७ वैशाख २०८१ शुक्रबार
शिक्षा

इलाम क्याम्पसमा स्ववियु निर्वाचनः स्वतन्त्र प्यानलको १६ बुँदे प्रतिबद्धता

आउँदो चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्रतिबद्धता सार्वजनिक गर्दै स्वतन्त्र प्यानलका विद्यार्थी। तस्बिरः भीम-नागरिक

आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी प्यानलले एजेन्डा सार्वजनिक गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)को प्यानलले पत्रकार सम्मेलन आयोजना गरी १६ बुँदे ‘साझा प्रतिबद्धता’ गरेको हो।  

प्यानलका अध्यक्ष उम्मेदवार दर्शन कुलुङ राई, उपाध्यक्ष (समावेशी) उम्मेदवार सुशान्त चापागाईं, सचिव उम्मेदवार राजेन्द्र विक र कोषाध्यक्ष उम्मेदवार विशाल कार्कीसहित यसमा आबद्ध विद्यार्थी संघ–संगठनका नेताले पत्रकार सम्मेलनमार्फत् संयुक्त रूपमा ‘साझा प्रतिबद्धता’ सार्वजनिक गरे। क्याम्पसमा हुने नियुक्तिलाई राजनीतिक भागबन्डा हुनबाट जोगाउनेदेखि विद्यार्थी सम्मानसम्मका एजेन्डा प्रतिबद्धतामा समेटिएका छन्।  

‘राजनीतिक भागबन्डाबाट मुक्ति–खुला प्रतिस्पर्धाबाट नियुक्ति’, ‘विद्यार्थीलाई रोजगारी हाम्रो माग–मरब क्याम्पसमा रोजगारी व्यवस्थापन विभाग’, समयसापेक्ष नवीनतन् शिक्षासहित पाठ्यक्रम–प्रविधि र उद्यमशीलतासँग जोड्ने कार्यक्रम’, र ‘प्रतिभा प्रोत्साहन सप्ताहमार्फत् क्याम्पस आइडल घोषणा–खेलकुद, साहित्य, लेखन, गीत–संगीत, नृत्य, नाट्य विधामा विद्यार्थी बन्नेछन् प्रेरणा’जस्ता प्रतिबद्धता गरिएको छ।  

यस्तै, ‘मरबमा स्ववियुको आफ्नै युट्युब च्यानल–फोटोग्राफी, भिडियो इडिटिङ, तालिमसहित अतिरिक्त शैक्षिक कक्षा सञ्चालन’, ‘त्रैमासिक शैक्षिक बहसबाट समस्या संकलन–समाधान खोज्नलाई विज्ञसहितको शैक्षिक सम्मेलन’, ‘अध्ययन÷अध्यापनको तीन सिफ्ट–विद्यार्थी पढ्ने कलेजबाटै ट्रान्सकिप्ट’, ‘नियमित पठनपाठन गर्ने जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन–वार्षिक रूपमा सबै संकाय र तहको उत्कृष्ट विद्यार्थी सम्मान’जस्ता प्रतिबद्धतासमेत विद्यार्थीले व्यक्त गरेका छन्।  

यसबाहेक प्रशानिक ढिलासुस्ती अन्त्य गर्ने, इन्डोर खेलका लागि व्यवस्थित कभर्ड हल, शोधपत्र लेखनका लागि तालिम÷छलफल, अनुभवका लागि विद्यार्थीलाई तीन महिने इन्टर्नसिप, विपन्न विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, क्याम्पसमै सेनिटरी प्याडसहितको महिला कक्षलगायतका विषयमा पनि यो प्यानलले प्रतिबद्धता व्यक्त गरेको छ।  

निर्वाचनका लागि गठित कार्यदलका संयोजक तथा अनेरास्ववियुका नेता मिलन खत्रीले यो प्यानलले गरेको सबै प्रतिबद्धता पूरा गर्न सकिने बताए। ‘यो प्यानल निर्वाचित भएमा हामीले गरेका प्रतिबद्धता सबै पूरा गर्न सकिन्छ, हामीले पूरा गर्न नसकिने प्रतिबद्धता व्यक्त गरेकै छैनौं,’ उनले भने, ‘वर्षाैंदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुँदा क्याम्पसको पठनपाठनदेखि व्यवस्थापनसम्म चौतर्फी समस्या छन्, हामीले तिनै समस्या समाधान गर्न खोजेका हौं।’  

उनले राष्ट्रिय राजनीतिमा जुनसुकै दलको गठबन्धन भएपनि इलाम क्याम्पसमा स्थानीय आवश्यकताअनुसारको गठबन्धन निर्माण भएको बताए। ‘यो प्यानलमा विद्यार्थीका साझा समस्या समाधानमा क्रियाशील विद्यार्थी संघ–संगठन आबद्ध छन्,’ उनले भने, ‘स्ववियु निर्वाचन नभएको अवस्थामा पनि हामी निरन्तर विद्यार्थीको हक–हितमा लागिरहेका छौं।’ पत्रकार सम्मेलनमा उम्मेदवारहरू, प्यानलमा आबद्ध विभिन्न संगठनका केन्द्रीय सदस्य, जिल्ला कमिटी र क्याम्पस कमिटीका पदाधिकारी–सदस्यलगायतको सहभागीता थियो।  

चैत ५ मा हुने निर्वाचनमा स्वतन्त्र विद्यार्थी प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार अनेरास्ववियुका दर्शन कुलुङ राई छन्। उपाध्यक्षमा अनेरास्ववियुकै सुशान्त चापागाईं (समानुपातिक), सचिवमा अखिल क्रान्तिकारीका राजेन्द्र लोहार, सहसचिवमा अखिल (क्रान्तिकारी)कै रेविका राई (समानुपातिक) र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीले उम्मेदवारी दिएका छन्। प्रत्यक्षतर्फका सदस्यमा गोपीराज लिम्बू, बबिता खनाल, मनिषा दुलाल, ज्ञानेन्द्र चापागाईं, शम्भू राई, पुष्कर बोहोरा र उज्ज्वल पौडेलले उम्मेदवारी दिएका छन्।  

निर्वाचन समितिका अनुसार स्ववियुको १९ सदस्यीय कार्य समितिमा प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष र ७ सदस्य निर्वाचित हुनेछन्। उपाध्यक्ष, सहसचिव र ७ सदस्य समानुपातिकबाट आउनेछन्। मतपत्रमा प्रत्यक्षतर्फ उम्मेदवारको नामको छेउमा र समानुपातिकतर्फ विद्यार्थी संगठनको नामको छेउमा रेजा लगाएर मतदान गर्ने व्यवस्था छ।

नेपाली कांगे्रसनिकट नेपाल विद्यार्थी संघ, नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियू र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले लोकतान्त्रिक समाजवादी प्यानल बनाएका छन्। यो प्यानलबाट अध्यक्षमा नेविसंघका याकु राई, उपाध्यक्षमा नेविसंघकै रोहन भट्टराई (समानुपातिक), सचिवमा अनेरास्ववियूका किरण गौतम र कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी निवाता राई उम्मेदवार छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट अनेरास्ववियु (क्रान्तिकारी)ले अध्यक्षमा उम्मेदवारी दिएको छ। 

प्रकाशित: २ चैत्र २०७९ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App