१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

नविकरण नगर्ने १७५ सम्बन्धन प्राप्त कलेज खारेजी गर्दै त्रिवि (सूचीसहित)

हालसम्म नविकरण नगरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजी गर्ने प्रकृया सुरु गरेको छ ।  

बुधबार विश्वविद्यालयल उपकुलपति कार्यालयको योजना निर्देशनालयले सार्वजनिक सूचना प्रकासित गरि हालसम्म नवीकरण नगरि विश्वविद्यालयको नियम उल्लघंन गरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजको नाम र ठेगाना समेत प्रकासित गरि खारेजीको कारवाही सुरु गरेको छ। त्रिविको ढड्डामा नाम दर्ता भए पनि अनुगमनका क्रममा कलेजहरु धेरै जसो झोले देखिएपछि विश्वविद्यालयले खारेजीको प्रकृया सुरु गरेको बताएको छ।  

हुन त पुर्व उपकुलपति हिराबहादुर महर्जनको बखतमा पनि यस्ता कलेजलाई खारेजी गर्ने विषय उठान गरिए पनि विभिन्न दलगत दबाबका कारण प्रकृयानै अगाडि बढ्न नसकेको यर्थाथ पनि त्रिविका प्राध्यापकहरु बताउँछन्।  

त्रिविबाट कागजी रुपम सम्बन्धन लिने तर नवीकरण नगरी झोले कलेज संचालन भएको एक सय ७५ मध्ये सयको हाराहारिमा रहेको तथ्यहरु फेला परेपछि त्रिविले यस्ता झोले कलेजहरुलाई समेत समेट्ने गरि खारेजीको कारवाही प्रकृया अघि बढाएको त्रिविका रजिष्ट्रार शिव भूषालले बताए। उनका अनुसार दलका केन्द्रिय तथा स्थानीय नेताहरुको भनसुनका आधारमा त्रिविको सम्बन्धनमा कलेज खोल्ने तर नविकरण नगर्ने विकृति बढेको छ।  

‘त्रिविले नवीकरण नगर्ने सम्बन्धन प्राप्त कलेजहरुको खारेजीको प्रकृयामा नामसहितको सूचि प्रकासित गरि कारावही गरेको यो पहिलो पटक नै हो, ’ रजिष्ट्रार भूषाले नागरिकसँग भने ‘विद्यार्थी भर्ना अगावै कलेजहरुले विद्यार्थी सँख्या पेस गर्नु पर्ने र नवीकरण अनिवार्य गर्नु पर्ने त्रिवि ऐन नियममा ब्यवस्था छ। तर सम्बन्धन प्राप्त कलेजहरु त्रिविको नियम पालना गरेको देखिँदैन।’ उनले थपे ‘त्रिविमा सुधारको प्रयास गर्न खोजिएको हो। सम्बन्धन प्राप्त कलेजहरुलाई नियम भित्र ल्याउन खोजिएको हो।  अब त्रिविको सम्बन्धन लिएर झोलाभित्र कलेज चलाउन पाएन।’

त्रिविबाट सम्बन्धन लिएर हालसम्म संचालनमा रहेका क्याम्पस तथा कलेजहरुलाई पटक पटक गरि सूचित गर्दा पनि नविकरण नगरेको योजना निर्देशनालयका निर्देशक धु्रव गौतमले जनाए।  गत वर्ष पुस २० गते र गत वर्ष चैत्र २८ गते सम्बन्धन नवीकरणको निम्ती सूचित गरिएको भए पनि यी कलेजले सम्बन्धन नवीकरण नगरेकोले यस्ता कलेजहरु खारेजीको कारवाहीमा परेको निर्देशनालयका निर्देशक धु्रव गौतमको भनाई छ।

निर्देशक गौतमका अनुसार खारेजीमा परेका कलेजहरु त्रिविको रेकर्डमा देखिने तर संचालनमा नरहेको पनि छन् भने कतिपय संचालन भए पनि अटेर गरि नवीकरण नगर्नेहरु पनि छन्। त्रिवि नियम अनुसार त्रिविमा आंगिक र सम्बन्धन प्राप्त गरि दुइ खाले कलेज मात्र संचालन गर्न पाइने ब्यवस्था छ। नवीकरणनै नभएपछि ति कलेज त्रिविको मान्न समस्या आएको छ।  

‘खारेजीमा पर्ने अधिकांश कलेज त्रिविको सूचिमा भएको तर फिल्डमा नभएका छन् । अर्को थरि विगतमा प्रमाणपत्र तह संचालन गरेका तर  प्रमाणपत्र तह  त्रिविबाट हटेपछि कलेजहरु नवीकरण वा अपग्रेड नभएका छन्,’ निर्देशक गौतमले नागरिकसँग भने ‘कतिपय कलेज संचालन छन् तर नवीकरण गरेका छैनन् भने कतिपय सामुदायिक कलेज आर्थिक अभावमा नवीकरण नगरि चलाई रहेका छन्।’ उनले औल्याए ‘त्रिविले सधैं सम्बन्धन प्राप्त कलेज एक जार ६४ भन्दै आएको छ। तर यस मध्ये नवीकरण गरेका ८ सय ८२  मात्र छन्। एक सय ७५ नवीकरण  नगरि चलेका छन्। यस्ता नवीकरण नगर्ने खारेजीमा परेका हुन्।’ त्रिविको नवीकरण सम्बन्धी नियम अनुसार ०७३ सम्म २ ÷२ वर्षमा  नवीकरण गर्ने ब्यवस्था थियो। ०७३ पछि कार्यक्रम अनुसार नवीकरण गर्ने ब्यवस्था भयो । तर यी कलेजहरुले नवीकरण नगरि कार्यक्रम चलाइरहेका छन्।  

नवीकरण नगर्ने कलेजहरु  ललितपुर, काठमाडौं, भक्तपुर , सुनसरी, रुपन्देही,स्याँजा,झापा,सुर्खेत,मोरङ, सलार्ही, दाङ, धनुषा, बाल्गुङ, धनकुटा,रौतहत, चितवन, नवलपरासी,धनुषा,कास्की, बाँके,कालिकोट,पर्वत,हुम्ला, तनहँ, कन्चनपुर, दैलेख,रुपन्देही, अछाम,कैलाली,पर्सा,रामेछाप,सिरहा,इलाम,बैतडी ,नुवाकोट,लमजुङ,बझाङ तथा म्याग्दीका रहेका छन्।

‘काठमाडौं उपत्यकामा भएका सम्बन्धन प्राप्त कलेजहरु समेत नवीकरण गरेका छैनन् । त्रिवि अन्तर्गतका कलेजले त्रिविको नियम नमानेपछि खारेजीको विकल्पनै रहेन,’ निर्देशक गौतम भन्छन् ‘नाम सार्वजनिक नगर्न दबाब आएपनि निर्देशनालयले सुनुवाई नगरि कारवाही प्रकृया अघि बढाएको हो । ’साथै कुनै क्याम्स नवीकरणको प्रकृयामा भए आधिकारीक निस्सा प्रमाणसहित सम्बन्धित डिन कार्यालयमा सम्पर्क गर्नु पर्ने समेत सूचित गरिएको उनले जनाए।  

खारेजीमा परेका सम्बन्धन प्राप्त कलेजहरूकाे सूचि पढ्न यहाँ क्लिक गर्नुस्।

प्रकाशित: २९ असार २०८० ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App