१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

रौटहटको यमुनामाई गाउँपालिका-३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका-५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म पढाए। विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आएका हुन्।

आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रूपमा नियुक्त गरेका थिए। जिल्ला सदरमुकाम बेनीदेखि हिंडेर दुई दिनमा विद्यालय पुगेका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाइँलाई बिट मार्ने सोच बनाए। तर, विद्यालयमा अध्यापन गर्दै जाँदा उनले तीन दशक एउटै विद्यालयमा बिताए।

आलमले पढाउन थालेपछि २०५१ सालदेखि ९कक्षाको पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तरवृद्धि गरिएको थियो। २०५७ सालदेखि विद्यालयमा उनले प्रधानाध्यापकको जिम्मेवारी समेत बहन गरे। उनी आगामी २०८० असोज ३ गतेदेखि अनिवार्य अवकाश लिंदै छन्। आलमको योगदानको कदर गर्दै स्थानीयवासी र पूर्व विद्यार्थीले भव्य सम्मान गरेका छन्।

विद्यालयका पूर्व विद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई एक लाख रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ। विद्यालयमा हालै आयोजित एक समारोहमा मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले उनलाई नगदसहित सम्मानपत्र प्रदान गरे। ‘विद्यालयको स्तरवृद्धि गरी शिक्षण पेशाका माध्यमबाट आलमले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको हो’, अध्यक्ष छन्त्यालले भने।

सम्मान ग्रहणपछि प्रअ आलमले गाउँलेको अपार मायाले आफूले दुर्गमको दुःख भुलेर शिक्षणमा रमाएरै तीन दशक बिताएको बताए। ‘वर्षौंसम्म पैदल हिंडेर पहाडको स्कुलमा आउने गर्थ्यौं, केही वर्षअघि मात्रै यहाँको गाउँमा मोटरबाटो आएको हो, बेनीदेखि यहाँ आउन हिजोका दिनमा निकै दुःख थियो, विद्यार्थी र अभिभावकको  स्नेह र आत्मीयताले मलाई यो स्कुल छाडेर हिंड्न मनै लागेन’, आलमले भने।

विद्यालय सञ्चालनमा देश तथा विदेशमा रहेका मल्कबाङवासीले गर्ने सकारात्मक सहयोग र योगदानले आफू प्रभावित बनेको उनले अनुभव सुनाए। दुर्गम विद्यालयमा राज्यको ध्यान र पहुँच कम पुग्ने भए पनि समुदायको अग्रसरता र क्रियाशीलताले विद्यालय सञ्चालनमा ठूलो योगदान पुगेको उनको भनाइ छ।

विद्यालयमा निजी शिक्षकको रूपमा कार्यरत रहेको दुई वर्षमा अस्थायी सरकारी कोटामा नाम निकालेर अन्यत्रको विद्यालयमा पदस्थापना भएपछि आलमलाई गाउँलेले शिक्षा कार्यालयमा धर्ना दिएर मन्त्रालयसम्म पुगेर विद्यालयमा मावि दरबन्दी थप गेर पुनः विद्यालयमै फर्काएका थिए।

२०५३ मा परीक्षा दिएर २०६० सालमा नजीता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका आलम २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए। आलमको परिवार भने रौटहटमै बस्दै आएको छ। रासस

प्रकाशित: १९ फाल्गुन २०७९ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App