४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई खाना खुवाउने अभियानले कुलत र विवादका घटना शून्य

खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। अझ बालबालिकाका निम्ति उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको दायित्व हो। विशेषतः बढ्दो आधुनिकता र व्यस्तताका कारण अचेल आफ्ना बालबच्चालाई अभिभावकले खुवाउने खानेकुरामा कमै ध्यान दिने गरेको पाइन्छ। यसै कुरालाई मध्यनजर गरेर इटहरी वडा– १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीलाई स्वस्थकर खाना खुवाउन अभियान नै सञ्चालन गरिरहेको छ।

विद्यालयले वैशाख १४ देखि नयाँ शैक्षिक सत्र प्रारम्भ गरेसँगै यसबारे अभिभावक र विद्यार्थी दुवैलाई सचेतना फैलाउँदै आएको छ। पछिल्लो डेढ महिनाको अवधिमा विद्यार्थीले रोटी, हलुवा, चिउरा–तरकारी, भुटेको मकै, भुटेको भात, चाम्रेलगायतका खाजाका रूपमा विद्यालयमा ल्याएर टिफिनमा खाने गरेका छन्। तर कतिपय अभिभावकले भने विद्यार्थीलाई अझै पनि पैसा दिएर पठाउने गरेका छन्।

विद्यालयले थालेको अभियानलाई सार्थक बनाउन सोमबार मात्र लायन्स-लियो क्लब अफ मनकामना इटहरीले विद्यालयका छात्रा–छात्रलाई खाजा ल्याउने टिफिन बक्स वितरण गरेको छ। विद्यालयका प्रधानाध्यापक शरणकुमार बस्नेतका अनुसार ४६० जना विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको हो। ‘कक्षा ६ सम्मका विद्यार्थीका निम्ति विद्यालयले नै दिवा खाजा सञ्चालन गर्दा ५ सय जनाका निम्ति क्यान्टिन सञ्चालनमा छ’, उनले भने, ‘कक्षा ७ भन्दा माथिका विद्यार्थीका निम्ति चालु शैक्षिक सत्रदेखि टिफिन समयमा विद्यार्थीलाई विद्यालय परिसर बाहिर जान नदिएर घरबाटै खाजा ल्याउने नियम लगाइएको छ।’

प्रधानाध्यापक बस्नेतले डेढमहिने अनुभव सुनाउँदै भने, ‘विद्यालयले टिफिन समयमा बाहिर जान नदिने नियम लागु भएपछि विगतमा छुटपुट रूपमा नजानी नराम्रो लत अर्थात् कुलतमा विद्यार्थी फसेका घटना पनि छन्। अहिले त्यस्तो कुनै घटना भएको छैन।’ उनले विगतमा टिफिन समयमा विद्यार्थीबीच केही सीमित विवादका घटना पनि हुने गर्थे। तर यतिबेला विद्यालयमा ससाना घटना पनि सुन्न पाइएको छैन।

नेपालीको खाने बानीमा आएको परिवर्तनले मौलिक खानालाई आयातीत र अस्वस्थकर खानेकुराले विस्थापित गरेको सन्दर्भमा विद्यालयले थालेको अभियानले समाजमा परिवर्तन ल्याउने ठानेर टिफिन बक्स प्रदान गरिएको लायन्स क्लब अफ ३२५ सीका डिस्ट्रिक गभर्नर धिरज गुरुङले बताए। खासगरी विद्यार्थीलाई जनचेतना जगाई नैतिक, चरित्रवान्, जिम्मेवार र असल नागरिक बनाउन विद्यालयले थालेको अभियान उदाहरणीय भएको गुरुङले बताए।

बजारका खानेकुरा खाए इज्जत बढ्छ, ठूलो भइन्छ भन्ने भ्रम कतिपयमा रहेको र त्यसलाई चिर्न विद्यालयले थालेको अभियानले परिवर्तन ल्याउने आशा जागेको इटहरी– १ का वडाध्यक्ष रतन कार्कीले बताए।

कक्षा १० मा अध्ययनरत छात्रा विट्रेन कार्कीले पौष्टिक खानेकुरा छाडेर बजारका जंक फुड खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने अभियानले छोटो समयमै सफलता प्राप्त गरेको बताइन्। ‘पत्रु खानेकुराले हामी मोटोपनको सिकार मात्र भइरहेका छैनौं, शारीरिक विकासमै असर परेको छ’, उनले भनिन्।

विद्यालयले जंक फुड अर्थात् पत्रु खाना नियन्त्रण गर्न अभियान थालेपछि राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक–अभिभावक संघका सदस्यसमेत रहेका शिक्षक भुवराज पुरी लायन्समार्फत टिफिन वितरण कार्यक्रम गरिएको हो। पुरी लायन्स-लियो क्लब अफ मनकामना इटहरीका अध्यक्षसमेत हुन्। टिफिन वितरणसँगै लायन्स-लियो क्लब अफ मनकामना इटहरीले सृष्टि नेपाललाई ६ हजार रूपैयाँ छात्रवृत्ति प्रदान गरियो। विद्यार्थीका निम्ति स्टेसनरी पनि वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए।

प्रकाशित: ३० जेष्ठ २०८० ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App