coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

कुमाल बस्तीका बालिकालाई आधारभूत शिक्षाको समस्या

भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ। राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानी लगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा ती आधारभूत आवश्यकताबाटै बञ्चित हुँदै आएका छन्।

षडानन्द नगरपालिकाको वडा नं ६ अरुण नदी किनारमा रहेको यो बस्तीका करिब ३५ घरपरिवारलाई आधारभूत सेवा लिन नै समस्या छ। यहाँका स्थानीयलाई शिक्षा र स्वास्थ्यको सेवा लिन अत्यन्तै समस्या छ भने कतिपय परिवारको आफ्नो जमिन छैन।

भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ।

नदी किनारको बस्ती भएकाले यहाँका परिवारले कुटो, कोदालो, माटाको भाँडा तथा अरुण नदीमा माछा मारेर जीवनयापन गर्दै आएका छन्। उनीहरूलाई बिहानबेलुकाको छाक टार्नै समस्या हुने गरेको छ। गरिबीका कारण कुमाल समुदायका अधिकांश बालबालिका शिक्षाको पहुँच बाहिर रहेको स्थानीय जानकारहरूको भनाइ छ। यहाँ जनचेतना आधारभूत विद्यालयमा ३ कक्षासम्म अध्ययन हुने भए पनि बालबालिका भने कमै मात्र विद्यालय जाने गरेका छन्।

यो बस्तीमा रहेको गरिबी तथा भौगोलिक विकटताका कारण बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको दिङ्लका समाजसेवी प्रकाश पौडेलले बताए।

यो ठाउँका बालबालिकाले आधारभूत शिक्षा लिए पनि उच्च शिक्षा लिन झनै समस्या रहेको उनको भनाइ छ। त्यहाँका बालबालिकालाई संखुवासभाको तुम्लिङटार जानुपर्ने बाध्यता रहेको समाजसेवी पौडेलले बताए। संखुवासभा जान पनि अरुण नदीमा पुल नहुँदा सास्ती छ।

‘मोथेटारका बालबालिकालाई शिक्षाको सहज पहुँच छैन’, उनले भने,‘पहिलो कुरा त यहाँ अशिक्षा र गरिबी छ। केही बालबालिका विद्यालय गए पनि उच्च शिक्षा लिन उनीहरूलाई समस्या छ। उच्च शिक्षा लिन जोखिम मोलेर संखुवासभा जानुपर्ने अवस्था छ।’

अर्थाभावको समस्यालाई झेल्दै केही बालबालिकाले प्राथामिक शिक्षा हासिल गरे पनि कक्षा ५ माथिको शिक्षा हासिल गर्न धेरै समस्या रहेको सो विद्यालयकी शिक्षिका टीका श्रेष्ठले बताइन्। साना बालबालिकालाई कक्षा ३ पछिको शिक्षा लिन तीन घण्टा बढी समय लगाएर अरुण माध्यमिक विद्यालय तथा संखुवासभा जिल्ला जानुपर्ने बाध्यता रहेकाले धेरै बालबालिकाले विद्यालय छाड्ने गरेको शिक्षिका श्रेष्ठले बताइन्।

शिक्षिका श्रेष्ठले भनिन्,‘मुख्य समस्या त बालबालिका नै विद्यालय आउन मान्दैनन्। आएर कक्षा ३ पास गरेकालाई अन्य विद्यालय जान समस्या छ। सातआठ वर्षका बालबालिकालाई तीनचार घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने अवस्था छ। जसले गर्दा विद्यालय छाड्ने दर बढेको देखिन्छ।’

अर्थाभावको समस्यालाई झेल्दै केही बालबालिकाले प्राथामिक शिक्षा हासिल गरे पनि कक्षा ५ माथिको शिक्षा हासिल गर्न धेरै समस्या रहेको सो विद्यालयकी शिक्षिका टीका श्रेष्ठले बताइन्।

उनीहरूलाई संखुवासभाको तुम्लिङटार जान केही नजिक भए पनि अरुण नदीमा पुल नहुँदा जोखिम मोलेर डुंगा चढेर नदी पार गरेर विद्यालय जानुपर्ने अवस्था छ। डुंगा पनि हिउँदको समयमा मात्र चल्ने र बर्खा लागेपछि बन्द हुन्छ। अरुण नदीमा पुल नहुनु स्थानीयका लागि निकै ठूलो समस्या रहेको शिक्षिका श्रेष्ठको भनाइ छ।

राज्यले निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि यस समुदायका बालबालिकामा शिक्षाको पहुँच विस्तार हुन नसकेको देखिन्छ। परिवारका अभिभावक नै अशिक्षित भएका कारण उनीहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नमान्ने स्थानीयवासी कृष्णबहादुर कुमालले बताए।

अभिभावकले बालबालिका अलिक ठूला भएपछि आफ्नै पेसामा काम गर्न लगाउने गरेका छन्। पैतीस घर कुमाल बस्तीमा करिब ७० जनाको हाराहारीमा विद्यालय समूहका बालबालिका रहे पनि दशभन्दा बढी बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको उनको भनाइ छ।

कक्षा ३ पास गरेपछि विद्यालय छाड्ने बालबालिको संख्या अझ बढी रहेको स्थानीय कुमालले बताए।

राज्यले निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि यस समुदायका बालबालिकामा शिक्षाको पहुँच विस्तार हुन नसकेको देखिन्छ।

‘यो ठाउँमा स्वास्थ्य शिक्षा र यातायातको धेरै नै समस्या छ’, स्थानीय कुमालले भने, ‘बस्तीमा स्वास्थ्यचौकी छैन। साधारण स्वास्थ्य सेवा लिन दिङ्ला तथा संखुवासभा जानुपर्ने बाध्यता छ। बालबालिकालाई विद्यालय जान त्यस्तै समस्या छ। अर्थावस्था कमजोर छ। समस्याको बिचबाट जीवन गुजारा गर्दै आएका छौं। हाम्रो मुख्य आयस्रोत भनेको माटाको भाँडा बनाउने पेसा हो। बनेका भाँडालाई सहज रूपमा बजारसम्म लैजाने अवस्था छैन। कतिपयले अब त पेसा पनि छाडिसके।’

कुमाल समुदायमा शिक्षाको चेतना फैलाउँदै यहाँ सहज आधारभूत पुर्‍याउन पहल भइरहेको षडानन्द नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुमन विशुन्केले बताए।

खास गरेर स्थानीयमा रहेको अशिक्षाले पनि बालबालिका शिक्षाबाट वञ्चित हुने गरेको उनको भनाइ छ।

कतिपय कुमाल समुदायका मानिसले नागरिकतासमेत बनाउन नचाहने वडाध्यक्ष विशुन्केले बताए।

नागरिकता बनाउन वडाले पहल गर्दासमेत नागरिकताको काम नै छैन भन्दै बनाउन नआएको वडाध्यक्ष विशुन्केले बताए। आफ्नै पहलमा सात जनाको नागरिकता बनाइदिएको उनको भनाइ छ।

कुमाल समुदायमा शिक्षाको चेतना फैलाउँदै यहाँ सहज आधारभूत पुर्‍याउन पहल भइरहेको षडानन्द नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुमन विशुन्केले बताए।

कुमाल बस्तीमा रहेको समस्या समाधानमा नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए।

यहाँका नागरिकलाई आधारभूत आवश्यकताबाट वञ्चित हुन नदिन नगरपालिका लागिपरेको उनको भनाइ छ। ‘नगरपालिकालाई समृद्ध बनाउने अभियानमा हामी जुटेका छौं’, उनले भने, ‘अरुण नदीमा पुल नहुँदा हाम्रो उत्तरी क्षेत्र नै पछाडि परेको अवस्था छ। यहाँका प्रत्येक समस्याको समाधानमा नगरपालिकाले काम गरिरहेको छ।’

गरिबी तथा भौगोलिक विकटता कारण समस्या रहेका मानिसलाई लक्षित गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गर्ने सोच रहेको नगर उपप्रमुख प्रमिला राईले बताइन्।  

प्रकाशित: १९ जेष्ठ २०८० ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App