६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

विद्यार्थी अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण हुन नपाउने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालयले परीक्षा र स्थानान्तरणमा ब्यवस्थापन गर्ने भन्दै विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालयले निजी कलेजमा भर्ना भएका विद्यार्थी अबदेखि आंगिक कलेजहरुमा  बिचैमा स्थानान्तरण हुन नपाउने निर्णय गरेको हो।

परीक्षा तथा स्थानान्तरण ब्यवस्थामा सुधार गर्ने भन्दै विश्वविद्यालयको प्राज्ञिक परिषदको फागुन २८ को निर्णयले विद्यार्थीलाई  अन्तर कलेज र अन्तर जिज्लामा रोक लगाएको हो।

त्रिवि प्राज्ञिक परिषदको फागुन २८ गतेको निर्णयको बुँदा नम्बर ९९मा आंगिक क्याम्पसबाट आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजबाट सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै स्थानान्तरण गर्न पाइने ब्यवस्था गरेको छ। ‘जुनसुकै अवस्थामा पनि आंगिक क्याम्पस बाहेक अन्य क्याम्पसहरुमा एउटै जिल्लाभित्र स्थानान्तरण गर्न नपाइने ’ त्रिविको निर्णयमा उल्लेख छ ‘प्रथम  र अन्तिम वर्ष/ सेमेष्टरमा स्थानान्तरण गर्न नपाउने। तर आंगिक क्याम्पसहरुमा ऐक्षिक विषय छनौट र प्रयोगशालाको ब्यवस्थापनको कारणले यस निर्णयले प्राविधिक समस्या उत्पन्न हुने भएमा अन्तिम वर्ष ÷ सेमेष्टरमा स्थानान्तरण गर्न पाउने वा नपाउने सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार सम्बन्धित डीनलाई हुने छ।’ सोही निर्णयमा थप ब्यवस्था गरिएको छ ‘यस ब्यवस्था बाहेक अन्य ढंगले भए गरेका सबै स्थानान्तरण र नियम विपरित स्थानान्तरण भएका क्याम्पसबाट दिएका परीक्षाहरु स्वत रद्द हुने छ।’

त्रिविका शिक्षा अध्यक्ष शिवलाला भूषालले विश्वविद्यालयका विद्यार्थीहरुमा परीक्षाको समयममा चिट चोर्ने विकृति रोक्न र विद्यार्थीलाई आंगिक कलेजमै टिकाइ राख्न त्रिविले स्थानान्तरणमा नयाँ ब्यवस्था गरेको दाबी गरे। ‘पहिले निजी मा भर्ना हुने पछि त्रिविको प्रमाणपत्र मात्र लिने उदेश्यले पनि विद्यार्थीले आंगिक कलेजमा स्थानान्तराण गरेको पाइयो। यति मात्र होइन भर्ना एउटा कलेजमा गर्ने पछि परीक्षको समयमा चिट चोर्न पाउने कलेजमा स्थानान्तरण गर्ने विकृति पनि पाइयो,’ शिक्षाध्यक्ष भूषालले नागरिकसँग भने ‘सुरुमा निजीमा भर्ना हुने अनि पढाइको बिचमा सरकारीमा भर्ना हुने गलत प्रबृति देखियो । पैसा जति निजीमा बुझाएर सरकारीमा प्रमाणपत्र मात्र लिन आउने विकृति रोक्न स्थानान्तराण्मा ब्यवस्थापन गर्न खोजिएको हो।’

तर त्रिविको यस्तो निर्णयलाई शिक्षाविद् तथा विद्यार्थीहरुले त्रिविले विद्यार्थीलाई अंकुश लगाउन खोजेको प्रतिक्रिया दिएका छन्। शिक्षाविद् विद्यानाथ कोइरालाले विश्व समुदाय शिक्षा क्षेत्रमा खुल्दै गएको समयमा त्रिविका पदाधिकारीले स्थानान्तरणको सवालमा विद्यार्थीलाई खुम्च्याउने खालको निर्णय गरि विद्यार्थीमाथि अंकुश लगाएको जनाए। ‘विदेशी विश्वविद्यालका विद्यार्थीहरु भर्ना भएपछि विभिन्न देशमा गएर विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर संयुक्त रुपमा विद्यावारिधिको डिग्री प्राप्त गर्छन,’ शिक्षाविद् कोइरालाले नागरिकसँग भने ‘अबको २१ औं शताब्दीमा त्रिविको यो निर्णय विद्यार्थीको हितमा हुदै भएन। बरु त्रिविले विद्यार्थीले रहर गरेको माध्यम र कलेजमा अध्ययन गर्न र रोज्न पाउने निति नियम बनाउनु पर्छ। विद्यार्थीले चाहेको ठाउ र कलेजमा पढ्न पाउनु पर्छ।’ उनले थपे ‘त्रिविले आफनो प्रश्नपत्र चिट चोर्न नसक्ने खालको बनाउन सक्नु पर्छ। विद्यार्थीको क्षमता विकासमा जोड दिनु पर्छ। सुरुमा निजीमा भर्ना भए पनि पछि पढ्न नसक्ने अवस्था हुन सक्छ । उसले आंगिकमा पढ्न पाउने ब्यवस्था गर्नु पर्छ।’

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववीयु सभापति श्यामराज ओझाले जथाभावी स्थानान्तरणले आंगिक र सामुदायिक कलेजहरुमा विद्यार्थी घट्ने विकृति बढेकोले त्रिविको निर्णय केहि हकसम्म ठिक भएको भए पनि निजीबाट आंगिकमा आउने बाटो खुला गर्नु पर्ने जोड दिए। ‘त्रिवि भित्र आंगिक र सामुदायिकमा विद्यार्थी भर्ना हुने र पछि शिक्षकहरुको आफनो निजी कलेज भएकोले षड्यन्त्रपुर्वक विद्यार्थी निजीमा लाने विकृति पछिलो समय बढेको अवस्थामा त्रिविको निर्णय केहि हदसम्म ठिक छ,’ सभापति ओझाले भने ‘तर निजीबाट समस्या भएर सामुदायिक तथा आंगिक कलेजमा आउन चाहने विद्यार्थीलाई रोक्नु हुदैन। यस सवालमा निजीबाट आंगिकमा आउने स्थानान्तरणको बाटो खुलाउनु पर्छ।’

अनेरास्ववीयुको नेता मदन विष्टका अनुसार त्रिविले निजी कलेजको दबाबमा आएर विद्यार्थीको हित विपरित स्थानान्तरणको निर्णय विद्यार्थीले सहन नसक्ने प्रतिक्रिया दिए। ‘काम गर्दै पढ्ने विद्यार्थीको सवालमा जिल्ला भित्रै स्थानान्तरण गर्नु पर्ने अवस्था हुन्छ । यो रोक्नु गलत हो,’ नेता विष्टले भने ‘यसैगरी सुरुमा हैसियत भएर निजीमा भर्ना हुने विद्यार्थीको पछि आर्थिक अवस्था कमजोर पनि हुन्छ । यस्तो अवस्थामा निजीबाट लआंगिकमा रोक लगानु विद्यार्थीको हितमा कदापि हुदैन।’ उनले थपे‘त्रिविले निजीबाट आंगिकमा स्थानान्तराण्को बाटो खोल्नु पर्छ।’

प्रकाशित: २६ चैत्र २०७९ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App