१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

सिटिईभिटीमा खेलाँची: कोटा भन्दा बढी भर्ना, दर्जन विद्यार्थीको परिक्षा अन्यौल

फाइल तस्बिर

सिटिईभिटी अन्तर्गतको तुलसीपुर स्थित भ्यालि टेक्निकल ईन्स्टिच्यूटले त्यहाँ सञ्चालित उद्यम विकास सहजकर्ता (ईडिएफ ) कक्षा अध्ययनका लागि ६० जना विद्यार्थीको नाम निकाल्यो। ६० मध्ये ५१ जना मात्रै अध्ययनका लागि ईन्स्टिच्यूटमा आए। ५१ जना अध्ययनरत विद्यार्थी रहेको यो कक्षाको पढाई पुरा भैसक्यो। १८ महिने कोर्षको अध्ययन पुरा गरेका ४० जना विद्यार्थीले परिक्षा दिइसके। तर ११ जना विद्यार्थीले भने अहिलेसम्म परिक्षा दिन पाएका छैनन्। उनीहरु परिक्षाको मिति कुरेर बसेका छन्। एक विद्यार्थी भन्छन् ‘तिमीहरुको परिक्षाको रुटिन केहि दिनमै आउँछ भनेर सरले मिति सारिरहनु भएको छ।’ एसईई पास गरेपछि यो कक्षा अध्ययन गर्न पाईन्छ।

तर विद्यालयले गरेको यो चलाखी मात्रै हो। अझ शिक्षाका नाममा ईन्स्टिच्यूटले गरेको यो बद्मासीनै सावित भएको छ। ईन्स्टिच्यूटका अनुसार सिटिईभिटी अन्तर्गतको यो कक्षामा यो कलेजले पाएको कोटा भनेको ४० जना विद्यार्थी संख्या मात्रै हो। कोटा भन्दा बढि भर्ना गरिएका ११ जना विद्यार्थीको परिक्षा भने अन्यौलमा छ। विद्यार्थीहरु भन्छन्, ‘सरले तिमीहरुको परिक्षा हुन्छ ढुक्क भएर बस मात्रै भन्नु हुन्छ, तर कहिले हुन्छ केहि भन्नु हुन्न।’ 

ईन्स्टिच्यूटमा भर्ना भई परिक्षा दिन नपाएका विद्यार्थीहरुले ईन्स्टिच्यूटलाई बुझाउनु पर्ने सबै शूल्क बुझाइसकेका पनि छन्। १८ महिने कोर्षका लागि भर्ना सहित ६० हजार र परिक्षा शूल्क वापत थप १३ हजार ९ सय रुपैयाँ उनीहरुले ईन्स्टिच्यूटलाई बुझाएका छन्। विद्यार्थीहरुका अनुसार कक्षाका विद्यार्थीहरुलाई ग्रुप अनुसार विभाजन गरिएको छ।  

ए,बी र सी ग्रुप गरि तीन ग्रुपमा विभाजन गरिएको भन्दै ईन्स्टिच्यूटले सी ग्रुपको परिक्षा तालिका आउन बाँकी रहेको भनिरहेको छ। ईन्स्टिच्यूटले पाएको ४० जना कोटा भित्र परेका विद्यार्थीहरुलाई ए र बी ग्रुपमा राखिएको थियो। ए र बी ग्रुपमा रहेका ४० जनाले परिक्षा दिइसकेका छन्।

तर परिक्षा दिन नपाएका ११ जना भने ग्रुप सीमा रहेको भन्दै परिक्षा केहि पछि हुने भनेर ईन्स्टिच्यूटले विद्यार्थीहरुलाई फकाइरहेको छ। ‘तिमीहरु ग्रुप सीमा छौ, परिक्षा ग्रुप अनुसार हुने भएकाले ए र बीको पहिला भएको हो भनेर सरले भन्नु हुन्छ,’ एक विद्यार्थीले भने ‘अब सी ग्रुपको पालो आउँछ, नआत्तिएर बस मात्रै भन्नु हुन्छ, तर कहिले परिक्षा हुन्छ केहि भन्नु हुन्न।’

यता ईन्स्टिच्यूटले पनि सिटिईभिटीबाट प्राप्त कोटा ४० जनाको मात्रै रहेको स्वीकार्छ। ईन्स्टिच्यूटका प्रमुख विनोद केसीले भ्यालि टेक्निकल कलेजमा प्राप्त विद्यार्थी कोटा संख्या ४० मात्रै रहेको तर अहिले परिक्षा दिन नपाएका विद्यार्थीहरु भने आफ्नै फरक अर्को कलेजका रहेको दावी गरे। ‘सिटिईभिटिबाट सम्बन्धन प्राप्त मेरा दुईवटा कलेजहरु हुन्,भ्यालि टेक्निकल ईन्स्टिच्यूटमा भर्ना भएका ४० जनाले परिक्षा दिइसकेका छन्,’ केसीले भने, ‘तर अर्को मेरै नाममा रहेको आस्था टेक्निकल कलेजका ११ जना विद्यार्थीहरुको परिक्षा हुन बाँकी छ।’ उनले  ईन्स्टिच्यूटले विद्यार्थीहरुको रजिष्ट्रेशन गरिसकेको र चाँडै परिक्षा मिती तय हुने दाबी गरे। ‘परिक्षा दिन बाँकी रहेका भनिएका विद्यार्थीहरु फरक कलेजका हुन्,’ उनले भने ‘उनीहरुको पनि अब चाँडै परिक्षा मिती तोकिन्छ,उनीहरुले पनि परिक्षा दिन्छन्।’

केसीको भनाइलाई भने कागजी प्रमाणले गलत पुष्टि गरिदिन्छ। केसीले परिक्षा दिन बाँकी रहेको भनिएका ११ विद्यार्थीहरु आफ्नै अर्को कलेज आस्था टेक्निकल कलेजका विद्यार्थीहरु रहेको दावी गरेपनि ति ११ जना विद्यार्थी पनि भ्यालि टेक्निकल ईन्स्टिच्यूटकै रहेको कागजी प्रमाणले पुष्टि गर्छ। ति ११ जना विद्यार्थीहरुको भर्ना केसीले भने जस्तो आस्था टेक्निकल कलेजको नाममा भएको छैन। उनीहरु भ्यालि टेक्निकल ईन्स्टिच्यूटमै भर्ना भएको पुष्टि कलेजको भर्ना रसिदले गर्छ। उनीहरु सबैको भर्ना भ्यालि टेक्निकल ईन्स्टिच्यूटको रसिदमा उल्लेख गरिएको छ। यसैगरि सोही ईन्स्टिच्यूटकै नामको रसिदमा विद्यार्थीहरुले शूल्क समेत बुझाएका छन्। ‘हामीहरुलाई भ्यालि टेक्निकल कलेजमा पढ्ने हो भनेर भर्ना गरिएको हो, हामीहरुले पढेको पनि सोही कलेजकै भवनमा हो,’ अर्का विद्यार्थीले भने ‘फेरी हामीले त भ्यालि टेक्निकल कलेजकै रसिदमा शूल्क बुझाएका छौँ।’

त्यसोत, ईन्स्टिच्यूट प्रमुख केसीले भने जस्तो आस्था कलेजमा अध्ययनरत भनिएका विद्यार्थीहरुले अहिलेसम्म उक्त कलेजको नामै नसुनेको बताए। ‘हामीहरुलाई त यो आस्था कलेज भन्ने नामै थाहा थिएन,’ ति विद्यार्थीले भने ‘हामीहरुलाई भ्यालि टेक्निकल कलेजकै विद्यार्थी भनेर भर्ना गरिएको हो, अहिले कसरी अर्को कलेजको विद्यार्थी बन्यौँ हामी?’

ईन्स्टिच्यूट प्रमुख केसीले दुई ईन्स्टिच्यूट आफ्नो नाममा दर्ता रहेको तर पढाई भने एकै भौतिक संरचनामा हुने गरेको बताए। उनले दुई ईन्स्टिच्यूटको अध्ययन एकै भौतिक संरचनामा मात्रै नभई ईन्स्टिच्यूट प्रशासनीक संयन्त्र समेत एउटै रहेको बताए। यसर्थ पनि विद्यार्थीहरुले आफूहरु फरक ईन्स्टिच्यूटमा अध्ययनरत रहेको भन्ने थाहा नपाएको हुन सक्ने उनले बताए।  ‘कलेज दुईवटा भएपनि एकै भवनमा दुबै कलेजको पठनपाठन गराईरहेका छौँ,’ उनले भने ‘हामीहरुले भवन भन्दा पनि कसरी शिक्षा प्रदान गर्ने भन्ने कुरा प्रमुख हो।’

तर नियमतः दुई ईन्स्टिच्यूटको पठनपाठन एकै भौतिक संरचनामा गर्न भने पाईँदैन। सिटिईभिटी लुम्बिनी प्रदेशका अनुसार दुई कलेज भन्ने तर दुईवटा कलेजको पढाई एकै थलोमा गर्छु भन्ने नियमसंगत नरहेको बताउँछ। ‘यो नियमत संगत हैन, दुई वटा कलेज भनेपछि भौतिक संरचना पनि फरक फरक हुनु पर्यो,’ सिटिईभिटीका लुम्बिनी प्रदेश प्रमुख गोपाल आचार्य भन्छन् ‘विद्यार्थी अनावश्यक भर्ना गर्ने, अनि लुकीछिपी यसरी दुई कलेजको नाममा एकै ठाउँमा पढाउने गलत कामहरु भैरहेका छन्, यसको नियमन जरुरी छ।’ उनले भ्याल टेक्निकल कलेजका ११ जना विद्यार्थीहरुको परिक्षा अन्यौल भएको बिषयमा आफूले जानकारी लिने बताए। ‘त्यहाँ के भएको रहेछ, म डिटेलमा बुझ्छु,’ उनले भने ‘अरु भन्दा पनि परिक्षा दिन नपाएका ति ११ जना परिक्षार्थीहरुलाई कसरी परिक्षामा सामेल गराने भन्ने तर्फ सोच्नु पर्छ।’  

परिक्षा दिन नपाएका विद्यार्थीले भ्यालि टेक्निकल ईन्स्टिच्यूटको नाममा शूल्क बुझाएको रसिद। ईन्स्टिच्यूटले भने यी विद्यार्थीहरु फरक कलेजका रहेको दावी गर्छ।  

प्रकाशित: १४ असार २०८० ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App