२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

त्रिवि परीक्षा नियन्त्रण कार्यालय समयमै परीक्षा लिन र परीक्षाफल निकाल्न असक्षम, लाखौँ विद्यार्थीको भविष्य माथि खेलबाड

स्नातक प्रथम परीक्षा तीन पटक सारियो, दोस्रो वर्षको परीक्षाफल एक वर्षसम्म पनि आएन

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीहरुको भविष्यमाथि चरम खेलबाड गरिरहेको छ। परीक्षा समयमै नगराउने र अत्यन्त ढिलो गरी परीक्षा गराइहाले पनि समयमै परीक्षाफल प्रकाशन नगर्ने रोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय ग्रस्त छ।

त्रिवि अन्तर्गत भर्ना भएका कतिपय विद्यार्थीहरुको परीक्षा समयमै गराउन सकेको छैन भने कतिपयको परीक्षाफल नै सार्वजनिक गर्न सकेको छैन। विशेष गरी २०७८ मा स्नातक तहमा भर्ना भएका विद्यार्थीहरुको प्रथम वर्षको परीक्षा तीन पटक सम्म सारिएको छ भने स्नातक दोस्रो वर्षको परीक्षाफल एक बर्ष हुँदा पनि निकाल्न सकेको छैन्। 

यसले गर्दा विद्यार्थीहरुको अध्ययन र समय दुवै खेर गइरहेको छ। यति मात्र होइन, समयमै परीक्षा नहुँदा र परीक्षाफल प्रकाशित नहुँदा विद्यार्थीहरुलाई अध्ययनमा भार परिरहेको छ।

परीक्षा नियन्त्रण कार्यालयले प्रथम बर्ष परीक्षा तालिका पहिलो पटक २०७८ फागुन १ गतेका लागि तोकेको थियो। पछि यसलाई चैत १२ र १६ गतेका लागि सारियो । त्यसपछि फेरी २०७९ बैशाख ३ का लागि सारिएको हो। 

रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थी शिल्पी खनालले त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आफुहरुको भविष्य माथि चरम लापरबाही गरेको गुनासो गरिन्। ‘परीक्षा नियन्त्रण कार्यालयको लापरबाही हेर्दा स्नातक पुरा गर्न मात्र १२ बर्ष लाग्ला जस्तो भयो’, उनले नागरिकन्यूजसँग भनिन। 

उनले चार वर्षको स्नातक तहको पढाई पुरा गर्न यही पारेले १२  बर्ष लाग्ला जस्तो भएको बताइन्। ‘त्रिविको लापरबाही र कमजोरीले गर्दा कतिपय विद्यार्थी बिचमै पढाई छोडेर पलायन भइरहेका छन्’, स्नातक प्रथम वर्षकी विद्यार्थी खनालले भनिन्। 

उनले भनिन्, ‘यस्तो पनि हुन्छ ? तीन तीन पटक परीक्षा सारियो।’ खनालका अनुसार त्रिविले निकालेको सूचना समेत गलत छ। अब हुने भनिएको मितिमा २०८९ उल्लेख गरिएको छ। त्यो पनि एउटा बिषयमा मात्र। यस्ता लापरबाही त त्रिविका कति हुन्छन् कति।'

‘रेगुलर परीक्षा दिएर स्नातक तह पुरा गर्न नै ८ वर्ष र आंशिक परीक्षा नै दिन परे त १०/१२ वर्ष नै लाग्ला जस्तो छ’, उनले भनिन्। खनालले पहिला त स्ववियू चुनावले गर्दा परीक्षा सरेको होला भन्ने लागेको उल्लेख गरिन्।

त्रिविले ०७७ मा स्नातक तहमा भर्ना भएका विद्यार्थीहरुको प्रथम वर्षको परीक्षा लिएको एक बर्ष पुरा भयो। तर परीक्षाफल अहिलेसम्म प्रकाशित भएको छैन। त्रिविले २०७८ फागुन २ गतेदेखि परीक्षा लिएको थियो। 

रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रमाद कार्कीले भने, ‘परीक्षा दिएको एक बर्ष भयो, अहिलेसम्म परीक्षाफल प्रकाशित भएको छैन। यता दोस्रो वर्षको परीक्षा आउने बेला भइसक्यो।’

उनले थपे, ‘यस्तो लापरबाही पनि हुन्छ?’ कार्कीले विद्यार्थीहरुको अध्ययन र भविष्यबारे सोच्ने फुर्सद कसैलाई नभएको गुनासो गरे। ‘अनि देश बनेन भनेर चिच्याउने मात्र छन्, सुधार गर्ने कोही छैनन्’, कार्कीले भने । 

परीक्षा नियन्त्रण कार्यालय २०७६ भर्ना समूहका विद्यार्थीको प्रथम वर्षको परीक्षा २०७८ साउनमा लिएको थियो। यसको परीक्षाफल १५ महिनापछि सार्वजनिक गरेको थियो।  त्रिविमा सबै संकाय र तहमा गरेर करिब ४ लाख विद्यार्थीहरु अध्ययनरत छन्। हरेक संकाय र तहको परीक्षा र परिक्षफल प्रकाशन अत्यन्त ढिलो हुने गरेको छ। यो रोग बर्षौदेखि नियमित छ । 

परीक्षा र परीक्षाफल प्रकाशनमा भइरहेको चरम लापरबाहीबारे परीक्षा नियन्त्रण कार्यालय र त्रिविका अन्य पदाधिकारीहरुसँग सम्पर्क गर्न नागरिक न्युजले बुधवारदेखि पटक पटक प्रयास गरेको थियो। 

परीक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशीलाई पटक पटक प्रयासका बाबजुद पनि सम्पर्क हुन सकेन। कार्यालयको ल्यान्ड लाइन र प्रमुख जोशीसँग विभिन्न पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन।

प्रकाशित: २६ माघ २०७९ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App