१६ चैत्र २०८२ सोमबार
image/svg+xml
शिक्षा

ताप्लेजुङमा एसईईका लागि ११ केन्द्राध्यक्ष तोकिए

चैत १९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ताप्लेजुङमा केन्द्राध्यक्ष चयन भएका छन्। जिल्ला परीक्षा समन्वय तथा सहजीकरण समितिको बैठकले केन्द्राध्यक्षको टुङ्गो लगाएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए। 

भट्टराईका अनुसार फुङलिङ नगरपालिकामा रहेका चार केन्द्रमध्ये भानुजन माविमा किशोरकुमार राई, युवाबर्ष मावि कैंजलेमा चन्द्रमणि पौडेल, बासुसं माविमा शान्तिराम नेपाल र सिद्धकाली माविमा अमरकुमार राई केन्द्राध्यक्ष रहनेछन्। बासुसं माविका नेपाल विद्यालयका वरिष्ठतम् शिक्षक हुन् भने अरू सबै केन्द्राध्यक्ष सोही विद्यालयका प्रधानाध्यापक रहेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार सम्बन्धित विद्यालयका प्रधानाध्यापक वा वरिष्ठ शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिन सकिनेछ। 

सिरिजङ्गामा रहेका दुईवटा केन्द्रमध्ये सिनाम माविमा तुलसीराम पोख्रेल र तेल्लोक माविमा रुकमान थेबे केन्द्राध्यक्ष तोकिएका छन्। पोख्रेल सिनाम माविका वरिष्ठतम् शिक्षक हुन् भने थेबे तेल्लोक माविका प्रधानाध्यापक हुन्। आठराई त्रिवेणीमा रहेको एक केन्द्र सरस्वती मावि हाङपाङमा सोही विद्यालयका प्रधानाध्यापक चन्द्रकुमार तामाङ, फक्ताङलुङमा रहेको एक केन्द्रमा सिँवा मावि लिङखिमका प्रधानाध्यापक निर्मला तामाङ, मेरिङदेनमा रहेको एक केन्द्रमा त्रिभुवन मावि थुकिमाका कमल चेम्जोङ, सिदिङ्वामा रहेको एक केन्द्र भञ्ज्याङ मावि लिम्बूदिनमा सोही विद्यालयका प्रधानाध्यापक राजेन्द्र इदिङ्गो र पाथीभरा याङवरकमा रहेको केन्द्र थेचम्बु माविमा सोही विद्यालयका प्रधानाध्यापक पुष्पादेवी खरेल केन्द्राध्यक्ष चयन भएका छन्। 

बासुसं मावि मेदिवुङ र सिनाम माविका प्रधानाध्यापक क्रमशः युवराज बस्नेत र महेन्द्रप्रकाश गौतमले आफूहरू केन्द्राध्यक्ष नरहने र विद्यालयका वरिष्ठतम् शिक्षकलाई जिम्मेवारी दिन आग्रह गरेअनुसार निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख भट्टराईले जानकारी दिए। अघिल्लो वर्ष १७ केन्द्र रहेको ताप्लेजुङमा यस वर्ष ६ वटा केन्द्र कटौती भई ११ केन्द्र कायम भएको छ। 

यस वर्ष मिक्वाखोला र मैवाखोला गाउँपालिकामा एसईईका लागि केन्द्र छैनन्। साविकमा कायम रहेकामध्ये फुङलिङको जनता मावि हाङदेवा, मैवाखोलाको मैवाखोला मावि ढुङ्गेसाँघु, मिक्वाखोलाको मोति मावि खोक्लिङ, आठराई त्रिवेणीको दुर्गा मावि फुलवारी, फक्ताङलुङको सरस्वती मावि तापेथोक र सिरिजङ्गाको गणेश मावि खेवाङ परीक्षा केन्द्र यस वर्ष कटौतीमा परेका छन्। 

कम्तिमा १ सय ५० परीक्षार्थी नभएको क्षेत्रमा केन्द्र कायम गर्न नसकिने प्रावधानअनुसार ६ वटा केन्द्र कटौतीमा परेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। यस वर्ष ताप्लेजुङमा साधारण धारतर्फ नियमितमा १ हजार ३ सय ४० तथा ग्रेडवृद्धिका ५ सय ४७ तथा प्राविधिक धारतर्फ नियमितका १ सय ३ र ग्रेडवृद्धिका १९ गरी कुल २ हजार ९ जनाले परीक्षा दिने भएका छन्। 

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस वर्ष आठराई त्रिवेणीको सरस्वती मावि हाङपाङ परीक्षा केन्द्रमा मात्र दुईजना सहायक केन्द्राध्यक्ष हुनेछन्। परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष र प्रति बीसजना विद्यार्थी बराबर एक जनाका दरले निरीक्षक परिचालित हुनेछन्।

प्रकाशित: १६ चैत्र २०८२ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App