२७ असार २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

९ कक्षाको परिक्षा दिएर ८ कक्षामा पुगे खड्ग बहादुर डाँगी

विद्यार्थी खड्गबहादुर डाँगी।

दाङ बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का खड्गबहादुर डाँगीले मावी भेडाबारी, मुलाबारीबाट २०७५ मा ८ को परिक्षा दिए। उनि २ दशमलब ३१ जिपिएमा पास भए।

८ कक्षा परिक्षा दिएका उनि उसै बर्ष रोजगारीका लागि भारत हानिए। ३ बर्ष सम्म भारतमा रोजगार गरेर फर्केका उनले फेरी अध्ययनलाई निरन्तरता राख्ने निर्णय लिए। उनि २०७९ मा कक्षा ९ मा भर्ना भए।

‘२०७५ सालमा ८ कक्षा पास गरेको मार्कसिट र सर्टिफिकेटकै आधारमा म ९ कक्षामा भर्ना भएँ,’ उनले भने। उनि ८ कक्षा पास गरेकै मावि भेडाबारी मुलाबारीमा भर्ना भएका थिए।

गत शैक्षिक सत्रमा ९ कक्षामा भर्ना भएका उनले ९ कक्षाको परिक्षा पनि दिए। तर उनको नतिजा विद्यालयले प्रकाशन गरेन। आफ्नो नतिजा रोकिएपछि उनले विद्यालयमा सम्पर्क राखे। तर विद्यालयले जवाफ दियो ‘तिम्रो नतिजा आउँदैन, तिमी फेरी ८ कक्षामा भर्ना हुनुपर्छ।’

विद्यालयले उनलाई ८ कक्षामा गणित बिषयको नतिजा कमजोर रहेका कारण उनले रजिष्ट्रेशन फारम भर्न नपाउने कारण देखाउदै उनको नतिजा प्रकाशन गर्न नसकिएको बताउँछ।  

‘अनिवार्य गणितमा डि प्लस ग्रेड आउनु पर्ने हो, तर उनको इ मात्रै आयो,’ विद्यालयका प्रधानाध्यापक खगराज लम्सालले भने ‘गणित बिषयमा इ आएका कारण उनले एसईईको रजिष्ट्रेशन फारम भर्न नपाउने भए अनि रिजल्ट रोकियो।’

तर यसमा विद्यालयको चरम लापरवाही प्रष्ट हुन्छ। उसले ९ कक्षामा विद्यार्थी भर्ना गर्दा यो नियमलाई किन ख्याल गरेन? भन्ने प्रश्न विद्यालय माथि उब्जिएको छ। राष्ट्रिय परिक्षा बोर्डले एसईई रजिष्ट्रेशन फारमका लागि जारी गरेको निर्देशिका यो विद्यालयले अध्ययन नै गरेन। फलतः उनलाई ९ कक्षामा भर्ना गरिदियो, र परिक्षामा सहभागी समेत बनायो।

जसका कारण विद्यार्थी डाँगीको एक बर्षको समय खेर जाने भयो। राष्ट्रिय परिक्षा बोर्डले एसईई रजिष्ट्रेशन फारम भर्नका लागि जारी गरेको सूचना अनुसार २०७२ देखि २०७७ साल सम्म ८ कक्षा परिक्षा दिएका विद्यार्थीहरुको नतिजा अनिवार्य बिषयहरुमा डि प्लस ग्रेड आउनु पर्ने नियम तय गरेको थियो। यसैगरि २०७८ मा डि ग्रेड प्राप्त गरेको हुनुपर्ने उल्लेख गरेको छ। तर यो विद्यालयले भने यो नियम भन्दा बाहिर गएर २०७५ मा अनिवार्य बिषय गणितमा इ ग्रेड प्राप्त गरेका डाँगीलाई ९ कक्षामा भर्ना गरिदियो र एक बर्षको समय नोक्सान पारिदियो।

‘मैले ति विद्यार्थी माथि व्यक्तिगत रिसिईवी साँधेको हैन,’ प्रधानाध्यापक लम्साल भन्छन् ‘त्यो बेला नियम ख्यालै गरिएन।’ यता विद्यार्थी डाँगीले भने एक बर्ष सम्मको आफ्नो समय खेर गएको भन्दै यसमा बिद्यालयको दोष रहेको बताउँछन्।

‘मलाई मिल्दैन, सुरुमै ८ मा पढ् भनेको भए, म ८ कक्षामै भर्ना हुन्थे होला नि,’ उनले भने ‘मलाई ९ कक्षामा भर्ना गरियो, अनि परिक्षा पनि दिएँ, तर अहिले बल्ल मिल्दैन भनिदिएपछि मेरो एक बर्ष त त्यतिकै खेर गयो नि।’

यता जिल्ला शिक्षा समन्वय एकाईले पनि विद्यार्थी भर्नाका क्रममा विद्यालयबाटै ठूलो त्रुटी भएको दाबी गर्छ। राष्ट्रिय परिक्षा बोर्डले जारी गरेको सूचनाको मापदण्डमा नरहेर विद्यार्थी भर्ना गरिनु विद्यालयकै कमजोरी रहेको एकाई प्रमुख देवमणी चौधरी बताउँछन्।

‘एसईईको रजिष्ट्रेशन फारम भर्नका लागि ८ कक्षाको नतिजा कस्तो हुनुपर्छ र के के चाहिन्छ भनेर राष्ट्रिय परिक्षा बोर्डले स्पष्ट नियम लागु गरेको हुन्छ,’ चौधरीले भने ‘तर यो मापदण्ड भित्र नरहेर हचुवामा ९ कक्षामा विद्यार्थी भर्ना गरिनु त विद्यालयकै कमजोरी हो नि।’

विद्यार्थी डाँगीको बिषयमा भने उनले पुनः ८ कक्षाबाटै अध्ययन गरेर राष्ट्रिय परिक्षा बोर्डले तोकेको ग्रेड अनिवार्य रुपमा प्राप्त गर्नै पर्ने बताउँछन्। ‘अब उनले (डाँगीले) फेरी ८ कक्षामै भर्ना भएर पढ्नुको बिकल्पै रहेन,’ उनले भने ‘राष्ट्रिय परिक्षा बोर्डले लागु गरेको नियमा भन्दा बाहिर बाट त कसरी रजिट्रेशन फारम भर्न मिल्छ, यो त मिल्ने कुरै भएन।’

यता विद्यालयको कमजोरीका कारण विद्यार्थीको भविष्य माथि खेलवाड गर्न खोजिएको भन्दै नेपाल विद्यार्थी संघले यो घटना प्रति चासो राखेको छ।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले यो घटनाको छानवीन गरि विद्यार्थीलाई अध्ययनको सहज वातावरण निर्माणका लागि पहल गर्न गाउँपालकाको शिक्षा शाखालाई आग्रह गरेका छन्।

प्रकाशित: १० वैशाख २०८० १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App