१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

तलब कट्टा गर्ने गाउँपालिकाको निर्णयविरुद्ध शिक्षक संघ संगठनको विरोध

शिक्षकहरुको तलब कट्टा गर्ने गाउँपालिको निर्णयप्रति स्थानीय विभिन्न दलका शिक्षक संघ संगठनहरुले आपत्ती जनाएका छन्। लिमचुङबुङ गाउँपालिकामा कार्यरत संघ संगठनहरुले बुधबार एक संयुक्त विज्ञप्ती जारी गरी कारबाहीको नाममा शिक्षकहरुको तलब कट्टा गर्ने निर्णयप्रति संघ संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट शिक्षक संघ संगठनहरुले जारी गरेको विज्ञप्तीमा गाउँपालिकाको माघ १५ गतेको ‘दशौँ कार्यपालिका बैठक’ले गरेको निर्णयको पुनरविचार गर्न आग्रह समेत गरेको छ। ५ नं. वडाको बाल आधारभूत विद्यालय रामबेला चौलानेमा कार्यरत शिक्षकहरुको तलब कट्टा गर्ने निर्णयमाथि पुनरविचार गर्न माग गर्दै उनीहरुले सो निर्णयबाट पीडित शिक्षक तथा गाउँपालिकामा कार्यरत शिक्षकहरुको तर्फबाट निर्णय पुनरविचारको माग गरेका हुन्।

शिक्षक संगठनहरुले सो घट्नाको व्यवस्थापन गर्न संघ संगठनको तर्फबाट आफूहरु तयार रहेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘उक्त घट्नाबाट उत्पन्न परिघट्नाको श्रृङ्खलाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित निर्णयको न्यायपूर्ण र रचनात्मक निकासका लागि हामी तत्पर रहेको कुरा पनि जानकारी गराउँन चाहन्छौँ।’  

कार्यपालिका बैठकले आधारभूत विद्यालय रामबेलाका प्रधानाध्यापक (प्रअ)सहित ३ जना शिक्षकको तलब कट्टा गर्ने निर्णय गरेर शिक्षकको पेटमाथि लात हान्ने काम भएको आरोप संगठनहरुले लगाएका छन्। नेकपा (माओबादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शिवराम राईले गाउँपालिकाले दिएको औषधि म्याद नाघेको पाएपछि शिक्षकहरुले सामाजिक सञ्जालसम्म पु¥याउन सहयोग गरेको आरोपमा उनीहरुमाथि कारबाही हुनु स्वभाविक भए पनि तलब नै कट्टा गर्नु अन्याय भएको बताए।  

नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष ढकबहादुर राईले शिक्षकहरुमाथि गाउँपालिकाले बारम्बार प्रहार गर्दै आएको र यो पटक पुनः आक्रमण भएको बताए। उनले म्याद नाघेको औषधि दिने स्वास्थ्यकर्मीलाई केही नगरेर स्वास्थ्य शाखा प्रमुखलाई मात्र बर्खास्त गर्नुले सामान न्याय नभएको बताए। शिक्षकहरुको तलब कट्टा गर्ने निर्णयजस्तै स्वास्थ्य शाखा प्रमुखलाई हटाउने निर्णय पनि न्यायसँगत नभएको अध्यक्ष राईले बताए।  

शिक्षकहरुका अनुसार बैठकको निर्णय नं. २ मा वडा नंं. ५ को बाल आधारभूत विद्यालय रामबेलामा अध्ययनरत किशोरीहरुका लागि पठाइएको आईरन चक्की म्याद नाघेको फेला परेको थियो। चक्की बितरण गर्ने क्रममा म्याद नाघेको पाइएपछि विद्यालयले सो कुरा सामाजिक सञ्जालमा प्रचार गर्न तेस्रो व्यक्तिको प्रयोग गरेको आरोपमा शिक्षकहरुको तलब कट्टा गर्ने निर्णय गरेको उनीहरुको भनाई छ।  

गाउँ कार्यपालिका बैठकको निर्णय नं. २ मा भनिएको छ, ‘वडा नं. ५ स्थित बाल आधारभूत विद्यालय रामबेला चौलानेको च नं. ४३ मिति ०७९÷९÷२९ गतेको पत्र अनुसार किशोरीहरुका लागि आवश्यक ‘फोलिक एसिड’ नामक औषधिको माग भए अनुसार स्वास्थ्य शाखाबाट पठाइएकोमा म्याद नाघेको पाइएको कुरा थाहा पाउने बित्तिकै सम्बन्धित कार्यालयमा जानकारी गराउनुपर्नेमा अनाधिकृत तेस्रो व्यक्तिलाई दिएर सूचना चुहावट गरेको पाइएकाले उक्त घट्नामा संलग्न तपसिलका व्यक्तिहरुलाई उल्लेखित कारबाही गर्ने भनि सर्वसम्मत निर्णय गरियो।’

सो निर्णय अनुसार स्वास्थ्य शाखा प्रमुख नौलशेर राईलाई स्वास्थ्य शाखा प्रमुखबाट बर्खास्त गर्ने, विद्यालयका प्रधानाध्यापक तिलकबहादुर राईलाई २ महिनाको तलब कट्टा गर्ने तथा शिक्षक शिक्षक दिनेश कटुवालको ३ महिनाको तलब कट्टा गर्ने तथा अर्का शिक्षक युवराज राउतको १ महिनाको तलब कट्टा गर्ने निर्णय भएको बैठकको निर्णय नं. २ मा उल्लेख छ।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जनतालाई दुःख दिने काम गरेको पाइएकाले गल्ती गर्ने सरोकारवालाहरुलाई कारबाहीको दायरामा ल्याउनु परेको बताए। म्याद नाघेको आईरन चक्की दिएको जिम्मेवार निकाय स्वास्थ्य शाखा प्रमुखलाई प्रमुखबाट हटाइएको बताउँदै उनले विद्यालयले सो कमीजोरीबारे गाउँपालिकामा जानकारी गराउनुपर्नेमा तेस्रो व्यक्तिलाई सूचना चुहाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गराएकाले तलब कट्टा गर्ने निर्णय गरेको अधिकृत गुरुङले बताए।

प्रकाशित: १९ माघ २०७९ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App