१२ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

पढिन छाडे पुस्तक, अधुरो हुँदैछ ज्ञान

१६ औं पुस्तकालय दिवसको अवसरमा बागलुङमा आयोजित कार्यक्रम। तस्बिर: संगम/नागरिक ।

पत्रकार तथा साहित्यकार आरके अदिप्त गिरीले लेखक गणेश पौडेललाई सोधे: पुस्तक किन पढ्ने ? पौडेलले छोटो जवाफ दिए, ‘मान्छे मान्छे बन्नका लागि पुस्तक पढनुपर्छ।’ पुस्तकले ज्ञानको साथै परिपक्क विचार निर्माणका लागि सहयोग पुग्ने उनको भनाई छ।

राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको पुस्तक र पुस्तकालय संवाद विमर्श कार्यक्रममा पौडेलले कमसल सिर्जना समावेश गरेर पुस्तक बजारमा आउँदा पाठहरु विचलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे।

‘अहिले त जो पनि पनि लेखक बन्ने, जस्तो लेखे पनि छापिदिने गरेका कारण पाठहरु भड्किएका छन्,’ उनले भने, ‘सही र राम्रो किताब छानेर पढ्ने पाठकहरुको संख्या निकै कम छ। हलुका सामग्रीले नयाँ पाठकलाई पुस्तक मोहतर्फ तान्न कठिन भएको छ।’

असल र जिम्मेवार नागरिक बन्नका लागि किताबले ठूलो सहयोग गर्ने पौडेल तर्क गर्छन्। ‘जसरी हर बिहान चिया पिईन्छ, त्यसरी नै हरेक दिन केही न केही समय छुट्याएर पुस्तक पढ्न सकियो भने पठन संस्कृतिको विकास हुन्छ,’ उनी भन्छन्।

धेरै पुस्तक पढ्ने र थोरै लेख्ने लेखकले मात्रै राम्रो सिर्जना पाठकसम्म पुर्‍याउने दाबी गर्दै पौडेलले भने ‘हतारोमा लेखक साहित्यकार बन्ने प्रचलनले नेपाली भाषा साहित्यलाई नै कमजोर बनाएको बताए। एउटा पुस्तक पढेर सकेपछि त्यो पाठकलाई अर्को पुस्तक पढ्न लालायित बनाउने खालको पुस्तक लेखिएन भने त्यसको कुनै अर्थ हुँदैन,’ उनी भन्छन्, ‘कमसल पुस्तकले भाषा र साहित्यलाई हानी गरिरहेको छ। पाठकलाई पुस्तकबाट टाढा बनाइरहेको छ।’ गिरी र पौडेलको संवादको निचोड पुस्तक पढ्ने पाठकको संख्या घट्दै गइरहेको भन्ने थियो।

के पुस्तकालयमा पुगेर किताब पढ्ने समय अब इतिहास भएको हो ? पत्रकार दिल शिरीषले वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठलाई प्रश्न तेर्स्याए। प्रतिउत्तरमा श्रेष्ठले भने, ‘इसापूर्वको छैटौँ शताब्दीबाट सुरु भएको पुस्तकालयको अवधारणा अहिलेसम्म पनि उत्तिकै महत्वको छ। त्यसैले अहिले नै इतिहास भएको भन्न त मिल्दैन, तर पुस्तकालयलाई समय सापेक्ष भने बनाउनुपर्छ।’

सूचना प्रविधिको विकाससँगै किताब पढ्ने र अझ पुस्तकालयमै पुगेर पढ्नेहरुको संख्या निकै थोरै हुँदै गएको उनको भनाई थियो।

‘पुस्तक र पुस्तकालयको आवश्यकता गौण भएको पक्कै होइन तर प्रविधिको विकासले यसलाई छायाँमा पारेको छ,’ उनी भन्छन्, ‘अहिले प्रविधिको प्रयोगले मान्छेले सजिलै सूचना पाएका त छन् तर किताबबाट जस्तो राम्रो ज्ञान पाएका छैनन्।’

पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राज भण्डारीले समाज देश र विश्वलाई गहिरो गरी अध्ययन गर्नका लागि किताब पढ्नै पर्ने बताए।

‘प्रविधिको विकासले मानिसलाई सामाजिक सञ्जालको दास बनाएको छ,’ उनी भन्छन्, ‘समाजलाई गहिरोसँग बुझ्नका लागि किताबहरु पढ्नैपर्छ। किताबले हरेक विषयलाई गहिराईमा पुगेर पर्गेल्न मद्दत गर्छ।’

बौद्धिक वर्गको उत्पादनका लागि पुस्तकालयको आवश्यकता अझै पनि रहेको र त्यसलाई समय सापेक्ष बनाउँदै लैजानुपर्ने उनको तर्क छ।

१६ औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा विद्यामन्दिर पुस्तकालय बागलुङले साताव्यापी कार्यक्रम गर्‍यो। हरेक कार्यक्रममा पुस्तक र पुस्तकालयको महत्वको चर्चा भयो र पाठहरुको संख्यामा कमी आएको चिन्ता व्यक्त गरिए। 

शुक्रबारको मूल समारोह पनि समाजसेवी देवबहादुर श्रेष्ठले विगतलाई स्मरण गरे। ‘हामी यो पुस्तकालयको हलभरी जम्मा भएर पत्रपत्रिका र पुस्तक पढ्यौं, अहिले त सूचना सबै हात हातमा आउने भएपछि पुस्तकालय आउने र पढ्ने चलन हरायो,’ उनले भने, ‘तर अहिलेको प्रविधिले सूचना दिए पनि अधुरो ज्ञान दिएको छ।’ पाठकको अभावमा सार्वजनिक पुस्तकालयहरु बिस्तारै बन्द हुँदै गइरहेकोमा उनले दुःख व्यक्त गरे।

६० को दशकमा विद्यामन्दिर पुस्तकालयमा किताब र पत्रपत्रिका पढ्नका लागि पालो कुरेर बस्नु परेको यामबहादुर थापा सम्झन्छन्।

‘त्यो बेला म नियमित रुपमा पुस्तकालय जान्थे, पत्रपत्रिका र किताब आफै किन्ने आर्थिक हैसियत पनि हुन्थेन, त्यो बेला हामी पालो कुरा पढ्थ्यौं,’ थापाले भने, ‘अहिले त्यो चलन बिस्तारै कम भएको छ। पहिलो कुरा त प्रविधिले सहज बनाइदिएर पनि हो। मुख्य कुरा भने अहिले गहन रुपमा अध्ययन चिन्तन गर्ने चलन नै छैन।’

पुस्तकालयमा बसेर पढ्ने बानीले आफूलाई लोकसेवा आयोग पास गर्न सहज बनाएको उनी सुनाउँछन्।

‘हामी त्यहाँ जाँदा धेरै कार्यालयका कर्मचारीहरु पनि भेटिन्थे, त्यसले हामीलाई पनि पढ्नुपर्छ भन्ने प्रेरणा हुन्थ्यो,’ थापा भन्छन्।

विद्यामन्दिर पुस्तकालय गण्डकी प्रदेशकै जेठो पुस्तकालय हो। विक्रम संवत् २००३ सालमा ओमप्रसाद गौचन र मेघकुमार वैद्य लगायत साथीहरु मिलेर उक्त पुस्तकालयको स्थापना गरेका थिए।

तत्कालीन समयमा उक्त पुस्तकालयलाई घरेलु उद्योग विद्यामन्दिर बागलुङ भनेर स्थापना गरिएको थियो। अहिले पुस्तकालयमै आएर किताब पढ्नेहरुको संख्या निकै न्यून भएको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरल बताउँछन्।

‘अहिले पुस्तकालय आउने र पढ्ने चलन निकै घटेको छ, हामीले समय सापेक्ष प्रविधिलाई पनि आत्मसाथ गरौं भने ई-लाइब्रेरी समेत बनाएका छौं,’उनी भन्छन्,’पहिले पहिले भिडभाड हुने पुस्तकालयमा अहिले दिनमा २५/३० जना पुग्न गाह्रो हुन्छ। त्यही पनि किताब पढ्ने भन्दा इमेल इन्टरनेट प्रयोग गर्ने धेरै छन्।’

पछिल्लो एक दशकमा पुस्तकालय पुगेर किताब पढ्नेहरुको संख्या क्रमिक रुपमा घट्दै गएको उनी बताउँछन्।

प्रकाशित: १६ भाद्र २०८० १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App