१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

एसइइ सुधार गर्न दुइ महिने बिषयगत शिक्षक माग

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको स्तर उकास्न नयाँ प्रयास थालेको छ। चैत्तमा हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइइलाई लक्षित गर्दै महानगर शिक्षा विभागले अवकास प्राप्त विषय विज्ञहरुलाई माध्यमिक तहको सहजकर्ताको  रुपमा सदुपयोग गर्ने निर्णय गरेको छ।स्नातक पास नयाँ अनुहारलाई सहयोगी शिक्षकको रुपमा विद्यालयमा प्रयोग गर्ने निर्णय गरेको छ।  

बुधबार महानगर शिक्षा विभागले सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगर पालिका भित्रका सामुदायिक विद्यालयको एसइई नतिजा सुधार गर्र्ने उदेश्यले शिक्षक माग गरेको हो। शैक्षिक सत्र २०७९,मा एसइइमा सहभागि हुने विद्यार्थीको सिकाईमा सहयोग तथा सहजीकरण गर्न योग्यता भएका व्यक्तिहरुबाट शिक्षक सहजकर्ता र शिक्षक सहयोगीको रुपमा परिचालन गर्ने निर्णय अनुसार बिषयगत शिक्षक माग गरिएको काठमाडौं महानगरपालिका शिक्षा विभागका सामुदायिक विद्यालय हेर्ने प्रमुख माती भट्टराईले जनाए। उनका अनुसार महानगरभित्र कुल ९७ सामुदायिक विद्यालय छन्। यसमध्ये ५९ मा कक्षा १० संचालन भएका छन्।

विद्यालयहरुमा विषयगत शिक्षकको ठूलो अभाव रहेको कारण वर्षेनी एसइइको नतिजा कमजोर हुदै गएको छ। ‘काठमाडौंका सामुदायिक विद्यालयहरुमा विद्यार्थी धेरै छन्। बिषयगत शिक्षक अभाव छ। कुल मावि शिक्षक दरबन्दी ४ सय २१ मात्र छ। यो अपुग हो,’ भट्टराईले नागरिकसँग भने ‘विभागले गणित, विज्ञान, अंग्रेजी , सामाजिक र नेपाली बिषयका शिक्षण सहजकर्ता ५÷५ जना माग गरेको छ। ’ उनले थपे ‘यसैगरी शिक्षण सहयोगी गणित बिषयमा ६० र विज्ञान बिषयका ६० शिक्षक माग गरेको छ। ’

विभागले विश्व विद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृत स्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित बिषयका विज्ञ वा बिभिन्न संघ संस्थामा कार्य गरेका कम्तीमा १० वर्ष अनुभव भएका सम्बन्धित बिषयका बिज्ञ ब्यक्तिहरुलाई शिक्षण सहजकर्ताको रुपमा माग गरेको छ।सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तिमा २ वर्ष शिक्षण अनुभव भएका व्यक्तिहरु शिक्षण सहयोगीको रुपमा माग गरेको छ। ‘

दुई महिनाको लागि मात्र माग गरिएको यी पदहरुमा पुराना शिक्षक तथा प्राध्याकपहरुको अनुभव कक्षा कोठामा सदुपयोग हुन्छ भने अर्को तर्फ नयाँ तथा फ्ेस अनुहारले बिद्यार्थीलाई विषयगत शिक्षण सिकाई गराउने छन्,’ प्रमुख भट्टराईले नागरिकसँग भने ‘शिक्षण सहजकर्ताहरुको मासिक तलब ३७ हजार ५ सय तोकिएको छ भने शिक्षण सहयोगीको मासिक तलब १५ हजार तोकिएको छ।’ उनले थपे‘महानगरभित्र कुल ९७ सामुदायिक विद्यालय मध्ये ५९ कक्षा १० चलेका छन्। 

कतिपयमा विषयगत शिक्षक छैन भने कमजोर विद्यार्थीलाई समय समेत दिन सकिएको छैन। यस्तो अवस्थामा महानगरभित्रका सामुदायिक विद्यालयको स्तर बृद्धि र एसइइको नतिजा सुधार गर्न विज्ञसँगको छलफल गरि नयाँ र पुराना शिक्षक माग गरिएको हो।’महानगरको यो कदमलाई सामुदायिक विद्यालयका प्रअहरुले प्रशंसनीय कार्य भएको प्रतिक्रिया दिएका छन्।  

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेलले महानगरले अवकास प्राप्त शिक्षक विज्ञहरुको दक्षता र पढाउने सिपको कक्षा कोठामा सदुपयोग गर्न खोज्नु निकै सकरात्मक कार्य भएको बताए। ‘त्रिविका अवकास प्राप्त ७० वर्षीय प्रा.डा देबहादुर मानन्धर, काभ्रेका अवकास प्राप्त करिब ७० वर्षीय प्रअ माधव प्रसाद अधिकारी आ–आफना विषयमा विज्ञ हुनुहुन्छ। उनीहरु सरकारबाट पेन्सन पाएकोलाइ विद्यालयमा कक्षा कोठामा पढाएर सम्मान गर्दै आउनु भएको छ ,’ प्रअ कँडेलले भने ‘अब महानगरले राज्यमा भएका विज्ञहरुलाई समेत विद्यालय शिक्षामा भित्राइ उनीहरुको अनुभव र दक्षता सदुपयोग गर्ने गरेको प्रयास प्रशंसनीय कार्य हो।’ उनले थप सुझाए ‘मावि तहमा सरकारले विषयगत शिक्षक दिन सकेको छैन भने अर्को तर्फ बाहिर नयाँ तथा पुराना दुबै थरि बिषय बिज्ञहरु छन्।

 हो यी विज्ञहरुलाई काठमाडौं महानगरले मात्र होइन अब सबै पालिकाले यस्तै थालनी गर्नु उचित हुन्छ।’ प्रअ कँडेलले हालै अवकास प्राप्त शिवपुरी माविका प्रअ दिवाकर दुरदर्शी पनि कम्प्युटर शिक्षाको विज्ञ भएकोले उनको पनि विज्ञता प्रयोग गर्न सकिने सुझाए।

उनले सधैं केन्द्रको मुक ताकेर बस्ने परम्परा तोकेर अब स्थानीय सरकारले आफनो शिक्षा आफै बनाउने तर्फ लाग्नु पर्नेमा जोड दिए। महानगरका प्रवक्ता नबिन मानन्धरले काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयको मावि तहमा विषयगत शिक्षक अभाव रहेकोले नजिकन्दै गएको एसइइ परीक्षाको लागि विद्यार्थीलाई तयारी गराउन विषयगत शिक्षक माग गरिएको जनाए। ‘महानगर शिक्षा विभागको विज्ञ टोलिले विषयगत शिक्षक छनौट गर्ने छ,’ उनले भने ‘ महानगरले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुधार गर्न पहल थालेको हो।’

प्रकाशित: ६ माघ २०७९ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App