२ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

२८ वर्षपछि इन्जिनियरिङको शुल्क वृद्धि, विद्यार्थी आन्दोलित

शुल्क वृद्धि विरुद्ध धरानको भानु चोकमा विरोध प्रदर्शन गर्दे पूर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरु। तस्बिर: रोहित राई।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई), डिन कार्यालयले २८ वर्षपछि पुर्णशुल्कीय शैक्षिक कार्यक्रमतर्फ शुल्क वृद्धि गरेपछि त्यसविरुद्ध विद्यार्थीहरु धरानस्थित पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।

आन्दोलित विद्यार्थीहरुले धरान ८ तीनकुनेस्थित क्याम्पसको प्रशासनिक भवनको मुलगेटमा नै मंगलबार तालाबन्दी गरिदिएका छन्। तालाबन्दीको कारण क्याम्पसको प्रशासनिक सम्पूर्ण कामहरु ठप्प भएको छ। आन्दोलित विद्यार्थीहरुले बुधबार शुल्क वृद्धिविरुद्ध धरानमा वृहत् र्‍यालीसमेत निकालेका थिए। क्याम्पसदेखि सुरु भएको र्‍याली भानु चोकमा कोणसभामा परिणत भएको थियो।

पूर्वाञ्चल क्याम्पसका प्रमुख काजीराम कार्कीले विद्यार्थीहरुको आन्दोलनले प्रशासनिक काम ठप्प भएको र शैक्षिक गतिविधिहरू पनि आंशिकरुपमा प्रभावित भएको बताए।

‘पठनपाठन सकिएको अवस्था र भदौ १७ गतेदेखि फाइनल परीक्षा छ। प्रशासन भवनको मुलगेटमै तालाबन्दीले काम गर्न गाह्रो छ,’ क्याम्पस प्रमुख कार्कीले भने, ‘फी वृद्धिको विषय हाम्रो क्षेत्राधिकारको कुरा होइन। डिन कार्यालयलमा यहाँको आन्दोलनबारे जानकारी गराइसकेका छौं।’

क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सहित सबै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएको हो। शुल्क वृद्धिको निर्णय फिर्ता नलिएसम्म तालाबन्दी र आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थीहरुको भनाई छ। आइओई डिनको कार्यालयले एक समितिको सिफारिसको आधारमा पुर्णशुल्कीयतर्फ ३ लाख २० हजार शुल्क वृद्धि गरेर ७ लाख ७५ हजार निर्धारण गर्ने निर्णय गरेको थियो। अध्ययन संस्थानले यसअघि लिँदै आएको ३ लाख २० हजार शुल्क वि.स. २०५४ सालमा निर्धारण गरेको हो। त्यसयता शुल्क वृद्धि भएको थिएन।

पूर्वाञ्चल क्याम्पसमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्ष अध्ययनरत मिलन पुडासैनीले डिन कार्यालयले एक्कासि २४० प्रतिशत शुल्क वृद्धि गरेर विद्यार्थी र अभिभावकहरुलाई मारमा पारेको बताए।

सरकारी क्याम्पस भएकोले नाफा नहेरी गरिब जनताका छोराछोरी पनि सर्वसुलभरुपमा पढ्न पाउनुपर्ने उनले बताए।

‘मनोमानीढंगले जुन शुल्क वृद्धि भयो, त्यो विद्यार्थी र अभिभावकलाई यो सर्वसुलभ भएन, ’उनले भने, ‘सरकारको कोषबाट चल्ने क्याम्पसलाई व्यापारीकरण गर्ने काम भएकोले त्यसविरुद्ध विरोधमा उत्रिएका हौं, यो निर्णयबाट फिर्ता हुनुपर्छ।’

स्ववियु सभापति नकुल श्रेष्ठका अनुसार शुल्क समायोजन गर्नेबारे छलफल गर्न २ जना प्रतिनिधि आएका थिए। उनीहरुसँगको छलफलमा अहिलेको अवस्थामा शुल्क कुनै हालतमा पनि बढाउन नहुने सुझाव सबै विद्यार्थी संगठनहरुले दिएको उनले बताए।

‘उहाँहरुले पनि फी बढाउने होइन, फिडब्याक लिन आएको भन्नु भएको थियो। तर, एक्कासि फी बढेको नोटिस निकालियो,’ स्ववियु सभापति श्रेष्ठले भने, ‘निर्णय फिर्ता नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन।’ डिनको कार्यालयले पुल्चोक क्याम्पसका विद्यार्थीहरुसँग मात्र सहमति गरेर समस्याको समाधान नहुने र धरानमै आएर सम्झौता गर्नुपर्ने पनि उनले बताए।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) अन्तर्गत पूर्वाञ्चल क्याम्पस धरानसहित ५ वटा क्याम्पसको शुल्क वृद्धि गरेको हो। यसको लागि डिन कार्यालयले एक समिति गठन गरेर सरोकारवालाहरुसँग पनि छलफल गरेको थियो। सोही समितिको सुझावको आधारमा डिन कार्यालयले शुल्क वृद्धिको निर्णय कार्यान्वयनमा ल्याएको हो। समितिले पुर्णशुल्कीय शैक्षिक कार्यक्रम छ भन्दै सरकारले बजेट नदिने र क्याम्पसहरु सञ्चालनमा समस्या भएकोले पनि पुर्णशुल्कीय कार्यक्रमको शुल्क वृद्धि गर्न सिफारिश गरेको बताइएको छ।

प्रकाशित: ६ भाद्र २०८० १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App