३० वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

शैक्षिक भ्रमणको रकमले तीर्थयात्रा

मुस्ताङको मुक्तिनाथ भ्रमणपछि सामूहिक तस्बिर खिचाउँदै शैक्षिक भ्रमण टोली ।

दैलेख सदरमुकामस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयले शैक्षिक अवलोकन भ्रमणका नाममा रहेको सात लाख रकम तीर्थयात्रा गराएर स्वाहा पारेको छ। विद्यालयले शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र नारायण नगरपालिकाका कर्मचारी, पूर्वजनप्रतिनिधि र आफन्तलाई पोखरा, मुस्ताङलगायतका जिल्लामा तीर्थयात्रा गराएर ७ लाख रकम सकेको हो।

देशमा आर्थिक संकट चुलिँदै गएका बेला नेपाल सरकारले फर्जुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि विद्यालयले मनपरी खर्च गरेको हो। शैक्षिक अवलोकन भ्रमणको उद्देश्य एकातिर र भ्रमण अर्कातिर गरेर फर्जुल खर्च गरेको भन्दै अभिभावक आक्रोशित छन्। ‘विद्यालयको शैक्षिक अवस्था दयनीय छ। एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘विद्यालयको शैक्षिक गुणस्तर बर्सेनि खस्कँदो छ। शैक्षिक भ्रमणका नाममा तीर्थयात्रा गरेर लाखौं रकम सके।’

दैलेखबाट निस्किएको भ्रमण टोली शैक्षिक क्षेत्रभन्दा पनि पर्यटकीय क्षेत्र घुम्दै मुस्ताङको मुक्तिनाथसम्म तीर्थयात्रा गरेर फर्किएको थियो। भ्रमणमा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल, उनकी श्रीमतीसहित नगरपालिकाका कर्मचारी, पूर्वजनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यालयका शिक्षक, कर्मचारीहरू सरकारी पैसामा भ्रमण गर्न निस्किएको थियो। जिल्लामा विद्यार्थी भर्ना अभियान सुरु भइरहँदा विद्यालयका प्राध्यानाध्यापक निरकबहादुर तारामी शैक्षिक भ्रमणका नाममा ७ लाख रूपैयाँ सरकारी बजेट सक्न मुक्तिनाथ दर्शन गर्न पुगे। विद्यालयका प्रधानाध्यापक तारामीले शैक्षिक अवलोकन भ्रमणका लागि ७ लाख बजेट छुट्टयाइएको र विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयका शिक्षक, विद्यार्थी, विव्यस पदाधिकारी र शिक्षासँग सम्बन्धित व्यक्ति जाने निर्णयअनुसार गरिएको बताए।

प्रकाशित: ५ वैशाख २०८० ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App