३ माघ २०८२ शनिबार
image/svg+xml
शिक्षा

मुर्कुचीमा विज्ञान प्रदर्शनी: आयोजकसहित ५ विद्यालय उत्कृष्ट

नमुना माध्यमिक विद्यालय मुर्कुचीद्वारा आयोजित ‘विज्ञान तथा कला प्रदर्शनी’ मा आयोजकसहित विभिन्न ५ विद्यालयहरू उत्कृष्ट ठहरिँदै पुरस्कृत भएका छन्। 

जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित नमुना मावि मुर्कुचीद्वारा आयोजित प्रदर्शनीमा विज्ञान, वातावरण, कला, समाज र संगीत गरी ५ विधामा प्रतिस्पर्धा गराइएको थियो।

विद्यालयको ‘६१ औँ वार्षिकोत्सव तथा १९ औँ अभिभावक दिवस’ को अवसर पारेर आयोजित प्रदर्शनीमा विज्ञानतर्फ त्रिवेणी नमुना मावि (१–१२) कटारी उत्कृष्ट ठहरिएको छ। वातावरणतर्फ त्रियुगा नमुना मावि गाईघाट (१–१२) उत्कृष्ट ठहरिदा, सामाजिकतर्फ जनता मावि देउरी (१–१२), नृत्य तथा संगीततर्फ क्यानभास बोर्डिङ गाईघाट र कलातर्फ आयोजक मुर्कुची (१–१२) उत्कृष्ट भएका छन्।

आयोजक विद्यालयका प्रधानाध्यापक (प्रअ) खड्ग थापामगरका अनुसार विज्ञान विधामा उत्कृष्ट हुने त्रिवेणी माविका विद्यार्थीले दृष्टिविहीनहरूका लागि सेन्सरजडित चस्मा प्रदर्शन गरेका थिए। त्यस्तै विज्ञान विधातर्फ दोस्रो स्थान पाउने क्रिमसन बोर्डिङ बगाहाका विद्यार्थीले मोबाइल एपमार्फत हाउस कन्ट्रोल प्रविधि प्रदर्शन गरेका थिए।

वातावरण विधामा उत्कृष्ट स्थान पाएको त्रियृगा माविका विद्यार्थीले वातावरणमैत्री सुविधा सम्पन्न विमानस्थलको नमुना प्रदर्शन गर्दा दोस्रो हुने अन्नपूर्ण बोर्डिङ देउरीले सोलार प्रविधिबाट खाना पकाउने प्रविधिको नमुना प्रदर्शन गरेको थियो। त्यस्तै सामाजिक विद्यामा थारु समुदायको महत्त्वपूर्ण चाड समाचकेवा संस्कृतिको जगेर्ना गर्ने कला प्रदर्शन गरेवापत मावि देउरी उत्कृष्ट हुँदा फुड पिरामिड प्रदर्शन गरेको आयोजक मुर्कुची दोस्रो भएको छ।

कृषि प्रधान देश भनिए पनि पछिल्लो समय आधुनिक यन्त्र उपकरणको विकाससँगै लोपोन्मुख अवस्थामा पुगेको परम्परागत काठको हलो, जुवा र फलामको खुकुरीलगायत घरेलु सामग्री प्रदर्शन गर्ने आधारभूत विद्यालय कोप्चेले तेस्रो स्थान पाएको छ। नृत्य तथा संगीत बिधातर्फ क्यानभास बोर्डिङ गाईघाट उत्कृष्ट हुँदा मावि देउरी दोस्रो भएको छ।  

कलातर्फ उत्कृष्ट भएको आयोजक मुर्कुचीका विद्यार्थीले जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीको नमुना चित्र प्रदर्शन गरेका थिए भने पेन्टिङ कला प्रदर्शन गरेको व्रिलियण्ट एकेडेमी चुहाडे दोस्रो भएको छ। दुई दिन सञ्चालित प्रदर्शनीको समापन गर्दै उदयपुर २ का सांसद अम्वर रायमाझीले सबै विधातर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १० हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरे।

समापनमा बोल्दै रायमाझीले यस्ता खाले प्रदर्शनीले विद्यार्थीको चौतर्फी विकासमा मद्दत पुग्ने बताए। अहिलेको युग विज्ञान, प्रविधि र सिपको भएको भन्दै विद्यार्थीलाई एकोहोरो रट्न मात्र लगाउने भन्दा दैनन्दिन प्रयोगमा आउने सिप र कलासँग सम्बन्धित विज्ञान प्रविधिसम्बन्धी ज्ञान सिकाउनु बढी सान्दर्भिक हुने रायमाझीको भनाई थियो।

विद्यालय स्तरबाटै सिपको विकास गर्न सकेमा भविष्यमा स्वरोजगार भएर आत्मनिर्भर हुँदै समृद्धि हासिल गर्न सहज हुने उनले बताए। पुरानो शिक्षा व्यवहारिक नभएर कर्मकाण्डी मात्र भएको भन्दै उनले अव त्यसको विकल्पमा रोजगारी र पेसा व्यवसाय गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्ने जीवनोपयोगी शिक्षा नीतिको खाँचो रायमाझीले औँल्याए।

रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले प्रदर्शनीमा राखिएका विद्यार्थीको कला देशकै नमुना भएको भन्दै उदयपुरमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद दिए। उनले विद्यार्थीको कला र क्षमताको संरक्षण गर्दै भविष्यमा सक्षम र योग्य नागरिक बनाउन स्थानीय सरकारको तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। तर, त्यसका लागि प्रदेश र संघीय सरकारको पनि सहयोग हुनुपर्ने बताए। उपाध्यक्ष भुपिन्द्र थापाले विद्यार्थीको मेहनत खेर जान नदिन गाउँपालिकाले सहयोग गर्ने र अन्य विद्यालयहरूलाई पनि स्थानीय सरकारले सहयोग गर्न आग्रह गरे।

रौतामाईलगायत उदयपुरका विभिन्न स्थानीय तह तथा छिमेकी सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लासमेत गरी ३ दर्जन बढी सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो। विद्यालयका सहायक प्रअ राजेन्द्र पौडेलका अनुसार ९० वटा स्टल राखिएको प्रदर्शनीमा ३ सय १४ जना विद्यार्थी सहभागी भएका थिए।  

विद्यार्थीहरूले सुविधा सम्पन्न नमुना बस्ती, स्मार्ट सहर, हाईड्रोलिक कालोपत्रे सडक, व्यवस्थित पार्किङ, घर, पानी घट्टा (मिल), हाइड्रोपावर, टर्वाईन जेनरेटर, हावाबाट बिजुली प्रविधि, हिमशृङ्खला, स्काईभेटर, विद्युतीय भर्‍याङ (लिफ्ट), जलविद्युत, थोपा सिँचाई, सौर्य ऊर्जा (सोलार), स्मार्ट मुर्कुची बजारको नक्सालगायत कला प्रदर्शन गरेका थिए।  

त्यसै गरी सोलारबाट खाना पकाउने प्रविधि, मोबाइलबाट खुल्ने र बन्द हुने स्मार्ट घर, स्वस्थ खाना, जडीबुटी, झोला, बालविवाह न्यूनीकरण सम्बन्धी सन्देशमूलक सामग्री, संस्कार संस्कृति झल्कने भाईबहिनीबीचको प्रेमको प्रतीक समाचकेवा, बाँसको चोया र भोर्लाको पातबाट निर्मित परम्परागत वर्षाढी (घुम), कुखुरा माछा बोक्ने चोयाको पेरुङ्गो, वड घर, चेरुङ्गो, ओखल, ढिकी, हलो, जुवा, कोदालो, खुकुरीलगायत घरेलु सामग्री पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रममा प्रअ मगरले स्थापनादेखि हालसम्म भए गरेका विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक गतिविधि समेटिएको प्रगति विवरण प्रस्तुत गरेका थिए। साथै विद्यालयलाई विभिन्न तरिकाले सहयोग गर्दै आएका बाल विकास समाज उदयपुरका अध्यक्ष ईश्वर राना मगर, विद्यालय कर्मचारी गीता केसी र छात्राहरूलाई पढ्न उत्प्रेरित गर्ने गैरसरकारी संस्था रेसका सानुबाबा जोशीलाई प्रशंसापतद्वार सम्मान गरिएको थियो।  

०७८ मा नमुना घोषणा भएसँगै भौतिक संरचनाले सुविधा सम्पन्न हुँदै गएको विद्यालयमा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षामा पठनपाठन भइरहेको छ। सो विद्यालयमा २०७६ सालदेखि प्राविधिक धारतर्फ कक्षा ८ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाई भइरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७९ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App