१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

कृषिविज्ञान पढाइमा विद्यार्थीको आकर्षण

इलाम नगरपालिका–९ स्थित इलाम सामुदायिक कृषि क्याम्पस।

सदरमुकामस्थित इलाम सामुदायिक कृषि क्याम्पसमा बिएस्सी अनर्स एग्रिकल्चर कक्षा सुरु भएपछि टाढा–टाढाका विद्यार्थी आकर्षित भएका छन्। ८ सेमेस्टरको ४ वर्षे कोर्स पढ्न इलामसहित देशका विभिन्न जिल्लाबाट विद्यार्थी आएका हुन्।  

इलाम नगरपालिकाले गतवर्ष स्थापना गरेको यो क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको पहिलो सामुदायिक र स्थानीय तहहरूले सञ्चालन गरेको कृषि क्याम्पस हो। सामुदायिक क्याम्पस भएकाले पूर्वाञ्चल विश्वविद्यालयका अन्य क्याम्पसभन्दा कम शुल्कमा महŒवपूर्ण विषय पढ्न पाउने भएपछि विद्यार्थीको आकर्षण बढेको हो। गतवर्ष पढाइ सुरु गर्दा पहिलो सेमेस्टरमा ४८ जनाको कोटा पूर्ण भएको क्याम्पस प्रमुख डा.योगेन्द्रमान श्रेष्ठले बताए। ‘यो वर्ष पनि ४८ जनाकै कोटामा ३८ भन्दा बढी विद्यार्थी भर्ना भइसकेका छन्,’ उनले भने, ‘यहाँ इलाम, झापा, मोरङ, नवलपरासी, हुम्ला, कालिकोट, गोरखालगायत जिल्लाबाट विद्यार्थी आएका छन्।’  

पूर्वाञ्चल विश्वविद्यालयको फ्याकल्टी अफ् साइन्स एन्ड टेक्नोलोजीको प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थी यहाँ भर्नायोग्य हुन्छन्। अहिले विद्यार्थी भर्नाक्रम चलिरहेको र यो पटक पनि कोटा पूर्ण हुने विश्वास रहेको क्याम्पस प्रमुख डा.श्रेष्ठले बताए। ८ सेमेस्टरमध्ये ७ सम्म जनरल कृषि पढाइ हुने क्याम्पसमा आठौं सेमेस्टर चाहिँ विशिष्टीकृत अर्थात् पूरै इन्टर्नसिप हुने गरी पाठ्यक्र डिजाइन गरिएको उनको भनाइ छ । अन्य क्याम्पसमा यही कोर्स अध्ययन गर्न साढे ६ लाख रूपैयाँभन्दा बढी लाग्ने गरे पनि यहाँ ४ लाख रूपैयाँमा पढाइ हुने क्याम्पसले जनाएको छ। ‘सर्वसाधारण र गरिब किसानका छोरा–छोरीको समेत पहुँच पुगोस् भन्ने उद्देश्यले यहाँको पढाइ शुल्क सहुलियतदरमा राखिएको छ,’ उनले भने, ‘त्यसैअनुुसार विद्यार्थीको आकर्षण पनि छ।’ क्याम्पसमा ४ अध्यापक कार्यरत छन् भने आंशिक कक्षा सञ्चालनका लागि महेन्द्ररत्न बहुमुखी क्याम्पसका अध्यापकले सघाउने गरेका छन्। ‘इलाम नगरपालिकाले भौतिक पूर्वाधारमा लगानी गरेको छ तर विद्यार्थीबाटै उठेको शुल्कले क्याम्पस सञ्चालन खर्च पुग्दैछ,’ प्रमुख डा. श्रेष्ठले भने।यहाँ पढाइ भइरहेको बिएससी अनर्स एग्रिकल्चर लोकसेवा आयोगबाटसमेत मान्यताप्राप्त छ। यहाँ पढेको विद्यार्थीले अधिकतर विषयमा लोकसेवाको परीक्षामा प्रतिस्पर्धा गर्न पाउने उनले बताए। कोर्स पूरा गर्ने क्रममा आठौं सेमेस्टरमा ‘पेड इन्टर्नसिप’मा जान पाउने विद्यार्थीले चाहिँ पढाइसँगै आम्दानी पनि गर्ने मौका पाउनेछन् ।  

विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि अहिले १७ रोपनी जमिन छ भने थप १० रोपनी लिजमा लिइएको छ। क्याम्पसको आफ्नै भवन नभएकाले नगरपालिकाले बसपार्कका लागि निर्माण गरेको भवनमा कक्षा सञ्चालन हुनेगरेको छ। ‘यसको पूर्वाधार विकास क्रमशः हुँदैछ,’ प्रमुख डा.श्रेष्ठ भन्छन्, ‘२ वर्षपछि यहाँ स्नातकोत्तर तहको पनि पढाइ सुरु हुने भएकाले थप पूर्वाधार र आवश्यक जग्गा व्यवस्थापनको योजना बनाउँदैछौं।’ क्याम्पसमा प्रयोगशाला स्थापना गरिएको छ।  

छात्रवृत्तिमा पालिका उदासीन

इलाम जिल्ला कृषि क्षेत्रमा सम्भावनायुक्त भएकाले कृषि प्राविधिक उत्पादनका लागि इलाम नगरले यसअघिकै जनप्रतिनिधिको कार्यकालमा यो क्याम्पस स्थापना गरेको हो। प्रतिनिधिसभा सदस्य तथा इलामका निवर्तमान मेयर महेश बस्नेतले स्थानीय तहमा कृषिको दक्ष जनशक्ति सधैं अभाव भइरहने समस्या समाधानका लागि जिल्लामै कृषि क्याम्पस स्थापना गर्नुपरेको बताए।  

‘इलामसहित विभिन्न जिल्लाका विद्यार्थी कृषि विषय पढ्न इच्छुक भए पनि सहुलियतमा पढ्ने अवसर थिएन,’ उनले भने, ‘यो क्याम्पस इलाम नगरले मात्रै होइन, जिल्लाका अन्य पालिकासँगसमेत समन्वय गरी स्थापना गरिएको थियो।’

क्याम्पस स्थापना गर्दा प्रत्येक पालिकाले आफूलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि केही विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने भनेर छलफल गरेका थिए। क्याम्पसले त्यसका लागि पालिकाहरूलाई पत्राचार गरी समन्वय र्ने प्रयाससमेत गरेको थियो। क्याम्पस स्थापना गर्ने स्वयम् इलाम नगरपालिकाले समेत एक जना विद्यार्थीलाई पनि यहाँ अध्ययनका लागि छात्रवृत्ति दिएको छैन। जिल्लाका अन्य ९ पालिकाले पनि यहाँ पढ्ने विद्यार्थी नपठाएको क्याम्पसले जनाएको छ। ‘बरु, अरू जिल्लाका पालिकाले चाहिँ छात्रवृत्तिमा यहाँ विद्यार्थी पढाइरहेका छन्,’ प्रमुख श्रेष्ठले भने, ‘कृषि क्षेत्र सधैं ठूलो सम्भावनाको क्षेत्र हो भन्ने बुझाइ इलाममा चाहिँ कमै देखियो।’  

मोरङको कानेपोखरी गाउँपालिकाले यहाँ एकैपटक ९ विद्यार्थीलाई छात्रवृत्तिमा पढाउँदैछ। ‘गतवर्ष देशभरका ४८ विद्यार्थी भर्ना भएकामा इलामका ९ जना थिए,’ डा. श्रेष्ठले भने, ‘इलामका कसैले छात्रवृत्ति पाएनन् तर कानेपोखरी (एउटै गाउँपालिका)ले ९ जनालाई छात्रवृत्ति दिएको छ।’ अहिले जिल्लाका अधिकतर स्थानीय तहका कृषि शाखामा दक्ष जनशक्ति अभाव छ। कतिपय पालिकामा कार्यरत जनशक्ति नै कम शैक्षिक योग्यताको छ तर कृषिमा दक्ष र योग्य जनशक्ति उत्पादनमा पालिकाले चाहिँ चासो देखाउन सकेका छैनन्।  

प्रकाशित: २३ फाल्गुन २०७९ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App