७ वैशाख २०८१ शुक्रबार
शिक्षा

शिशिर खनालको शिक्षा मन्त्रीसम्मको यात्राः अब सुध्रेलान त कक्षा कोठा?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

शिक्षामन्त्री खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने प्रतिवद्घता जनाएका छन्।

शिक्षा मन्त्रालयमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले ‘शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने’ स्पष्ट गरे।

संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने, कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एंव गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने धारणा व्यक्त गरे।

काठमाडौं–६ बाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान र एमालेबाट पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हराउँदै निर्वाचित सांसद खनाल शिक्षा क्षेत्रका जानकार मानिन्छन्।  

टिच फर नेपालका संस्थापकमध्येका एक रहेका खनाल दुर्गम क्षेत्रको शिक्षा सुधारमा काम गर्दै आएका थिए।  ‘टिच फर नेपाल’ को नेतृत्व गरेका खनालले राजनीतिमा आउनुअघि सार्वजनिक शिक्षा सुधारको अभियान चलाएका थिए।

कोरोना महामारीका बेला विद्यालय बन्द भएका बेला उनले संक्रमणको अवस्था अनुसार संक्रमण नदेखिएका ठाउँमा निरन्तर विद्यालय खोल्नुपर्ने भन्दै अभियान चलाएका थिए। विगतमा उनले शिक्षा मन्त्रालयसँग जोडिएर नीतिगत काममा पनि गरेका थिए।

४३ वर्षीय खनाल टोखा १० गोंगबुका बासिन्दा हुन्। उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्।

२०७४ को चुनावपछि उनी तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएका थिए। आफूले पढेको विषय पनि सार्वजनिक नीति भएको र शिक्षाको क्षेत्रमा काम गरेकाले संसदमा गएर नीति निर्माणको काम गर्न सक्ने उनको भनाइ छ।

उनले महात्मा गान्धीको विचारमा आधारित सर्वोदय अभियानमार्फत श्रीलङ्का, भारत, अमेरिकालगायतका ठाउँहरुमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापनका उल्लेखनीय काम गरेका छन्।

नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा प्रभावकारी काम गर्न सफल ‘टिच फर नेपाल’ को स्थापना र नेतृत्व गरी सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजार भन्दा बढी विद्यार्थीमा गुणस्तरीय शिक्षाको पहुँच निर्माणमा पनि उनको योगदान उल्लेखनीय नै रहेको छ।

तुलसीपुर उप–महानगरपालिका दाङको शिक्षा सल्लाहकार रही नीति निर्माण र शैक्षिक रुपान्तरणको खाका कोर्ने काममा पनि उनको योगदान रह्यो। भूकम्प, मधेस आन्दोलन र कोभिडको समयमा राहत वितरणका साथै शिक्षाको अवसरबाट वञ्चित बाल–बालिकाको अध्ययनको निरन्तरताको लागि राष्ट्रिय स्तरमा वकालत गरे। उनले सह–संस्थापकको रुपमा ५० भन्दा बढीलाई रोजगारी निर्माण गरेका छन्।

खनाल १२ वर्ष अघि नेपाल आएका थिए। उनले नेपाल आएर टिच फर नेपाल नामक संस्था स्थापना गरे। त्यो संस्थामार्फत सरकारी विद्यालयहरूमा शिक्षाको सुधार गर्ने काम गर्दै आएका थिए।

उनीसँग कक्षा कोठादेखि स्थानीय सरकारमा काम गरेको अनुभव छ। खनाल मन्त्री भएपछि शिक्षा क्षेत्र सुधार आउने जनअपेक्षा छ।

प्रकाशित: ३ माघ २०७९ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App