४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

भूकम्प पछिको पुनर्निर्माण: सिन्धुलीमा बन्यो ३ सय ९२ ओटा विद्यालय

सिन्धुलीमा हालसम्म ३ सय ९२ ओटा विद्यालयमा नयाँ भवन निर्माण भएको छ। २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतविक्षत भएका विद्यालय भवन पुनर्निर्माण गर्ने क्रममा हालसम्म ३ सय ९२ ओटा विद्यालय भवन निर्माण भएको हो।

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट जिल्लास्थित पाँच सय पचास ओटा विद्यालय भवनका ३ हजार १ सय ९७ ओटा कक्षाकोठामा क्षति भएको विवरण छ।

जसमध्ये विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा तथा एडिबीको सहयोगमा हालसम्म झन्डै २५ सय कक्षाकोठा पुनर्निर्माण भइसकेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेले जानकारी दिए। 

एसियाली विकास बैक एडिबीको सहुलियत ऋण सहयोगमा सिन्धुलीमा ४८ ओटा ठुला विद्यालय भवन निर्माण भएका छन्। जिल्लास्थित विभिन्न माध्यमिक विद्यालयमा दुई करोड माथि लगानीमा विद्यालय भवन निर्माण भएको हो। 

एडिबीको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा जिल्लाका ४१ ओटा विद्यालय पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य  ७ ओटा विद्यालय भवनको धमाधम निर्माण भइरहेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख घिमिरेले बताए। भूकम्पबाट क्षति भएको भवनको पुनर्निर्माण सँगै मर्मत सम्भार समेत भएको सिन्धुलीको घ्यालेख गाउँपालिकास्थित माध्यमिक विद्यालय मरिण हायूटारका प्रधानाध्यापक विजयकुमार थिङले जानकारी दिए।

विद्यालयले आवश्यक जग्गाको व्यवस्थापन गरेपछि विद्यालय भवन निर्माण भएको उनको भनाई छ। निर्माण भएका विद्यालय भवन मध्ये ३७ ओटा एनजिओ तथा आई एनजिओले निर्माण गरेका छन् भने जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा मार्फत ३ सय ७ ओटा विद्यालय भवन निर्माण भएका छन्। यी विद्यालय भवन विद्यालय व्यवस्थापन समिति र विद्यालयले नै जिम्मा लिएर बनाएका हुन् भने ४८ ओटा विद्यालय भवन एसियाली विकास बैकको ऋण सहयोगमा बनेको हो।  

भूकम्प पश्चात् चार चरणमा विद्यालय भवन निर्माण भएको र अन्तिम चरणको ७ ओटा विद्यालय भवन निर्माण भइरहेको कार्यालयले जनाएको छ। ३१ सय बढी कक्षाकोठामा भएको क्षति मध्य हालसम्म २५ सय ओटा कक्षाकोठा निर्माण भए पनि अझै पाँच सय बढी कक्षाकोठा निर्माण हुन बाकी रहेको छ। भूकम्प पछिको पुनर्निर्माणमा ठुला र हेभी भवन निर्माण हुनुपर्ने भएकाले विद्यालयको विद्यालयको आफ्नै जग्गा नभएको समस्याले अझै विद्यालय भवन निर्माण हुन बाकी रहेको कार्यालयले जनाएको छ। 

केही विद्यालयमा न्यून विद्यार्थी भएकाले मर्ज हुने सम्भावना भएका विद्यालयको समेत भवन बन्न बाकी रहेको घिमिरेको भनाई छ। जिल्ला स्थित ग्रामीण क्षेत्रमा समेत विद्यालय भवन सुविधा सम्पन्न बनेपछि शिक्षक विद्यार्थी हर्षित भएका छन्।  विभिन्न दातृ निकायको सहयोग तथा ऋण सहयोगमा जिल्लामा भूकम्पबाट क्षति भएका विद्यालय भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको सिन्धुली क्षेत्र नम्बर २ का सांसद लेखनाथ दाहालले बताए।  

प्रकाशित: २८ माघ २०७९ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App