महको गुणस्तर कायम गर्न प्रशिक्षकलाई प्रशिक्षण दिइएको समाचार चितवनबाट प्राप्त भएको छ। चितवनसहितका आठ जिल्लाका किसान तथा कृषि प्राविधिकले पाएको तीन दिने तालिमबाट महको गुणस्तर कायम हुने अपेक्षा गरिएको छ। मह आफैंमा यस्तो गुणकारी वस्तु हो, जसलाई अमृतका रूपमा उपभोग गर्न सकिन्छ। अमृतलाई पनि गुणस्तरीय ढंगले वितरण गर्न सकिएन भने त्यसले अपेक्षित प्रतिफल दिन सक्दैन। हाम्रो मुलुकमा महको मात्र कुरा होइन, कैयन् गुणकारी खाद्य वस्तुको उपभोग गर्दा फाइदा होइन, बेफाइदा हुने अवस्था छ। मिसावटयुक्त यस्ता वस्तुको उपभोगबाट सर्वसाधारणमा स्वास्थ्य समस्या आउन सक्ने खतरा हुन्छ।
नेपालमा प्रतिवर्ष चार हजारदेखि पाँच हजार टन मह उत्पादन हुने अनुमान गरिएको छ। तर, चितवनमा यस अंग्रेजी वर्ष २०२५ को सुरुमा यसको उत्पादन घटेको भए पनि समग्रमा उत्पादन चार हजार टनकै हाराहारीमा हुन्छ। तुलनात्मक रूपमा मह स्वास्थ्यका लागि उपयोगी मानिन्छ। चिनीजन्य अन्य प्रशोधित गुलियो पदार्थभन्दा यसका लाभ बढी छन्। तैपनि मह खरिद गरेर खान डराउनुपर्ने अवस्था विद्यमान छ। उत्पादकबाट आएको मह गुणस्तीय भएको सुनिश्चित गर्नु एकदमै आवश्यक भइसकेको छ। बजारमा गुणस्तरयुक्त सामग्री पाइन्छ भन्ने विश्वास नभई स्वास्थ्यमा सचेत व्यक्तिहरू खरिदका निम्ति तयार हुँदैनन्। अन्ततः यसले किसानहरूलाई मर्कामा पार्छ।
एकातिर किसान आफ्ना उत्पादन बिक्री नभएर गुनासो गरिरहेका हुन्छन्, अर्कातिर यस्ता सामग्री नक्कली बनाएर बेचिरहेको पाइन्छ। बेलाबेलामा खाद्य तथा गुण नियन्त्रण विभाग, स्थानीय सरकार, प्रहरीलगायतले गुणस्तर नपुगेका सामग्री जफत तथा नष्ट गर्ने र कारबाही गरेको देखिन्छ। तर, यो मौसमी र चाडपर्व केन्द्रित मात्र हुन्छ। यथार्थमै उपभोक्ताप्रतिको जिम्मेवारी बोध हुने हो भने नियमित र आकस्मिक जाँच हुनैपर्छ। उत्पादनदेखि बिक्री गर्ने थलोसम्म अनुगमन गरेर सर्वसाधारणलाई आश्वस्त पार्न सकिन्छ। हामीकहाँ आम नागरिकले सबैभन्दा धेरै रुचाइएका सामग्रीमै सबैभन्दा धेरै समस्या देख्ने गरिएको छ।
यही अवस्था अन्य उत्पादनमा पनि देखिने गरेको छ। अचेल दुध, दही, घिउ आदि उपभोग गर्न चाहनेको कमी छैन। तर, गुणस्तरीय सामग्री नपाएपछि उपभोक्ता सामग्री खरिद गर्न डराउँछन्। राम्रो सामग्रीको उपभोगका लागि बजार भरिभराउ हुनु उत्तिकै जरुरी हुन्छ। यसै पनि हाम्रो मुलुक कृषिप्रधान भनिएको छ। तर, बिस्तारै कृषिका निम्ति अत्यावश्यक पशुपालनतर्फको हाम्रो ध्यान कम छ। प्रायः गाउँघरमा पनि अचेल पशुपालन गरी गुणस्तरीय दुग्धजन्य पदार्थ बजारमा पठाउने प्रचलन कम भएको छ। कतिपय ठाउँमा दुग्धजन्य वस्तु उत्पादन गर्ने स्थानीय खुवा, घिउ आदि बनाएर बेच्ने गरेको पाइन्छ। त्यसलाई व्यापक स्तरमा लगी बिक्रीवितरण बढाउन सक्ने हो भने उत्पादक किसानलाई फाइदा हुन्छ नै, सर्वसाधारणको स्वास्थ्यमा पनि सकारात्मक प्रतिफल प्राप्त हुन्छ।
अचेल बजारमा लैजानेबित्तिकै राम्रोसँग नगद प्राप्त हुने अनेकन् अन्न तथा अन्य उत्पादन नभएका होइनन्। देशमै विदेशबाट ल्याएर स्याउ, सुन्तला र अन्य फलफूल बिक्री भइरहेका छन्। तर, देशभित्रैका यस्ता सामग्रीले यथोचित बजार नपाएको गुनासो छ। हाम्रा गाउँठाउँमा पाइने फलफूल, अनाज र पशुजन्य उत्पादनबारे अनुसन्धान र विकास गरी बजार विस्तार गर्न सकिन्छ। त्यसतर्फ खासै चासो राखेको देखिँदैन। देशभित्रै उत्पादन हुने कृषिजन्य वस्तुको आयातमा जोड दिनुभन्दा यहीं उत्पादन गर्ने तत्परता हुनुपर्छ। हामीकहाँ उत्पादन हुने हरिया सागपात र अन्य तरकारीले बजार नपाउनु तर बाहिरबाट ल्याइएका वस्तुले नेपाली भान्सामा सजिलै पहुँच पाउने अवस्था आउनु आफैंमा चिन्ताको विषय हो।
यी समग्र स्थितिका आधारमा गुणस्तरीय उपभोग्य सामग्री उत्पादनमा ध्यान दिन ढिला भइसकेको छ। दैनिक उपभोग्य वस्तुसमेत बाहिरबाट ल्याएर अर्थतन्त्रमा खासै उपलब्धि हुँदैन। हामीले यहाँ उत्पादन हुने वस्तुमा समेत ध्यान दिइँदैन। महजस्तो गुणकारी खाद्य वस्तुको समेत उत्पादन गुणस्तरीयतामा ध्यान नदिँदा किसानलाई मर्का परेको छ। महको मामिला सामान्यजस्तो भए पनि हाम्रो उत्पादनको गुणस्तरसँग जोडिएको पक्ष हो। हाम्रा उत्पादनप्रति नागरिकलाई आश्वस्त तुल्याउने हो भने उद्यमशीलता बढ्छ। यसैले रोजगारीसमेत बढाउँछ। अन्यथा, गुणस्तरीय वस्तु उत्पादन गरेर पनि बजारमा पहुँच नहुन सक्छ। यसले हाम्रो व्यापार घाटा कम गर्नसमेत सहज हुन्छ। त्यसतर्फ सरकार, किसान र यससँग जोडिएका व्यक्तिको ध्यान पुग्नु आवश्यक छ।
प्रकाशित: १० कार्तिक २०८२ ०६:०९ सोमबार

