८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

विश्वविद्यालय विशिष्टिकृत हुनुपर्छ: मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताएका छन्। विश्वविद्यालयहरू विशिष्टिकृत हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले गुणस्तरीय शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताए।  

काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण गरिएको ‘वातावरण भवन’ को आज उद्घाटन गर्दै मन्त्री पौडेलले काठमाडौँ विश्वविद्यालय प्राविधिक क्षेत्रको विषयमा अरु विश्वविद्यालयमध्येमा उदाहरणीय बन्दै गएको बताए।  

विश्वव्यापीकरणको युगमा इच्छाएको देशमा गएर अध्ययन गर्न पाउनु स्वभाविक भए पनि नागरिकले पढ्न चाहेको शिक्षा देशभित्रैबाट प्राप्त गर्न पाउने वातावरण विश्वविद्यालयहरुले बनाउनुपर्नेमा उनको जोड थियो। 'नागरिकले चाहेको शिक्षा देशभित्र नै प्राप्त हुनुपर्छ, त्यस्तो शिक्षा प्रदान गर्नु विश्वविद्यालयको दायित्व हो', उनले भने, 'राज्यले तोकेको प्रक्षेपणअनुसार कुन प्रकृतिको जनशक्ति कति उत्पादन गर्ने भन्ने विवरण विश्वविद्यालयहरुले निर्धारण गर्नुपर्छ।'

विश्वविद्यालय खुल्दै जाने र पुरानै खालको विषय बढाउँदै जाने हो भने सङ्ख्या मात्रै थपिन्छ तर सङ्ख्याभन्दा पनि गुणस्तरमा जोड दिन उनले आग्रह गरे। मन्त्री पौडेलले प्रदेशलाई पनि संविधानले दिएको अधिकारअनुसार विश्वविद्यालयहरु खोल्ने मान्यता दिएको बताए। रासस

प्रकाशित: ११ मंसिर २०७९ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App