४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिविको बजेट र कार्यक्रम पारित

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको आइतबार बसेको ५८ औं वार्षिक सभाले आर्थिक वर्ष ०७४/०७५ का लागि १९ अर्ब ३१ करोड ७ लाख ५८ हजारको बजेट पारित गरेको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आवश्यक नियम संसोधनसहित बजेट पारित गरेको हो । तर, विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले पेस गरेको बजेट वक्तव्यमा पुनर्निमार्ण र उच्च शिक्षा सुधार परियोजनाको बजेट भने समावेश नगरिएको छैन।

उक्त प्रस्तावित रकममा नियमित कार्यक्रम तर्फ १० अर्ब ८२ करोड ५० लाख  २२ हजार रकम विनियोजन भएको छ भने उक्त रकममा संचालन खर्चको हिस्सा ८०.४  प्रतिशत र पुँजीगत खर्च १९.६ प्रतिशत रहेको छ । आन्तरिकतर्फ संचालन तथा पुँजीगत खर्च गरी जम्मा ८ अर्ब ५ करोड ७२ लाख ३६ हजार र विकास कार्यक्रममा ४२ करोड ८५ लाख रकम विनियोजन गरिएको छ।

अगामी वर्षका लागि नियमित कार्यक्रममा हुने कुल खर्च १० अर्ब ८२ करोड ५० लाख २२ हजारमध्ये आन्तरिक आम्दानीबाट १ अर्ब ५६ करोड बेहोर्ने र बाँकी ९ अर्ब २६ करोड ५० लाख २२ हजार विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने प्रस्ताव गरिएको छ।

‘त्रिविको प्राथमिकतामा रहेको पुनर्निर्माण÷नवनिर्माणकालागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट १ अर्बको सिलिङ्ग प्राप्त भएको छ,’ रजिष्ट्रार उप्रेतीले भने, ‘यो रकम चालु योजना र क्याम्पसका एकाइगत योजनाका आधारमा परियोजना स्वीकृत गरी संचालन गरिने छ।’

कार्यकारी सभाले निर्णय गरी त्रिवि सभामा पास गर्न ल्याएको प्रस्तावमा त्रिवि प्रध्यापक संघका सभापति योगेन्द्र नारायण बडबडियाको काज स्वीकृत गर्ने विषयमा सभा सुरु नहुँदै विवाद भएको थियो । तर, कुलपति देउवाले सभासद राममान श्रेष्ठसहित उपकुलपति तिर्थराज खनियाँ र सहकुलपति तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र सभापति बडबडियाबीच सहमति भएपछि सभा पुनः सुचारु भएको थियो।

साथै, रजिष्ट्रार उप्रेतीले कृषि तथा वन विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम संचालन गर्न त्रिविको ३ सय ५४ विगाहा जग्गामध्ये ४० विगाहा त्रिविले राखेर बाँकी सबै कृषि तथा वन विश्वविद्यालयलाई दिइने निर्णय भएको जनाए। ‘४० विगाहामा त्रिविको इन्जिनियरिङ कलेज बनाउने योजना छ,’ रजिष्ट्रार उप्रेतीले भने।

उपकुलपति खनियाले त्रिवि शिक्षालाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउन २० वर्षे दीर्घकालिन योजना तयार पारेको जनाए । ‘उच्च शिक्षामा विश्वव्यापी परिवर्तनलाई ध्यानमा राखि ‘विकासकालागि त्रिवि भिजन २०३०’ तयार गरी यसका निम्ति रणनीतिक योजना तयार गरिएको छ,’ उपकुलति खनियाँले भने, ‘यही भिजनमा आधारित रहेर अबका हाम्रा निर्णय तथा त्यसको कार्यान्वयन गरिने छ ।’ उपकुलपति खनियाँले प्रस्तुत गरेको मन्तव्यमा त्रिविले संचालन गर्दै आएको दीक्षान्त समारोहमा विद्यार्थी चाप बढ्दै गइरहेकाले अबका दिनमा अध्ययन संस्थान र संकायअनुसार छुटाछुटै दीक्षान्त समारोह अयोजना गर्ने पारित भएको छ।

बुटवल र बर्दिबासमा त्रिविको मेडिकल कलेज
त्रिविको ५८ औं सभाको बैठकमा पेस गरिएको आर्थिक वर्ष ०७४ /०७५ को लागि प्रस्तावित कार्यक्रम तथा बजेट स्वीकृत भएसँगै बुटवल र बर्दिबासमा त्रिविको आंगिक मेडिकल कजेज खुल्ने भएको छ । पारित प्रस्तावमा उल्लेख भए अनुसार सरकारले आव ०७३/०७४ को नीति तथा बजेट वक्तव्यको प्रकरण २२४ मा ‘एक प्रदेश एक मेडिकल कलेजको आधारणा अनुरूप अगामी आर्थिक वर्षमा बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना कार्य थाल्ने भएको छ।

यसअनुसार शिक्षा मन्त्रीको अध्यक्षतामा वैशाख ७ गते बसेको बैठकले बर्दिबास र बुटवलमा स्थापना गर्ने मेडिकल कलेज त्रिविको आंगिक कलेजको रूपमा विकास गर्ने निर्णय गरेको छ । ‘सोबारेमा पूर्वाधार तयार गर्न र आवश्यक पर्ने जनशक्तिसहितको स्पष्ट धारणा उपलब्ध गराउन चिकित्साशास्त्र अध्ययन संस्थानलाई निर्देशन दिने गरी वैशाख ११ को कार्यकारी परिषद्ले निर्णय ग¥यो,’ कार्यक्रम तथा बजेटमा उल्लेख छ । बुटवल मेडिकल कलेज स्थापना गर्न रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ र ११ स्थित शंकरनगर र करहिया सामुदायिक वनले चर्चेको २ सय विगाहा जग्गा उपलब्ध गराउने ०७३ साउन १२ गते मन्त्रीपरिषद्ले  निर्णय गरेको थियो । साथै बर्दिबासमा भब्सी खोला नजिकको माइथान सामुदायिक वन उपभोक्ता समूहको अधीनमा रहेको कुल ५४ हेक्टर र अन्य गरी जम्मा ८० हेक्टर जमिन सर्वपक्षीय भेलाबाट सर्वसम्म्त रूपमा पारित भइसकेको छ।

 

प्रकाशित: ३० श्रावण २०७४ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App