जुम्लाको हिमा गाउँपालिका ५ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको गाउँपालिकाले घोषणा गरेको छ।
वडाभित्र रहेका ४ देखि १६ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेका हुन्। कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको भन्दै शुक्रबार शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको वडाका रुपमा हिमा ५ लाई घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सबै बालबालिका विद्यालयमा भर्ना भएपछि वडालाई नै सोही अनुसार घोषणा गरिएको बताए।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले संयुक्त रुपमा सबै बालबालिका विद्यालय भर्ना भएको वडाका रुपमा हिमा ५ लाई घोषणा गरेका हुन्। जुम्लाको शैक्षिक क्षेत्रको अवस्था दिनप्रतिदिन सुध्रिँदै गएको संकेत देखिएको उनीहरूको भनाइ छ।
हिमा ५ मा बाँजागाड र बुअ दुई गाउँ छन्। रुपाकोट आधारभूत विद्यालय बाँजागाड र कालिका माध्यमिक विद्यालयमा शतप्रतिशत बालबालिका भर्ना भएको पालिका अध्यक्ष शाहीले बताए।
उनले भने, वडाभित्र तीन सय ३० घर छन्। सबै घरका बालबालिका विद्यालयसम्म पुगेका छन्। यो शिक्षा क्षेत्रमा देखिएको सुखद लक्षण हो। हिमा गाउँपालिका र किर्डाक नेपालको समन्वयमा विद्यालय भर्ना अभियान सुरु भएदेखि नै बालबालिका विद्यालयको पहुँचमा पुर्याउन विभिन्न क्रियाकलाप गरिएको थियो। गत माघ २५ देखि विद्यालय भर्ना अभियान सुरु भएकोमा प्रत्येक बालबालिकाको घर-घरमा पुगेर विद्यालय बालबालिका पठाउन हरेक अभिभावकलाई आग्रह गरिएको थियो। कालिका माविमा ६ सय ३० जना विद्यार्थी भर्ना भएकामा रुपाकोट आधारभूत विद्यालयमा २ सय ८३ विद्यार्थी भर्ना भएका हुन्।
यससँगै ४ वर्षदेखि माथि १६ वर्षदेखि मुनि उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन्। हिमाको शिक्षा शाखाका कर्मचारीहरु, शिक्षकहरु, किर्डाक नेपालका कर्मचारीहरु र जनप्रतिनिधिहरू प्रत्येक घरदैलोमा पुगेर अभिभावकलाई शैक्षिक चेतना जागृत गराएका थिए। फलस्वरूप सबै बालबालिका विद्यालयको पहुँचमा पुर्याउने वडाको रुपमा चिनिएको जनप्रतिनिधिहरूले बताए।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कुनै पनि बालबालिका विद्यालय बाहिर हुन नदिनु अहिलेको अपरिहार्यता भएको बताए। बालबालिका विद्यालय भर्ना भएर मात्रै नहुने भन्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा जिम्मेवार बन्नसमेत आग्रह गरेका थिए। प्रमुख जिल्ला अधिकारी केसरीले अब विद्यालयको पहुँचमा सबै बालबालिका पुग्नुपर्ने अभियान जिल्लाभर चलाइनुपर्नेमा जोड दिए।
उनले शिक्षकको सक्रियता, विद्यार्थीको लगनशीलता र अभिभावकको बालबालिका प्रतिको चिन्ताले मात्रै गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने बताए।
प्रकाशित: ४ चैत्र २०७९ १७:०७ शनिबार