२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

एसइई नतिजा सुधारका लागि परिचालन भए शिक्षण सहजकर्ता र सहयोगी

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।

एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा विद्यालयमा पठाएको हो। त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरिएको छ। यसका लागि कामपाले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो।

उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट कामपाले १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

'सहजकर्ताका लागि आवश्यकता सङ्ख्या २५ रहे पनि माग अनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पुर्‍याएर उहाँहरूलाई काममा खटाइएको हो', प्रमुख सुवेदीले भने।

उनका अनुसार यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो।

शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन्।

सहजकर्ता अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच÷पाँच जना आवश्यक भए पनि सोही अनुसारको सङ्ख्या प्राप्त नभएको कामपाको भनाइ छ। दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ। 

त्यसैगरी शिक्षण सहयोगीका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ। सहयोगीका लागि पारिश्रमिक १५ हजार तोकिएको छ। हाल कामपामा ८९ सामुदायिक विद्यालय छन्। त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन्। ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्।

त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन्। यस वर्ष कामपाको सार्वजनिक विद्यालयबाट एसइई परीक्षामा चार हजार विद्यार्थी सहभागी हुने भएका छन्।

कामपाले पहिलोपटक सुरु गरेको यस कार्यक्रमको प्रभावकारितालाई हेरी आगामी वर्ष थप विस्तार गर्ने तयारी कामपाको रहेको छ। निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा एसइई नतिजा राम्रो नभए पनि कामपाले अनिवार्य विषयका लागि सहयोगीका रूपमा शिक्षक नियुक्त गरी नतिजा सुधार गर्ने प्रयास गरेको हो। यस वर्षको एसइई परीक्षा आगामी चैत १७ गतेदेखि सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको छ।

प्रकाशित: २ फाल्गुन २०७९ १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App