१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

दिवाखाजाले छुटाउँदैछ ‘जंकफुड’ को कुलत

काठमाडौंको कालिमाटीकी पविता श्रेष्ठ आफ्ना नानीबाबु ‘जंकफुड’को लतमा पर्दा निकै चिन्तित थिइन्। छोराछोरीमा जंकफुडको बानी कसरी छुटाउने होला भनेर उनी अत्तालिएकी थिइन्। स्कुल जानेबेला छोराछोरी चाउचाउ, चिप्स, चकलेट, बिस्कुट लान ढिपी गर्थे। छोरा आयुषलाई चिप्स नभई हुन्नथ्यो भने छोरी आयुष्मा पनि चाउचाउ नकिनिदिएसम्म स्कुलै जान मान्दिनथिन्। तर अहिले आयुषा र आयुष्मामा जंकफुडको लत छुटेको छ। कालीमाटीस्थित नीलबाराही माध्यमिक विद्यालयले विद्यार्थीलाई दिवाखाजा दिन थालेपछि बिस्तारै उनीहरू ‘जंकफुड’को लतबाट बाहिर निस्किएका हुन्। आयुष सोही विद्यालयको कक्षा ४ र आयुष्मा कक्षा ३ मा पढ्छन्।

विद्यालयमा उपलब्ध स्वस्थकर र पोसिलो खाजाका कारण छोराछोरीमा जंकफुडको लत छुटेको हुँदा पवितालाई ठुलो सन्तोष मिलेको छ। ‘घरमा पकाएको खानेकुरा खानै नमान्ने मेरा बच्चाहरू अहिले स्कुलमा खाजा दिन थालेपछि साथीभाइको संगतमा रमाएर पकाएको खाना खान सिकेका छन्,’ उनले भनिन्, ‘स्कुलको दिवाखाजामा अन्डा, फलफूल, हलुवा, पुरी, तरकारी, जाउलो, समोसालगायत परिकार दिइने रहेछ। छोराछोरीले जंकफुड चटक्कै छाडेको देख्दा मनै फुरुंग भएको छ। पोसिलो र स्वस्थकर खाजा खान पाइने भएपछि खानेकुरा केही नबोकी छोराछोरी खुसी भएर स्कुल जान्छन्। त्यस्तो नभएको भए चाउचाउ, चिप्स नकिनी सुखै पाइन्नथ्यो।’ घरायसी काम गर्दै आएकी पविताले विद्यालयले उपलब्ध गराएको खाजाका कारण छोरा आयुष र छोरी आयुष्माले जंकफुड खान छाडेको सुनाइन्।

विद्यालयमा सरकार र स्थानीय तहको सहकार्यमा पछिल्लो समय दिवाखाजा उपलब्ध गराउने व्यवस्थाले कामकाजी अभिभावकलाई आफ्ना बच्चालाई स्कुलमा के खाजा पठाउने भन्ने चिन्ताबाट मुक्त बनाइदिएको छ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका अभिभावक राजेन्द्रप्रसाद कँडेलका अनुसार आमाबुवा दुवै कामकाजी हुँदा बच्चालाई खाजाका रूपमा जंकफुड पठाउनुपर्ने बाध्यता थियो। तर विद्यालयले उलब्ध गराउने खाजाकै कारण आफ्ना छोरामा जंकफुड खाने बानी छुटेको भन्दै उनले खुसी साटे। छोरा अजित कँडेल कक्षा ६ देखि विश्वनिकेतनमा पढ्न थालेका हुन्। उनी अहिले कक्षा १० मा पुगेका छन्।

‘विगतमा मैले छोरालाई खाजाका लागि पैसा दिन्थें। उसले मन लागेको बजारु खाजा किनेर खान्थ्यो। स्कुलले पोसिलो खानेकुरा पकाएर दिन थालेपछि अहिले छोरा अजित जंकफुड खानुपर्ने बाध्यताबाट बचेका छन्,’ राजेन्द्रले भने, ‘अहिले बाबुले जंकफुड रुचाउँदैन पनि। साथीसँगै बसेर खाजा खाने स्कुलको बानीले अब घरमा पनि परिवारसँगै बाने खाने बानी परेको देख्दा म हर्षित छु। दिवाखाजा कार्यक्रमले सँगै बसेर मिलीजुली खाने संस्कारसमेत सिकाएको अनुभव हुन थालेको छ।’

डिल्लीराम पौडेल पेसाले शिक्षक हुन्। कीर्तिपुरका स्थायी बासिन्दा उनले छोरी अदिती पौडेललाई विश्वनिकेतन माविमा पढाएका छन्। खाजा कार्यक्रमले विद्यार्थी उत्साहित भएर विद्यालय गएको र अभिभावकलाई समेत आर्थिक भार कम भएको आभास भएको उनी सुनाउँछन्। अदिती कक्षा ९ मा पढ्छिन्। ‘स्कुलले चालु शैक्षिक सत्रदेखि कक्षा १० सम्मका बालबालिकालाई खाजा दिन थालेपछि अभिभावकमा आर्थिक बोझ कम भएको छ,’ शिक्षक पौडेलले भने, ‘साताभरिको तालिका नै बनाएर दिइने पोसिलो खानेकुराका कारण मेरी छोरीको स्वास्थ्य पनि राम्रो भएको छ। अब प्याकेटको खानेकुरा खान उनी रुचाउँदिनन्।’ उनले सरकारले ल्याएको खाजा कार्यक्रमले बालबलिका विद्यालय जान हौसिने गरेको सुनाए। खाजा कार्यक्रमले आमाबुवाले ढुक्क भएर कामकाजमा पनि लाग्न पाएका छन्। ‘उनी आफू पनि शिक्षक भएकाले जनताकै करबाट चलेका सरकारी स्कुलमै बच्चा पढाउन रुचाएको समेत सुनाए।

सरकारले गत वर्षसम्म कक्षा ६ सम्मको बालबालिकाका लागि मात्र खाजा कार्यक्रम राख्दै आएको थियो। उक्त कार्यक्रमले गर्दा सार्वजनिक शिक्षाको गुणस्तर सुधारसँगै विद्यार्थीले कक्षा छाड्ने दर क्रमशः न्यून हुँदै गएको देखिएकाले सरकारले चालु आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था गरेको हो। ३२ लाख विद्यार्थीको खाजाका लागि सरकारले ८ अर्ब ४५ करोड रकम छुट्याएको छ। 

तर खाजाको रकम अपुग भएको भन्दै धेरै पालिकाले कार्यक्रम सञ्चाल गर्न नसकेको बताइरहेका बेला काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्र सरकारको रकममा आफ्नो बजेट थपेर कक्षा १० सम्मका बालबालिकालाई विद्यालयभित्रै निःशुल्क दिवाखाजा पकाएर दिने प्रबन्ध मिलाएको छ। यसले महानगरभित्रका ८९ सार्वजनिक विद्यालयका कुल ४५ हजार विद्यार्थी लाभान्वित भएका छन्। नानीबाबुलाई खाजाकै लागि व्यवस्थापनको चिन्तामा दिनहुँ पिल्सिनुपर्ने अभिभावकमा आर्थिक बोझ पनि कम भएको छ।

स्वस्थ दिमागले बालबलिकामा पढेको विषयवस्तु छिटो सिक्ने र लामो समयसम्म सम्झिन सक्ने क्षमता बलियो भएको नीलबाराही स्कुलकी प्रधानाध्यापक डा. जानुका नेपाल बताउँछिन्। उनको स्कुलमा हाल कक्षा १० सम्म ७५० विद्यार्थी अध्ययनरत छन्। उनका अनुसार विद्यालयमा खाजाको व्यवस्था नहुँदा अभिभावकले चाउचाउ, बिस्कुट, भुजिया, चिप्सलगायत प्याकेटका जंकफुड नै बढी पठाउने गरेका थिए। तर हाल स्कुलमा अनिवार्य कक्षा १० सम्म महानगरपालिकाले दिवाखाजाको व्यवस्था गरेपछि जंकफुडले स्कुलभित्र प्रवेश गर्न स्वतः बन्द भएको छ।

‘संघीय सरकारले प्रतिविद्यार्थी १५ रूपैयाँका दरले खाजा रकम वितरण गरेको थियो। यति रकमले विद्यालयमा खाजा पकाएर खुवाउन मुस्किल परेको थियो,’ प्रअ नेपालले भनिन्, ‘तर महानगरपालिकाले यसमा पनि १० रूपैयाँ थपेर २५ रूपैयाँ पुर्‍याएपछि बालबालिकालाई दिवाखाजा पुगेको छ। भदौदेखि कक्षा १० सम्मका लागि दिवाखाजाको व्यवस्था गरेर महानगरले प्रतिविद्यार्थी ३० रूपैयाँ दिने छुट्टै व्यवस्था गरिदिएको छ। अब सार्वजनिक विद्यालयमा बालबालिका भोको पेटमा पढ्नसपर्ने अवस्था छैन। स्वस्थकर खाजाले बालबालिकाको स्वास्थ्य र मस्तिष्क स्वस्थ बनाउँदै गएको महसुस भएको छ। रमाएर खुसी भएर बालबालिका नियमित कक्षा आउने गरेका छन्।’

महानगरले विद्यालयमा कक्षा १० सम्म अनिवार्य रूपमा विद्यालयमै साप्ताहिक रूपमा तालिकाअनुसार पकाएर पोसिलो दिवाखाजा खुवाउने व्यवस्थाले विद्यालयहरूले साप्ताहिक रूपमा तालिका नै बनाएर दिवाखाजा खुवाउन थालेका छन्। दिवाखाजा कार्यक्रमले विद्यार्थीहरू कक्षाकोठामा नियमित हुन थालेको बौद्धमा रहेको जनकल्याण माविका प्रअ कुमारी कमला राईले बताइन्। हाल यो विद्यालयमा बालकक्षादेखि कक्षा १० सम्म १४ सय विद्यार्थी अध्ययनरत छन्। ‘हाम्रा विद्यालयमा १४ सय विद्यार्थी एकसाथ एकैखाले खाजा ख्वाउँछन्। यसले बालबालिकाबिचको विभेद दूर गरेको छ भने मिलेर खाने राम्रा बानीको विकास भएको छ,’ प्रअ राईले भनिन्, ‘स्कुलमा साप्ताहिक रूपमै खाजाको तालिका तयार छ। त्यहीअनुसार पोसिलो र स्वस्थकर खाजा तयार हुन्छ। कक्षा छाड्ने दर शून्य छ अहिले। बालबालिका खुसी भएर विद्यालय आउँछन्।’

विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेलले विद्यालयभित्र दिवाखाजा कार्यक्रमले बालबालिकाको कक्षाकोठाभित्रको शिक्षण सिकाइमा सुधार भएको बताए। उनका स्कुलमा १ हजार ७०० विद्यार्थीले दिवाखाजा खाने गरेका छन्। ‘गरिब दुखीको विद्यालय सार्वजनिक विद्यालय हो। ज्यालामजदुरी गर्ने अभिभावकका नानीबाबु नै हाम्रा विद्यालयमा अध्ययन गर्छन्,’ प्रअ कँडेलले नागरिकसँग भने, ‘गरिब, हुने र नहुने सबै विद्यार्थी एकैसाथ बसेर खाजा खान्छन्। यसले वास्तविक रूपमा समाजवाद शिक्षाको सुरुवात भएको छ। प्रअको संयोजकमा खाजा व्यवस्थापन समितिले खाजाको अनुगमन गरेर मात्र खाजा खुवाउने व्यवस्थाले स्वास्थ्यकर खाजा बालबालिकाले पाएका छन्। यसले समग्र शिक्षण सिकाइमा नै सुधार भएको छ।’ यस स्कुलमा कार्यरत ९० प्रतिशत शिक्षकका बालबालिका विश्वनिकेतनमै अध्ययनरत छन्।  

महानगरपालिकाका अधिकृत मोती भट्टराईका अनुसार महानगरले नगरपालिकाभित्रका ८९ सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित नै कक्षा १० सम्म दिवाखाजाको व्यवस्थापन गरेको हो। यसका लागि महानगरले यस वर्ष ९ करोड रकम छुटाएको उनको भनाइ छ। ‘काठमाडौं महानगरभित्रका बालबालिका भर्ना हुने तर हराउने दर बढी थियो। महानगरले खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएपछि विशेष गरी तराई मूलका बालबालिका हराउने कम भएको छ भने कक्षामा टिक्ने संख्या बढेको छ,’ अधिकृत भट्टराईले भने, ‘दैनिक ज्यालादारीमा काम गर्ने अभिभावकका नानीबाबु अब ढुक्कसँग पोसिलो खाजा खाएर पढ्न पाउने अवस्था बन्यो। मुख्य रूपमा बालबालिकाले खाने गरेका हानिकारक जंकफुड न्यूनीकरण हुन्छ।’ यति मात्र होइन महानगरले एसइईको नतिजा राम्रो पार्न परीक्षाअगावै तीन महिनाका लागि गणित, अंग्रेजी र विज्ञानमा थप शिक्षको व्यवस्था गरेको थियो। यसले सार्वजनिक शिक्षाको नतिजामा समेत सुधार भएको छ।

प्रकाशित: २९ भाद्र २०८० ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App