१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

स्तरीकृत परीक्षा लिने तयारीमा परीक्षा बोर्ड

‘प्रश्नपत्र निर्माण गर्ने र उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकमाथि प्रश्न उठिरहन्छ। धेरै गुनासो आएपछि राष्ट्रिय परीक्षा बोर्डले गणित विषयको एउटै पेपर ५० जनालाई परीक्षण गर्न लगायो। तर, परीक्षण गर्दा ३० अंकको फरक देखियो। गणित जस्तो विषयमा यो अन्तर आउनु भनेको हामी शिक्षा क्षेत्रमा लागेका व्यक्तिमाथिको प्रश्न हो,’ चितवनमा भएको स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सिप विकास गर्न प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने। एउटै पेपरमा १० प्रतिशतभन्दा बढी अन्तर आउनु राम्रो मानिँदैन।  

यसलाई दृष्टिगत गर्दै राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक गुणस्तर सुधार गर्न स्तरीकृत परीक्षा लिने तयारी गरेको छ। कक्षा ८, १० र १२ कक्षमा स्तरीकृत परीक्षालाई एकरूपता ल्याउनको लागि आगामी वर्षदेखि स्तरीकृत परीक्षा लिने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले जानकारी दिए।

‘बोर्डले आगामी वर्षको एसइईमा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा लिने तयारी गरेका छौं। यसका लागि प्रश्न निर्माण गरी परीक्षा परीक्षण गर्ने कार्यसमेत भइरहेको छ,’ उनले भने, ‘विस्तारै कक्षा ८ र १२ मा पनि लागु गर्छाैं।’ कक्षा ८ को स्तरीकृत परीक्षाका लागि प्रश्नहरूको पूर्वपरीक्षा शैक्षिक सत्र २०८० देखि सुरुवात गरिने उनले बताए। पहिलो चरणमा २ सय ५० पालिकाहरू छानिने छन्।  

कक्षा १२ को हकमा ‘कक्षा १२ को परीक्षा सञ्चालन ढाँचा’ तयार पार्ने कार्य सुरु गरिएको उनले बताए। पहिलो चरणमा ९ वटा विषयमा प्रश्न निर्माण गरी तेस्रो वर्षमा पूर्वपरीक्षा र तयारी गरी चौथो वर्षदेखि स्तरीकृत परीक्षा सञ्चालन गर्ने योजना रहेको उनले बताए। बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गर्न पाठ्यक्रममा आधारित भई विषय विज्ञबाट प्रश्न तयार गरी मूल्यांकनका स्थापित मूल्य, मान्यता र मापदण्डमा आधारित परीक्षा प्रणाली आगामी वर्षबाट सुरु हुने गरी आवश्यक गृहकार्यका साथ तयारी गरिरहेको छ। यसलाई सुरुमा कक्षा १० को अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा लागु गर्ने र क्रमशः अन्य सबै विषयमा लागु गर्ने लक्ष्य बोर्डले राखेको छ।  

शैक्षिक मूल्यांकनलाई खास स्तरको मापदण्डमा पुर्‍याई उच्च गुणस्तरयुक्त, उत्कृष्ट र सर्वस्वीकार्य गुण भएको परीक्षालाई नै स्तरीकृत परीक्षा मानिन्छ। यस्तो परीक्षामा निर्माण गरिने प्रश्नहरू विज्ञहरूद्वारा निर्माण, अंक र परीक्षाफलको व्याख्याका सर्वमान्य आधारहरू अवलम्बन गरी तयार पारिएको हुन्छ। परीक्षामा परीक्षणमा हुन सक्ने त्रुटि न्यूनीकरणका लागि परीक्षाको पूर्वपरीक्षण गरिएको हुन्छ। परीक्षामा एकरूपता समेत रहने शर्माले बताए।  

‘स्तरीकृत परीक्षामा एकपटक विद्यार्थीसँग परीक्षण गरिन्छ। परीक्षणबाट प्रमाणित भएका प्रश्नपत्रहरू प्रयोग हुन्छ। यस्तो खालको प्रश्नपत्रहरू हजारौं बनाएर पालिका, प्रदेश र केन्द्रमा प्रश्नको बैंक बनाउने र आवश्यकताको आधारमा प्रश्न लिएर परीक्षा लिने हुन्छ,’ उनले भने, ‘यो हिसाबले एक पालिका अर्को पालिकाको तुलाना, एक प्रदेश अर्को प्रदेशका विद्यार्थीसँगको तुलना गर्न योग्य हुन्छ। प्रश्नपत्रको गुणस्तरीयता हुन्छ। विद्यार्थीको वास्तविक मूल्यांकन गर्न सकिन्छ।’  

स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माणसम्बन्धी तालिम देशभर सञ्चालन गरिएको उनले जानकारी दिए। ७ सय ५३ स्थानीय तहमा प्रश्नपत्र निर्माणका लागि शिक्षकहरूलाई तालिम नै प्रदान गरिने योजना रहेको उनले बताए। ‘अहिले जिल्ला जिल्लामा प्रशिक्षक तयार हुँदै हुनुहुन्छ। उहाँहरूले स्थानीय तहमा गएर तालिम दिनुहुन्छ,’ उनले भने, ‘स्थानीय तहको संयोजनमा उहाँहरूले विद्यालयमा दिनुहुन्छ।’ प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षण गर्ने तरिकासम्म सिकाउने उनले बताए।  

हाम्रो मुलुकमा अहिलेसम्म प्रचलित विद्यालय तथा विश्वविद्यालयका कुनै पनि परीक्षा यस्तो मान्यतामा आधारित छैनन्। देश संघीय प्रणालीमा गएपछि कक्षा ८ को परीक्षा स्थानीय तह, १० को प्रदेश र १२को परीक्षा संघीयस्तरबाट हुँदै गएको छ। यसरी परीक्षा लिँदा विद्यार्थीको मूल्यांकनमा एकरूपता हुन नसकेको छैन। तर, स्तरीकृत परीक्षा प्रणाली लागु भए शैक्षिक गुणस्तर सुधार गर्न सहज हुने शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रशिक्षक श्याम प्रसाद आचार्य बताउँछन्। ‘अहिले ७ सय ५३ पालिका, सात प्रदेश र संघबाट परीक्षा हुँदा विद्यार्थीको गुणस्तर मूल्यांकन गर्न कठिन छ। समग्र विद्यार्थीको स्तर मूल्यांकन गर्न स्तरीकृत परीक्षा बनाउनु जरुरी छ,’ उनले भने, ‘विद्यार्थीको ग्रेडिङ गर्न पनि सहज होस्।’  

नतिजाको व्याख्यालाई परीक्षा दिने सम्पूर्ण विद्यार्थीको औसत उपलब्धिसँग तुलना गरेर हेरिन्छ। यसमा स्थापित सिद्धान्तहरूमा आधारित भई योजनाबद्ध र चरणबद्ध रूपमा परीक्षा सञ्चालन गरिने उनले बताए। 

प्रकाशित: २१ पुस २०७९ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App