१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यार्थीको पहिलो रोजाइ अस्ट्रेलिया

विराटनगरकी सुस्मिता दाहालले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा भक्तपुरमा अस्ट्रेलिया अध्ययनका लागि एनओसी लिन आएकी थिइन्। उनले मेलबर्नका एक विश्वविद्यालयमा आइटीमा स्नातक अध्ययनका लागि अफर लेटर प्राप्त गरिसकेकी छिन्। उनले भिसा प्रक्रियाका लागि मन्त्रालयमा एनओसी लिन आएको सुनाइन्। कलेजलाई पैसा तिर्न एनओसी आवश्यक पर्छ। ‘अस्ट्रेलियामा भिसा पनि सहज छ। अध्ययनको वातावरण राम्रो र कामको अवसर पनि छ,’ सुस्मिताले भनिन्, ‘नेपालमा आमाबुबामाथि निर्भर हुनुपर्छ। चार वर्षे कोर्स पाँच वर्षसम्म पनि पूरा हुँदैन। अवसर पनि छैन। निराशा मात्र छ। विश्वविद्यालयहरू महिनौं दिन बन्द हँुदासमेत पदाधिकारी र सरकार मौन हुन्छ। यस्तो अवस्थामा युवाहरू स्वदेशमा बसेर के गर्ने ?’ उनले थपिन्, ‘अस्ट्रेलियामा विश्वस्तरीय कलेज र विश्वविद्यालयहरू छन्। यहाँ प्राप्त गरेको शैक्षिक डिग्री विश्व बजारमा बिक्छ। आर्थिक रूपमा आत्मनिर्भर हुने भएकाले पनि म अस्ट्रेलिया जान लागेकी हुँ।’

रामेछापका २९ वर्षीय उमेश लामा पनि यसै वर्ष इन्टरनेसनल डेभलपमेन्ट विषयमा स्नातकोत्तर अध्ययनका लागि अस्ट्रेलिया उड्ने तयारीमा छन्। राम्रो र विश्व बजारमा बिक्न सक्ने शैक्षिक डिग्री हासिल हुनुका साथै कमाइ र भविष्य पनि सुरक्षित हुने भएकाले उनी अस्ट्रेलिया जान लागेको बताउँछन्। ‘सबैभन्दा पहिले त नेपालमा २ वर्षे स्नातकोत्तर तह चार वर्षमा पनि पूरा हँुदैन। साथै पढाइको स्तर पनि छैन। पढेर पास भइहाले पनि शिक्षित बेरोजगार भएर बस्नुपर्छ,’ उमेशले दुखेसो गरे, ‘तर अस्ट्रेलियामा पुगेको दिनदेखि विद्यार्थी आत्मनिर्भर बन्छ। स्नातकोत्तर तह पूरा गरेपछि ३ देखि ५ वर्षसम्म पोस्ट स्टडी वर्क अनिवार्य गर्नुपर्छ।’ उनले थपे, ‘विद्यार्थीको लगानी सबै कमाएर उठाउन सकिन्छ। यसपछि पिआर अप्लाई गरि बसोबास पनि उचित हुन्छ। ’

विश्व बजारमा बिक्न सक्ने डिग्री हासिल गर्न पछिल्ला केही वर्षयता अस्ट्रेलिया अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीहरू बढेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका नो अबजेक्सन लेटर (एनओसी) महाशाखाका अनुसार विगत १३ वर्षमा २०६५ सालदेखि २०७७ आर्थिक वर्षभित्र कुल चार लाख १६ हजार ३ सय ६४  विद्यार्थीले कुल एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन्। अवसर र स्तरीय शिक्षा हासिल गर्न पाइने भएकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको आकर्षण अस्ट्रेलियामा बढ्दै गएको देखिन्छ।  

विदेशमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरू सबैभन्दा बढी २०७५÷७६ को अन्त्यमा एनओसी लिएको देखिन्छ। यो वर्ष कुल ५३ हजार २ सय ५९ विद्यार्थीले एनओसी लिएका छन्। आर्थिक वर्ष २०७६÷७७ मा कुल ३४ हजार ९४ ले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ।

यसैगरी आर्थिक वर्ष २०७७÷७८ मा कुल २७ हजार ९ सय ७८ ले मन्त्रालयबाट एनओसी लिएको तथ्यांक छ। विदेसिने विद्यार्थीहरू विशेषगरी मेडिकल, व्यवस्थापन, कम्प्युटर साइन्स, हस्पिटालिटी र विज्ञान तथा प्रविधि विषय अध्ययन गर्न जाने गरेको मन्त्रालयको तथ्यांकले देखाएको छ।  

एनओसी शाखा प्रमुख वासुदेव वस्तीका अनुसार नेपालमा उच्च शिक्षा हासिल गरेर अवसर पाउन नसक्नु नै विद्यार्थी विदेसिनुको मुख्य कारण हो। उनले २०७९ साउनदेखि पुस मसान्तभित्र कुल ४५ हजार ९ सय १२ ले ५९ देशका लागि एनओसी लिएको जनाए।

‘अस्थिर राजनीतिले शिक्षा क्षेत्र माथि लाग्न सकेको छैन। स्वदेशी शिक्षामा अभिभावक र विद्यार्थीको रुचि कम हुँदै गएको बुझिन्छ,’ प्रमुख वस्तीले विद्यार्थीसँग कुरा गर्दाको अनुभव सुनाए, ‘नेपालमै पढाइ हुने विषय विदेशमा अध्ययन गर्न एनओसी लिन आउँदा म छक्क पर्छु। अनि विद्यार्थीलाई सोध्दा उनीहरूले नेपाली शैक्षिक संस्थाबाट हासिल गरेको डिग्री हातमा लिएर पनि राम्रो अवसर नपाएको निराशा व्यक्त गर्छन्।’ उनी थप्छन्, ‘अब नेपाल सरकारले देशमा कुन क्षेत्रमा कति जनशक्ति चाहिने हो। कुन विषयको अध्ययनको आवश्यक्ता छ। त्यो अध्ययन अनुसन्धान गरेर मात्र शिक्षा उपलब्ध गराउनुपर्छ। दक्ष तथा योग्य युवा जनशक्तिलाई स्वेदशमै खपत हुने वातावरण तयार गर्नु सरकारको प्रमुख दायित्व हो।’ उनले कोरोना समयमा पनि विद्यार्थीहरू ज्यानै बाजी थापेर विदेश अध्धयनका लागि एनओसी लिन आएको देख्दा चिन्तित बनेको बताए।  

सन् २०१५ जनवरी १ तारिखदेखि २०२१ सेप्टेम्बर २१ सम्मको तथ्यांक हेर्ने हो भने यो अवधिमा सबैभन्दा बढी अस्ट्रेलिया अध्ययनपका लागि विद्यार्थीले एनओसी लिएका छन्। यो अवधिमा कुल एक लाख २६ हजार ८ सय २१ विद्यार्थीले एनओसी लिएका छन्। यसपछि अस्ट्रेलिया विद्यार्थीको रोजाइमा पहिलो नम्बरमै छ।  

प्रमुख वस्तीका अनुसार हाल विद्यार्थीको उच्च रोजाइमा पर्ने देशहरू अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत, कोरिया हुन्। सबैभन्दा बढी अस्ट्रेलिया जाने गरेका छन्। गत साउनदेखि पुस अन्तिमसम्ममा कुल ४५ हजार ९ सय १२ ले एनओसी लिएका छन्। अस्ट्रेलियाको संख्या सबैभन्दा बढी छ। यो देशका लागि कुल १५ हजार एक सय तीनले एनओसी लिएको प्रमुख वस्तीले जनाए।  

‘विदेशी शैक्षिक संस्थाको कोर्स सिपमूलक र छोटो अवधिको हुन्छ। तर क्रेडिट आवर पुगेकै हुन्छ,’ वस्ती भन्छन्, ‘अब नेपाली शैक्षिक संस्थाहरूले पनि आफ्नो कोर्सबारे विश्लेषण गर्नुपर्छ । यहाँ पनि काम गर्दै पढ्ने सहरमुखी शिक्षाको व्यवस्था हुनुपर्छ।’ उनका अनुसार नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा आइटी, नर्सिङ, मेडिकल, होटल व्यवस्थापन, इन्जिनियरिङ, कम्प्युटर साइन्स, भाषालगायतका विषयमा अध्ययन गर्नका लागि एनओसी लिने गरेका छन्।  

सहज भिसा र रोजगारको अवसरले विद्यार्थी तान्दै अस्ट्रेलिया

अस्ट्रेलियाको मुख्य आयआर्जन गर्ने स्रोत शिक्षा हो। विदेशी विद्यार्थीलाई सहज भिसाको व्यवस्था र पोस्ट स्टडी वर्कको व्यवस्थाले अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइ बनेको शैक्षिक परामर्श संघ नेपालका पूर्वअध्यक्ष एवं रोयल एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जनाए।  

अन्य देशमा जस्तो अस्ट्रेलियामा विद्यार्थीले भिसाका लागि तनाव लिनुपर्ने अवस्था छैन। अस्ट्रेलियन सरकारले तोकेको मापदण्डअनुसार कागजात सही छ भने भिसा सहजै दिन्छ। विद्यार्थीले अन्तर्वार्ता दिनुपर्दैन।

‘विद्यार्थीको शैक्षिक प्रमाणपत्र सही छ र उसको आर्थिक हैसियत बलियो छ भने त्यो विद्यार्थीले अस्ट्रेलियाका लागि भिसा सहजै पाउँछ,’ निर्देशक पाण्डेले भने, ‘अन्य देशभन्दा विद्यार्थीका लागि सुरक्षित स्थान र सर्वसुलभ शुल्कले पनि अस्ट्रेलिया विद्यार्थीको आकर्षण बन्दै गएको छ।’ उनले थपे, ‘विद्यार्थीले स्नातक र स्नातकोत्तर तह पास परेपछि दुई वर्ष, अनुसन्धान पास गरेपछि तीन वर्ष र विद्यावारिधि पूरा गरेपछि चार वर्षको पोस्ट स्टडी वर्क परमिट पाउने व्यवस्थाले विद्यार्थी आकर्षण अस्ट्रेलियामा बढेको हो।’

पुतलीसडकमा रहेको राइटपाथ करिअर काउन्सेलिङका अध्यक्ष फिलिप डिसीले सिम्लिफाइड स्टुडेन्ट भिसा फ्रिवर्क नीतिले पनि विद्यार्थीलाई भिसा सहज बनाएको जनाए। ‘प्रमुख सहरभन्दा ग्रामीण क्षेत्रतिर विद्यार्थीले अध्ययन गर्न गए बढी अंक पाउँछन्,’ डिसीले नागरिकसँग भने, ‘यसले विद्यार्थीलाई पिआर पाउन सहज बनाउँछ।’ उनले थपे, ‘स्नातकोत्तर तह अध्ययन गर्न जान चाहने विद्यार्थीले डिपेन्डेन्टमा लान पाउँछन्। यसले गर्दा कमाउन जानेले पूर्णकालीन काम गर्ने र पढ्नेले पढ्न पाउँछन्।’

विद्यार्थीका लागि अस्ट्रेलिया सही शैक्षिक गन्तव्य

अर्बिट इन्टरनेसनल एजुकेसनका शेषराज भट्टराईले अष्ट्रेलियाका लागि उच्च शिक्षामा विद्यार्थी भित्र्याउने नेपाल एक मुख्य देश बनेको बताए। उनले उपलब्ध गराएको तथ्यांकअनुसार अस्ट्रेलियामा हाल विश्वका विभिन्न देशका ७ लाख विद्यार्थी अध्ययन गरिरहेका छन्।  

‘अस्ट्रेलियामा संघीय राज्यअनुसार शिक्षा प्रणालीको व्यवस्था छ,’ भट्टराई भन्छन्, ‘सबै प्रकारका विद्यार्थी अट्ने भएकाले अस्ट्रेलिया हाल उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि रुचीको गन्तव्य बन्दै गइरहेको छ।’ उनले थपे, ‘विद्यार्थीको पढाइ सकिनासाथ वर्क पर्मिट पाउने व्यवस्थाले यस वर्ष धेरै विद्यार्थीले अस्ट्रेलियाका लागि नो अबजेक्सन लेटर लिएको बुझिन्छ। २ लाख नेपाली अस्ट्रेलियामा बसोबास गर्ने भएकाले पनि नेपालीहरूका लागि सहजै घुलमिल हुने वातावरण बन्छ।’

पढाइ र कामको समन्वय  

अस्ट्रेलियाले व्यावहारिक तथा व्यावसायिक शिक्षा अवलम्बन गरेको छ। एक हजारभन्दा बढी शैक्षिक संस्थाले २२ हजार बढी कोर्सहरू पठनपाठन गराइरहेको पनि नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया सुरक्षित र भरपर्दो शैक्षिक गन्तव्य बनेको हब इन्टरनेसनलका प्रमुख उद्धव खड्का बताउँछन्। कुनै पनि विषयमा सैद्धान्तिक साथै व्यावहारिक ज्ञानमा समेत अस्ट्रेलियन शिक्षाले जोड दिएकाले विद्यार्थीहरू अध्ययन गरेको विषयवस्तु सहजै व्यवहारमा उतार्न सक्ने खड्का बताउँछन्। ‘स्नातक र मास्टरपछि विद्यार्थीले सम्बन्धित विषयको फिल्डमा २ वर्ष, अनुसन्धानका विद्यार्थीले ३ वर्ष र विद्यावारिधिपछि विद्यार्थीले ४ वर्ष पोस्ट स्टडी वर्क गर्नुपर्छ,’ खड्का भन्छन्, ‘त्यसपछि विद्यार्थीले आफ्नो शैक्षिक लगानी उठाउन सक्छन्।’

अस्ट्रेलियाको राष्ट्रिय भाषा अंग्रेजी हो। त्यहाँ विश्वमा उपलब्ध अंग्रेजी शैक्षिक सामग्री यथोचित रूपमा पाउने भएकाले विद्यार्थीले पढ्ने मात्र होइन, अंग्रेजी सुधार्नसमेत सक्छन्।  

विश्वका उत्कृष्ट सयमध्ये ७ वटा विश्वविद्यालय अस्ट्रेलियामै छन्। अस्ट्रेलियन नेसनल विश्वविद्यालय, युनिभर्सिटी अफ मेलबन, युनिभर्सिटी अफ सिड्नी, द युनिभर्सिटी अफ एनएसडब्लु, द युनिभर्सिटी अफ क्विन्सल्यान्ड, मोनास युनिभर्सिटी, द युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया रहेका छन्। अस्ट्रेलियामा कुल ४३ विश्वविद्यालयमा ४० वटा सरकारी, २ वटा अन्तर्राष्ट्रिय र एक मात्र निजी छन् ।

प्रकाशित: १७ फाल्गुन २०७९ ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App