१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

विद्यालयतहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै

सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण विद्यालय तहका बालबालिकामा मनोसामाजिक  समस्या बढ्दै गएको छ।  

कोभिड १९ को महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठनपाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको प्रयोगमा लत बस्दै गएकाले त्यसको नकारात्मक असर बालबालिकाहरुमा देखिन थालेको विज्ञहरुले बताएका हुन्।शिक्षाविद् डाक्टर राजकुमार ढुंगानाले कोभिड १९ पछि बालबालिकामा मोबाइल प्रयोगको लत बढेका कारण उनीहरुमा मनोसामाजिक समस्या देखिएको बताएका छन्।

सामाजिक सञ्जालमा आउने सकारात्मक र नकारात्मक कुराहरुको चयन गर्न नसक्नु तथा शिक्षाप्रति अभिभावक तथा विद्यालयको दबाब बढ्नु लगायतले पनि बालबालिकाहरु अनावश्यक दबाबमा पर्ने गरेको टिप्पणी उनले गरे। विद्यालयतहका बालबालिकामा अध्ययनको रुची घट्दै जानुले समग्र शिक्षा क्षेत्रमा डरलाग्दो खतराको संकेत गरेको उहाँले बताउनु भयो। कोभिडपछि प्रविधिलाई उपयुक्त तरिकाले प्रयोग गर्ने सीपको कमीले समेत बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेकाले त्यसबारे सबै सरोकारवाला गम्भिर हुनुपर्ने उनले बताए। 

शिक्षाविद् ढुंगेलले विद्यालयस्तरबाटै बालबालिकाकालाई मनोसामाजिक परामर्श सेवा दिनुपर्नेमा जोड दिए। अभिभावकहरुले विद्यार्थीलाई उच्चतम अंक ल्याउन दबाब दिनु सामाजिक अपराध भएको उल्लेख गर्दै उनले भने  त्यस्तो काम रोकिनु पर्दछ।

विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले पनि कोभिड–१९ महामारीपछि विद्यार्थीमा इन्टरनेट प्रयोगको लत बसेको बताए। विद्यार्थीहरुमा एकोहोरो हुने, आक्रमक बन्ने, धेरै मोबाइल चलाउँदा आँखा रातो हुने, दुब्लो हुने तथा मानसिक स्वास्थ्यमा समेत समस्या देखिएपछि मनोसामाजिक परामर्श दिने गरिएको बताए।  

चिकित्सकहरुले पनि इन्टरनेट प्रयोगका कारण बालबालिकाहरुमा अनिद्राको समस्या डरलाग्दो रुपमा देखिएको बताएका छन्। अल्का अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डे सामाजिक सञ्जालमा हुने नकारात्मक कुराहरुका कारण बालबालिकाको रचनात्मक क्षमता घट्नुको साथै मनोसामाजिक समस्या देखा पर्न थालेको बताउँछन।डा. पाण्डेले मनोरोगको समस्यालाई बेलैमा पहिचान गरी निदानको उपाय अपनाउनुपर्नेमा जोड दिन्छन्।

प्रकाशित: १९ चैत्र २०७९ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App