१६ चैत्र २०८० शुक्रबार
शिक्षा

थाकस छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी सङ्कलन

चितवनस्थित थारु कल्याणकारिणीसभाले स्थापना गरेको छात्रवृत्ति  अक्षयकोषमा छ लाख भन्दाबढी रकम सङ्कलन भएको छ।

थारु युवालाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन उक्त सभाले विसं २०७७ भदौमा स्थापना गरेको यस कोषमा हालसम्म सहभागी १०५ जनाले   छ लाख भन्दाबढी रकम सहयोग गरेका हुन्।  

मङ्गलबार भरतपुरमा आयोजित छलफल तथा सम्मान कार्यक्रममा कोषका संयोजक जीतबहादुर महतोले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट  पाँच लाख २८ हजार भन्दाबढी सङ्कलन हुँदा प्राप्त व्याजसहित कूल रु छ लाख १० हजार नौ सय ७८ सङ्कलन भएको जानकारी दिए। उनले अक्षयकोषमा अझै धेरैको सहभागिता आवश्यक रहेकाले सहयोगका लागि आह्वानसमेत गरे।

थाकसका अध्यक्ष ललितकुमार चौधरीले अक्षयकोषबाट छिट्टै विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बताए। पछिल्लो समय थारु समुदायका युवा उच्च शिक्षा हासिल गर्न अग्रसर नरहेको देखिएकाले शिक्षामा अगाडि बढाउन सहयोग गरिने उनको भनाइ थियो। कार्यक्रममा शिक्षक कारी महतोले जिल्लाको शिक्षा क्षेत्रमा थारु समुदायले गरेको योगदानसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

उनका अनुसार शिक्षण संस्था स्थापना र सञ्चालनका लागि चितवनका थारु समुदायले ३९ बिघाभन्दा बढी जमिनसमेत सहयोग गरेका छन्।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, डा सञ्जय चौधरी, इन्टरनेशनल सेकेण्डरी स्कुल खैरहनीका प्रिन्सिपल धनवीर चौधरी, उपप्राध्यापक समिता चौधरीलगायतले थारु समुदायको शिक्षा र अक्षय कोषको बारेमा चर्चा गरेका थिए।  

प्रकाशित: २४ जेष्ठ २०८० ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App