८ वैशाख २०८१ शनिबार
शिक्षा

शंकराचार्यको ध्यान विश्वविद्यालयका आचार्यतिर

भगवान् पशुपतिनाथ विराजित पावन पशुपति क्षेत्रमा परम्परागत रूपमा मनाइने विभिन्न पर्वमध्ये महाशिवरात्रिले विशेष महत्व बोकेको छ। यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते शनिबार परेको छ। सो अवसरमा नेपालका मात्र नभएर विश्वका सनातन हिन्दुहरू पशुपतिनाथको दर्शन गर्न आउने गरेका छन्। यसपटक महाशिवरात्रि पर्वको अवसर पारी जगन्नाथपुरीस्थित गोवर्धन मठका पीठाधीश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराज आउने कार्यक्रम तय भएको छ। उनी वैदिक गणितका विख्याता पनि हुन्। नेपाल भ्रमणका क्रममा उनले विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूलाई वैदिक गणितबारे ज्ञान प्रदान गर्ने कार्यक्रमसमेत तय भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।  

‘यसबाट विश्वविद्यालयका अनुसन्धानकर्ता, विद्यार्थी तथा प्राध्यापकले महाशिवरात्रि पर्व तथा जात्राका साथै आध्यात्मिक, वेद, संस्कार, संस्कृति, मानवचोला तथा वैदिक गणितका विभिन्न विषयमा आचार्यज्यूसँग ज्ञान प्राप्त गर्न सक्नुहुन्छ,’ प्रवक्ता अधिकारीले भने, ‘फागुन ५, ६ र ७ गतेसम्म बिहान ११ बजेदेखि साढे १ बजेसम्म विशेष प्रवचन तथा जगद्गुरुको आशीर्वचन लिन सकिने व्यवस्था गरिएको छ। साँझ ५ देखि ७ बजेसम्म त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत र काठमाडौं विश्वविद्यालयका वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीलाई वैदेशिक गणितबारे शैक्षिक ज्ञान दिनुहुनेछ। शिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख रूपैयाँ छुट्याइएको छ भने शंकराचार्यको कार्यक्रम व्यवस्थापनका लागि थप ५ लाख रूपैयाँ बजेट कोषले व्यवस्थापन गरेको छ।’ बेलुकाको समय विशेष गरी शैक्षिक अन्तरक्रियामै बित्ने उनले बताए।

विश्वविद्यालयका उपकुलपति, शिक्षक, विद्यार्थी तथा प्राध्यापकसँग कोषले छलफल गरी व्यवस्थापनको तयारी गरेको छ। कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले यसपटक स्वदेश तथा विदेशका गरी कुल १६ लाखको हाराहारीमा भक्तजन पशुपति क्षेत्रमा मेला भर्न आउने अनुमान गरिएको बताए। उनले मेला व्यवस्थापनका लागि मूल समितिअन्तर्गत ८ वटा उपसमिति गठन गरिएको जानकारी दिए। जगद्गुरु शंकराचार्यको स्वागत तथा अभिनन्दन व्यवस्थासहित उपसमितिले सुरक्षा व्यवस्थापन गर्नेछ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेत सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थापन गरिनेछ। इन्डोनेसिया, मलेसिया, भारत, श्रीलंकालगायत देशबाट सनातन हिन्दु धर्मावलम्बीहरू शिवरात्रिमा पशुपति क्षेत्र आउने निश्चित भएको छ। ‘विशेष पूजा यसपटक दिउँसोको समयमा मात्र गरिनेछ। सो दिन ५० वटा मात्र पूजा गरिनेछ। यसबाट भिड कम हुने कोषको विश्वास छ,’ सदस्य सचिव डा. थापाले भने, ‘१५ हजार रूपैयाँको रसिद काटेर पूजा गराउने व्यवस्था छ।’ यसपटक स्वयंसेवक ४ हजार र सुरक्षाकर्मी ६ हजारदेखि ७ हजारको हाराहारीमा खटिने कोषले बताएको छ।  

भड्किलो लुगा लगाएर मन्दिर प्रवेश निषेध गरिएको छ: प्रवक्ता अधिकारी

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले महाशिवरात्रि पर्व मनाउन पशुपति मन्दिर आउँदा भड्किलो लुगा लगाएर नआउन आग्रह गरेका छन्। ‘महिलाहरू भड्किलो लुगा लगाएर नआइदिनु होला। सभ्य लुगा लगाएर आउनुहोला,’ उनले बुधबार महाशिवरात्रि पर्वका विषयमा गरेको पत्रकार सम्मेलनमा भने, ‘भड्किलो लुगा लगाएर आउनेलाई स्वयंसेवकले लाइनबाट बाहिर निकालदिनेछन्।’ अधिकारीले भड्किलो र असभ्य खुला लुगा लगाएर आउनेलाई स्वयंसेवक र प्रहरीलाई मन्दिरपरिसर र लाइनबाट बाहिर निकाल्ने गरी अभिमुखीकरण तालिम दिइसकेको जानकारी दिए।

‘विगतमा भड्किला पहिरनले गर्दा महिलाको सुरक्षामा समेत चुनौती थपिएको थियो। धार्मिक आस्था नै खलबलिने खालका गतिविधिबाट पाठ सिकेर अहिले परिहनलाई सभ्य बनाउने प्रयासमा लागेका हौं,’ प्रवक्ता अधिकारीले भने, ‘शिवरात्रिलाई व्यवस्थित र मर्यादित बनाउन कोषले पहिरनलाई समेत ध्यानमा राखेको हो।’ यसका साथै उनले यसपटकको महाशिवरात्रि पर्वलाई थप व्यवस्थित बनाउन मन्दिर क्षेत्रवरिपरि गाँजा तथा नसालु पदार्थ सेवन, बिक्रीवितरणमा समेत कडाइका साथ रोक लगाएको दाबी गरे।

प्रकाशित: ४ फाल्गुन २०७९ ००:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App