१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

चन्दाकै भरमा ठडियो पोखरा बहुमुखी क्याम्पस भवन

पोखरा बहुमुखी क्याम्पसले बनाएको नयाँ भवन । यो भवन चन्दा उठाएकै भरमा तयार भएको छ। तस्बिरः नागरिक

चन्दा उठाएकै भरमा पोखरा बहुमुखी क्याम्पसले सुविधासम्पन्न भवन ठड्याएको छ। क्याम्पस बनाउन करिब पाँचकरोड रुपैयाँ चन्दा उठाइएको थियो। गण्डकी प्रदेशको पहिलो सामुदायिक शिक्षण संस्था भएपनि यो क्याम्पसको आफ्नै भवन थिएन।

स्थापना भएको ३६ वर्षपछि क्याम्पसले पहिलोपटक सुविधासम्पन्न भवन बनाउन सकेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताईन। उनका अनुसार अहिलेसम्म पोखरा–९ नयाँबजारको महेन्द्र माविभित्रै यो क्याम्पस संचालनमा थियो। अब भने पोखरा–९ शान्तिवन बाटिका परिसरमा बनेको नयाँ भवनबाट आगामि दिनका शैक्षिक क्रियाकलाप सुरु हुने उनले बताईन।

क्याम्पस प्रमुख पराजुलीका अनुसार नयाँ भवनमा अपांग तथा प्रविधिमैत्री सुविधा छन्। भवन बनाउन पाँचकरोड रुपैयाँ भन्दा बढि लगानी भएको उनले बताईन। चार रोपनी क्षेत्रफल जग्गामा अहिले क्याम्पसको २३ कोठे पक्की भवन तयार भएको छ। नयाँ भवन प्रवेशको अवसर पारेर बुधबार पञ्चेबाजासहित नगर परिक्रमा गराइएको थियो।  

शिक्षा क्षेत्रमा बढ्दो रुचि र सीमित शैक्षिक संस्थाको कारण विद्यार्थीको चापलाई पृथ्वीनारायण क्याम्पसले थेग्न नसकेपछि पोखरा–१ टुँडीखेलमा २०४४ साल मंसिर १४ गते यो क्याम्पस स्थापना भएको थियो। तत्कालीन नगर पञ्चायत, जिल्ला पञ्चायत, उद्योग वाणिज्य संघ, अञ्चलाधीश कार्यालय, समाज सेवी, शिक्षाप्रेमीको अगुवाइमा क्याम्पस संचालन सुरु भएको थियो।

क्याम्पसले अहिले चारवर्षे स्नातक तहमा मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराइरहेको छ। क्याम्पस प्रमुख पराजुलीले सहयोगी दातको भरमा क्याम्पसले पूर्णता पाएको बताईन। ‘पोखराका उद्योगी, व्यवसायी सहित सबै क्षेत्रबाट अहिले चन्दा आएको छ,’ उनले भनिन, ‘चन्दाकै भरमा संरचना तयार भएको हो।’

 टुँडीखेलमा सुरु भएको क्याम्पसलाई पूर्वाधार अपुग भएपछि २०५९ मा तत्कालीन महेन्द्र निमावि को हाताभित्र स्थानान्तरण भएको थियो। ‘आफ्नै स्वामित्वमा जग्गा तथा भवनको अभाव हुँदा माग अनुसार थप शैक्षिक कार्यक्रम वृद्धि गर्न सकिएन,’ उनले भनिन, ‘अब अरु विषयमा अध्यापन गराउन योजना बनाएका छौं।’  

नयाँ भवन प्रवेश तथा ३६औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले क्याम्पसले आफ्नै पूर्वाधार नहुँदा दुख पाएको बताए। ‘पोखराकै इतिहास बोकेको क्याम्पसले धेरै दुख खेप्यो,’ मन्त्री थापाले भने, ‘बल्ल क्याम्पसले पूर्णता पाएको छ। अब यसलाई अब्बल बनाउँदै लैजानुपर्छ।’ उनले आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्ने वचन पनि दिए। थापाले क्याम्पसको पाठ्यक्रममा प्रयोगात्मक र समायानुकुल विषय थप गर्न समेत आग्रह गरे।  

क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस आफ्नै भवन सर्नुमा सम्पूृर्ण पोखरेलीको साथ र सहयोग रहेको बताए। ‘सम्पूर्ण मनकारी संस्था र सहयोगी हातको भरमा यो क्याम्पसले पूर्णता पाएको छ,’ उनले भने, ‘अब पनि यसलाई समुदायकै माया र सहयोग चाहिन्छ।’  

क्याम्पसले सुरुदेखि नै मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको थियो। सुरुमा प्रवीणता प्रमाणपत्र तहमा अध्यापन गराएको यो क्याम्पसले २०६० देखि स्नातक तहतर्फ बिबिएस र बिएका कक्षा संचालन गर्दै आएको छ। हाल चारवर्षे बिए र बिबिएसमा यहाँ अध्यापन हुन्छ । क्याम्पसमा अहिले ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।  

अध्यक्ष लालचनका अनुसार नयाँ संरचना थप्नका लागि पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसीको कार्यकालमा यो क्याम्पसले जग्गा पाएको थियो। ‘जग्गा त पायौं, तर, भवन बनाउन पैसा थिएन। दाता खोज्नुपर्ने दवाव हामिमा थियो,’ अध्यक्ष लालचनले भने, ‘अरु दाताको मन जित्न सहज होस भनेर भवन बनाउन म आफैले ५० लाख रुपैयाँ दिएर कोष खडा गरेको हुँ। त्यसपछि अरु दाता पनि आकर्षित हुनु भयो। अहिले सबैको सहयोगमा यो कामले गति लिएको हो।’  

प्रकाशित: १४ मंसिर २०७९ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App