४ पुस २०८१ बिहीबार
image/svg+xml
शिक्षा

आफैं सहभागी भएर गाईजात्रामा रमाए विद्यार्थी

सधैँ कक्षाकोठाको पढाइमा व्यस्त रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार गाईजात्रा पर्व मनाएर रमाए। वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गाईजात्रा पर्वमा आफै संलग्न भएर उनीहरु रमाएका हुन्।

नेवार समुदाय रहेका देशका विभिन्न ठाउँमा गाईजात्रा मनाएर थकाइ मार्दै गर्दा भक्तपुर नगरपालिका –२, मिबाछें व्यासीस्थित एभरेस्ट स्कुलका विद्यार्थी जात्रामा रमाएका हुन्।

जात्रामा विशेष गरेर कक्षा ८ का सम्पूर्ण छात्रछात्रा सहभागी रहेका थिए। उनीहरुलाई स्कुलका ६ र ७ का केही विद्यार्थीहरुले सहभागिता जनाई सहयोग गरेका थिए। स्कुलले जनाए अनुसार जात्रामा झण्डै एक सय ५० विद्यार्थी प्रत्यक्ष सहभागी रहेका थिए।

जात्राको क्रममा उनीहरुले घिन्तान्गिसी (गाईजात्रामा लठी जुधाएर खेलिने नाच), कवांचा नाच (एक प्रकारको नाच), माक प्याखं (एक प्रकारको नाच), धिमे प्याखं (बाजा बजाउने), जंगली प्याखं (एक प्रकारको नाच) प्रदर्शन गरेका थिए। बाजाको तालमा नाचमा सहभागी भई सहभागी विद्यार्थी मात्रै नभई दर्शकहरु पनि मज्जा मानेका थिए।

उनीहरुले गाईजात्रा स्कुलबाट सुरु गरी स्कुल नजिकैको टोलको परिक्रमा गरेका थिए। टोल घुमेर फेरि उनीहरुले स्कुलको ठुलो चौरमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा स्कुलमा प्ले ग्रुपदेखि १० कक्षासम्म अध्ययनरत एक हजार भन्दा बढी विद्यार्थीलाई अवलोकन गराइएको थियो। प्रदर्शन दुई तीन घण्टा चलेको थियो। जात्रा हेर्न स्कुलका विद्यार्थीका साथै उनका अभिभावक तथा टोलवासीहरू स्कुल पुगेका थिए।

नेवार समुदायका विद्यार्थी साथै ब्राह्मण, क्षेत्री, तामाङ, गुरुङ, इस्लाम समुदाय तथा तराई मूलका विद्यार्थीहरूको नाचमा सहभागी थिए। जात्रा नेवार समुदायको मात्रै होइन, हामी सबैको हो भन्ने सन्देश दिन नेवारी पोसाकमा मात्रै नभई विभिन्न पोसाकमा विद्यार्थी सहभागी थिए। अत्यधिक सक्रिय सहभागिताले जात्रामा अझ उत्साह बढाएको थियो।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राज भण्डारीले स्थानीय पाठ्यक्रम (ख्वपको पहिचान) को व्यावहारिक ज्ञान दिनका लागि जात्रा मनाइएको बताए। साथै उनले विभिन्न चाडपर्व जस्तै गाईजात्रा, कृष्ण जन्माष्टमी, बुवाको मुख हेर्ने, म्हः पूजा, तिहार, माघी चाडपर्वहरु विद्यालय तहदेखि सामूहिक रुपमा मनाउने परम्परा अनुसार जात्रा गरिएको बताए।

जात्राहरुको सम्मान गर्न सिकाए मात्र धार्मिक तथा समुदाय सहिष्णु असल नागरिक बन्ने र त्यसले राष्ट्रिय एकतामा बल पुर्‍याउने विश्वास समेत उनले व्यक्त गरे।

विद्यालयका बस चालक चन्द्रमान धौबन्जारकी ममतामयी आमाको १३ औं पुण्य तिथिको दिन तथा ज्ञात अज्ञात मृत जनको आत्माले शान्ति पाओस् र शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने उद्देश्यले गाईजात्रा विशेष कार्यक्रम २०८० गरिएको थियो।

जात्राको लागि ताहामचा (मृत व्यक्तिको प्रतीकस्वरुप बनाइने गाई) बनाउन नूतन राई, प्रमित राईको योगदान गरेका थिए। कार्यक्रमको क्रममा विद्यार्थीहरु मुस्कान कार्की र सिल्भिया खड्काले गाईजात्राको विषयमा व्याख्यात्मक प्रस्तुति दिएका थिए।

प्रदर्शनीको क्रममा आयुष खड्का, सौम्यता अधिकारी, तपस्या वाग्ले, क्यारिना थापामगर, आलिया बानु आदिको घिन्ताङ्गघिसीको नाच विशेष थियो। त्यसैगरी अग्रिमा अधिकारी, रियन्सिका पोख्रेल, प्रजिता कार्की, आयुषा खड्का आदि हाकुपटासीमा सजिएको देख्दा उनीहरु गैर नेवार समुदायका हुन् भन्ने भान हुँदैन थियो। त्यसैगरी वैभव ढकाल, आरोन थिङ्ग, सौभाग्य महतो जात्रामा रमाएको देख्दा गाईजात्रा पर्व पुस्तान्तरण मात्र होइन समुदाय– समुदायमा समेत हस्तान्तरण भएको महसुस भएको थियो।

स्कुलले २०६९ सालदेखि अनवरत रुपमा गाईजात्रा मनाउँदै आइरहेको जनाएको छ। विद्यालयले विभिन्न धर्म, समुदायमा रहेका असल संस्कारलाई सधैँ सम्मान र अनुसरण गर्ने गरेकोले विभिन्न, जातजाति समुदायका, धर्म संस्कृति, रीतिरिवाजलाई सम्मान गर्ने सहिष्णु नागरिक तयार पार्ने र त्यसले राष्ट्रिय एकतामा बल पुर्‍याउने विश्वास व्यक्त गरियो।

आफ्नी रानीलाई पुत्र शोकबाट मुक्त गराई खुसी बनाउन तत्कालीन काठमाडौंका राजा प्रताप मल्लले गाईजात्रा पर्व सुरु गरेको इतिहास छ। जन्मपछि मृत्यु अवश्य हुन्छ र यसलाई जीवनको एक अनिवार्य प्रक्रियाको रुपमा अघि बढ्नका लागि मृतकको शोक सन्तप्त परिवारजनलाई महसुस गराउने विश्वास गाईजात्राको छ। भक्तपुरको गाईजात्राको बुधबार अन्तिम दिन हो।

प्रकाशित: १९ भाद्र २०८० १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App