साहन गर्न छोटो समयको भए पनि रोजगारी दिन लागिएको बताए। ‘बुहारीलाई पनि बढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरले यो कार्यक्रम ल्याएको हो,’ मेयर राईले भने, ‘छात्रवृत्तिमा अध्ययन गरेका छोरी–बुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरी–बुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको छ।’  

मेयर राईले रोजगारीको अवसर छोटो समयका लागि भए पनि उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सहयोग गर्न सहयोगी बन्ने बताए। ‘स्नातक गरेका छोरी–बुहारीलाई रोजगारीको कार्यक्रमले थप सिकाइ हुनेछ,’ उनले भने, ‘उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग लिन पाउने छ।’

नगरको छात्रवृत्ति पाएका महिलाले करफोकमा विभिन्न सङ्काय र विषय अध्ययन गरिरहेका छन्। उनीहरूलाई क्षमताअनुसार नगर तथा अन्तर्गतका कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतमा रोजगारी दिइने छ।

नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटर लगायत विद्यार्थीको जुन क्षेत्रमा योग्यता छ, त्यसैको रोजगारी दिइने बताए। ‘कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन हुनेछ,’ उनले भने, ‘यसको कार्यविधि बन्न बाँकी छ तर इच्छुक विद्यार्थीका लागि आवेदन माग गरी सूचना जारी गरिसकिएको छ।’

नगरको छात्रवृत्ति कार्यक्रममा अहिलेसम्म एक सय ५३ छोरी–बुहारीले स्नातक अध्ययन गरेका छन्। तीमध्ये २३ जनाले उत्तीर्ण गरेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले बताए। अबको वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरी–बुहारीको संख्या दुई सय पुग्दै छ।  

कट्टेलले नगरको छात्रवृत्ति कार्यक्रमले दूर दराजका छोरी–बुहारीले क्याम्पस पढ्न पाएको बताए। ‘दूर दराजमा बसोबास गर्ने छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ,’ उनले भने, ‘छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि हुने भएपछि छात्राहरूलाई थप प्रोत्साहन मिलेको छ।’ 

करफोकमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबिए, बिबिएच, बिएड र बिए अध्ययन गरिरहेका छन्।

 

 

 

प्रकाशित: १ पुस २०८० ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App