७ वैशाख २०८१ शुक्रबार
शिक्षा

उदयपुरमा एसइईमा छात्रा परीक्षार्थी बढी, सबै केन्द्रमा शान्तिपूर्ण

यसवर्षको विद्यालय शिक्षा परीक्षा (एसइई) दिने परीक्षार्थीहरुमा उदयपुरमा छात्रभन्दा छात्राको संख्या बढी छ। शुक्रबार बिहान ८ः०० बजेदेखि सुरु भएको एसइई मा छात्रभन्दा ४ सय २९ जना बढी छात्रा परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ।  

इकाई प्रमुख बाबुराम पोखरेलका अनुसार यस वर्षको एसइई मा ३ हजार ३ सय ११ छात्रा सहभागी हुँदै छन् भने छात्रको संख्या २ हजार ८ सय ८२ मात्र रहेको छ। जसमा नियमिततर्फ ५ हजार ८ सय ५९, प्राविधिकतर्फ १ सय ८४ र ग्रेडबृद्धितर्फ १ सय ५० जना गरी जम्मा परीक्षार्थी संख्या ६ हजार १ सय ९३ जना छन् । जिल्ला भरी २५ वटा परीक्षा केन्द्र रहेकोमा त्रियुगा नगरपालिकामा ९ वटा, कटारीमा ४, चौदण्डीगढीमा ४ र बेलकामा ३ वटा केन्द्र रहेका छन्।  

गाउँपालिकातर्फ उदयपुरगढीमा २, ताप्ली, लिमचुङबुङ र रौतामाई गाउँपालिकामा १–१ केन्द्र तोकिएको इकाई प्रमुख पोखरेलले बताए। पोखरेलका अनुसार २५ वटा केन्द्रमा सञ्चालन हुने परीक्षाका लागि सुरक्षाकर्मीबाहेक २५ जना केन्द्राध्यक्षसहित ५ सय ७७ जना कर्मचारी परिचालन हुनेछन्। जसमा सहायक केन्द्राध्यक्ष ४१ जना रहेका छन् भने निरीक्षक ३ सय १८, परीक्षा सहायक ६२ र कार्यालय सहयोगी १ सय ३१ जना छन्। 

चैत १७ देखि सुरु भएर २९ गते सकिने यस वर्षको परीक्षामा सुरक्षाकर्मी भने प्रति केन्द्र न्यूनतम १० जनादेखि आवश्यकता अनुसार दोब्बरसम्म संख्यामा परिचालन हुने प्रमुख पोखरेलले बताएका छन्। प्रारम्भिक जानकारी अनुसार पहिलो दिन जिल्लाका सबै केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताएका छन्।  

प्रकाशित: १७ चैत्र २०७९ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App