मुलुकको दोस्रो ठुलो दल नेकपा (एमाले) को ११औं महाधिवेशन शनिबारबाट भक्तपुरमा सुरु भएको छ। गत भदौ २३ को जेनजी अभियान, त्यसलाई दुरुपयोग गर्दै सुरु भएको तोडफोड र आगजनी, त्यसको प्रतिकारमा भएको युवाहरूको मृत्यु र भोलिपल्ट २४ गते देशमा गरिएको विध्वंसात्मक गतिविधिपछि एमाले सत्ताबाट बाहिरिएको छ। मुलुकमा लोकतन्त्रका निम्ति लडेका प्रमुख दलको राजनीतिक अवसानको कामना गर्नेहरूलाई एमालेले आयोजना गरेको महाधिवेशनले आश्चर्यमा पारिदिएको छ।
केही समयका निम्ति प्रमुख दलको अस्तित्व नै समाप्त भइसक्यो कि भन्ने भ्रम पनि रहेको हो। लामो योजना गरेर गरिएको आक्रामक गतिविधिबाट सरकारले राजीनामा गर्नुपरेको अवस्था हो। त्यसपछि नेपाली सेनाको अगुवाइमा मुलुकमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सरकार भदौ २७ देखि बहाल छ। यो अवधिमा एमाले र अर्को प्रमुख दल नेपाली कांग्रेसले आफूलाई समाल्न कोसिस गरिरहेका छन्। कांग्रेसले पनि आफ्नो महाधिवेशन सम्पन्न गर्न र आगामी राजनीतिको कार्यभार लिन एमालेबाट राम्रै प्रेरणा लिएको हुनुपर्छ।
एमाले र कांग्रेस मात्र होइन अन्य दलले पनि आफूलाई परिवर्तित सन्दर्भमा क्रियाशील तुल्याउन भूमिका खेल्नुपर्ने देखिएको छ। मुलुकका यी दलहरूले विगतमा राजनीतिक परिवर्तनका निम्ति क्रियाशील भूमिका खेलेका छन्। सुशासनका सन्दर्भमा तिनको कमजोरी रहे पनि मुलुकलाई लोकतान्त्रिक चरित्र दिन तिनले प्रभावकारिता देखाएका छन्। दक्षिण एसियामा नेपाल मात्र यस्तो मुलुक हो, जहाँ तुलनात्मक रूपमा बढ्ता लोकतान्त्रिक अभ्यास भएका छन्। सधैं नकारात्मकता र घृणा चिन्तनले मात्र मुलुकलाई मार्ग दिँदैन। यसतर्फ पनि विचार गर्नुपर्ने हुन्छ।
एमालेले बितेका ७७ वर्षको कम्युनिस्ट आन्दोलनको निरन्तरताका रूपमा आफूलाई प्रस्तुत गरेको छ। जेनजी गतिविधिका नाममा सिर्जना गर्न खोजिएको ‘आतंकको राज’लाई एमालेले यतिबेला चिर्न ठुलो भूमिका खेलेको छ। जेनजी अभियन्ताले मुलुकमा सुशासनका निम्ति आन्दोलन अघि बढाए पनि त्यसलाई आततायी समूहले आफ्नो हातमा लिई ठुलो विध्वंस गरेको छ। त्यो विध्वंसलाई ‘जनआन्दोलन’को मान्यता कुनै हालतमा दिन सकिँदैन।
प्रधानमन्त्री कार्कीसँग जेनजी समूहले गरेको भर्खरैको सम्झौताले यसलाई ‘जनआन्दोलन’ भनेर विध्वंसबाट उन्मुक्ति लिन खोजे पनि त्यो दण्डहीनता ग्राह्य हुने छैन। आन्दोलन वा अभियान सञ्चालन गर्नेले त्यसको जिम्मेवारी लिनुपर्छ। मुलुकको ८५ अर्ब रुपैयाँ बराबरको क्षतिको हिसाब खोज्नै पर्छ। तत्कालीन नेकपा (माओवादी) ले अहिले पनि द्वन्द्वकालका मानव अधिकार उल्लंघनका घटनामा जिम्मेवारीबाट मुक्ति पाइसकेको छैन। यसलाई पनि ध्यानमा राख्नु उचित हुन्छ।
एमाले महाधिवेशनले यसलाई पनि आफ्नो ध्यानमा राख्ने नै छ। कस्तो अवस्थामा मुलुकलाई अस्तव्यस्त तुल्याउन खोजियो भन्ने पक्षमा सबै दल र मुलुकमा सरोकारवालाहरूको ध्यान जानुपर्छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उद्घाटन मन्तव्यमा आफ्ना विगत कमजोरीलाई स्वीकार गर्नु उल्लेख्य पक्ष हो। आफ्ना कमजोरीबाट सिक्दै अगाडि बढ्नेले नै यथार्थमा सुखद भविष्य प्राप्त गर्न सक्छन्।
ओलीले भनेका छन्, ‘यति लामो यात्रामा हामीले कहिल्यै गल्ती गरेनौं या हामीबाट कमजोरी रहेन भन्ने होइन, तर हाम्रो निष्ठा, समर्पण र इमानप्रति हामीलाई गौरव छ। कम्युनिस्ट पार्टीको यही बलिदानी सङ्घर्षका बलमा आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ।’
नि:सन्देश मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्र प्रमुख दलहरूले गरेको उल्लेख्य योगदान हो। तर, यसलाई जनताका आकांक्षाअनुरूप बदल्न दलहरूले भूमिका खेल्न सकेनन्। सुशासनमा देखिएका कमजोरीका आधारमा देशमा केही भएन भन्ने भाष्य निर्माण गरी तहसनहस पार्ने काम भएको छ। मुलुकमा स्थापना गर्न खोजिएको आतंक र तानाशाही शासन व्यवस्था कुनै अर्थमा मान्य हुन सक्दैन। जेनजी अभियानका क्रममा मुलुकमा तोडफोड, आगजनी र लुटपाट नगरिएको भए अहिले स्थिति त्योभन्दा भिन्न हुन्थ्यो। परिवर्तनको उच्च मूल्यांकन गर्न सकिने थियो।
ओलीले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई महाधिवेशनको मञ्चबाट दोहोर्याएका छन्। यो महत्वपूर्ण पक्ष हो। देशहरू भूगोलमा साना वा ठुला भए पनि सार्वभौमसत्ता बराबर हो भन्ने आफ्नो उक्तिलाई उनले दोहोर्याएका छन्। यसैकारण आफूहरूमाथि ‘प्रहार’ भएको उनले उल्लेख गरेका छन्। कसैलाई मन परे पनि नपरे पनि संविधान बनाउने, विकासको बाटो रोज्ने, राजनीतिक प्रणाली बनाउने अधिकार आफ्नो रहेको उनको धारणा छ।
लोकतन्त्रप्रतिको उनको बाचा प्रशंसनीय छ। उनले विगतका कमजोरीबाट सिक्दै अगाडि बढ्नुपर्छ। मुलुकको लोकतान्त्रिक आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्ने एमालेले आन्तरिक लोकतन्त्रका निम्ति पनि उत्तिकै मार्गप्रशस्त गर्न सक्नुपर्छ। दलभित्र आपसी असमझदारीलाई हल गर्दै सबैका निम्ति साझा मञ्च बनाउन तत्पर हुनै पर्छ। यस्तो विषम परिस्थितिमा पनि उल्लेख्य सहभागितासाथ महाधिवेशन गर्ने आँटका निम्ति एमालेलाई बधाई भन्नै पर्ने हुन्छ। मुलुकको राजनीतिलाई सही दिशा निर्देश गर्न एमालेले अगुवाइ गर्न सक्यो भने त्यो सुखद पक्ष हुनेछ।
प्रकाशित: २८ मंसिर २०८२ ०६:१० आइतबार

