१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सरकारको नीति-नियमको धज्जी उडाउँदै विदेशी शैक्षिक मेला संचालन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति बेगर कुनै पनि शैक्षिक मेला आयोजना गर्न नपाइने सूचना जारी गरिएको भए पनि एक भारतीय शैक्षिक परामर्श संस्थाले वीरगंज र काठमाडौँमा मेला आयोजना गर्ने भएको छ।

शिक्षा मन्त्रालयले यस अघि शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ को हवाला दिँदै यस्ता प्रदर्शनी गर्नुपर्ने भए मन्त्रालयसँग स्वीकृति लिई आयोजना गर्नुपर्ने सूचना केही समय अघि जारी गरेको थियो। यही निर्देशिकामा विदेशी शैक्षिक संस्थाले शैक्षिक मेला नेपालमा आयोजना गर्नुपरेमा शिक्षा मन्त्रालयको स्वीकृतिसाथै नेपालका स्थानीय शैक्षिक परामर्श दातृ निकायसँग समन्वय गरी मात्र मेला संचालन गर्ने व्यवस्था समेत गरेको छ।

सो सूचनाको धज्जीया उडाउँदै गाजियाबाद उत्तर प्रदेश भारतले नेपालमा शैक्षिक मेलाको आयोजना गर्ने भन्दै नेपालको एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेको थियो। सूचनामा ‘स्टडी इन इन्डिया इजुकेशन फेयर २०२३’ शीर्षक दिएर नेपालको दुई स्थानमा मेला संचालन गर्ने उक्त पत्रिकाको तीन पृष्टमा सूचना सार्वजनिक भएको थियो।

सूचना अनुसार वीरगंजको दियालो लर्डस् प्लालामा फेब्रुअरी ३ अर्थात माघ २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मेला संचालन गरिने समय तोकेको छ। भने काठमाडौंको बानेश्वरमा रहेको एभरेष्ट होटेलमा फेब्रुअरी ५ र ६ अर्थात माघ २२ र २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मेला संचालन गरिने सूचनामा जनाइएको छ।

सूचनामा भारतका शैक्षिक निकाय र त्यसका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाइने थाह पाएपछि सरोकारवाला निकाय अभिभावक र विद्यार्थीको चासो मेलाप्रति बढेको थियो।

शैक्षिक परामर्श संघ नेपालका (इक्यान) पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले सरकारी स्वीकृति बेगर नेपालका शैक्षिक संस्थाले समेत मेला आयोजना गर्न नपाइने व्यवस्था रहेको अवस्थामा भारतीय शैक्षिक संस्थाले नेपाल सरकारको स्वीकृति बेगर खुलेआम नेपालको विभिन्न ठाउँमा मेला संचालन गर्ने रवैया प्रति इक्यानको घोर आपत्ति रहेको जनाए।

‘नेपालको राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी नेपालको विभिन्न ठाउँमा मेला संचालन हुन लाग्दा अनुगमन र नियमन गर्ने सरकार किन मौन छ?,’ पूर्व अध्यक्ष पाण्डेले आपत्ति जनाए। 

‘निर्देशिकाले विदेशी शैक्षिक संस्थाले मेला आयोजना गर्नु परे सरकारका साथै स्थानीय शैक्षिक परामर्श दातृ निकायसँग समन्वय गर्नु पर्ने व्यवस्थाको समेत उक्त भारतीय संस्थाले उल्लङ्घन गरेको छ।’ उनले सचेत गराए ‘शिक्षा मन्त्रालयको अनुगमन र नियम चुस्त नभएकोले विदेशी शैक्षिक संस्थाले नेपालमा जथाभाबी गर्न मौका पाएका छन्।

उनले इक्यानले मेलाको विरोधमा उजुरी समेत दिने जनाए। यति मात्र होइन अगामी फेब्रुअरी १० तारेखमा पनि अष्ट्रेलियाको नर्दन टेरोटरी सरकारको यस्तै खाले शैक्षिक मेलाको सेसन नेपालमा राख्दै छ। नेपाल सरकारको बिना स्वीकृति आयोजना हुने जुनसुकै शैक्षिक मेला अवैध हुन्छ। यसले विद्यार्थीको भविष्य नै अन्योल बनाउँछ।’

जिल्ला प्रशासन कार्यालय बीरगंजका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकृत भिकान्त पौडेलले समेत बीरगंजमा शुक्रबार हुने भारतीय शैक्षिक मेलाबारे कुनै सूचना प्राप्त नभएको स्पष्ट पारे।

‘भारतीय शैक्षिक मेलाबारे अभिभावक र विद्यार्थीले सोधी खोजी गरेका छन्,’ सूचना अधिकृत पौडेलले नागरिकसँग भने ‘मेला संचालनको कुनै स्वीकृति कार्यालयले दिएको छैन।’

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले समेत बीरगंज र काठमाडौंमा आयोजना गरिने भारतीय शैक्षिक मेलाबारे मन्त्रालयमा कुनै सूचना नभएको स्पष्ट पारे। ‘मन्त्रालयमा विभिन्न समयमा विदेशी शैक्षिक संस्थाहरू बिना स्वीकृति अवैध रुपमा मेला संचालन गर्ने गरेको सूचना प्राप्त भएपछि मन्त्रालयले जरुरी सूचना नै सार्वजनिक गर्‍यो,’ प्रवक्ता शर्माले नागरिकसँग भने ‘मन्त्रालयको स्वीकृति बेगर शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने छ।’

मेला आयोजकलाई नागमरिककर्मीले फोन सम्पर्क गरी बुझ्दा आयोजकले भारतीय शिक्षा मन्त्रालयबाट स्वीकृति लिएको जनायो।

प्रकाशित: १९ माघ २०७९ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App