१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २१:१७ अपराह्न
सम्पादकीय

मृत्यु र मुस्कानको संगम गाईजात्रा

उपत्यकाका साँघुरा गल्लीहरूमा धूपको गन्ध मिसिएको छ, कतै मृदंगको ताल, कतै बाँसुरीको मधुर स्वर। भीडको बिचबाट रंगीचंगी लुगा लगाएका बालबालिका, काँधमा बाँसको गाई, हातमा धूप र फूल– यो दृश्य कुनै सामान्य उत्सवको होइन, यो हो गाईजात्रा। जहाँ मृत्युको शीतल छायाँ र जीवनको तातो रङ एउटै बाटोमा हिँड्छन्।

यो केवल जात्रा होइन, यो जीवनको दार्शनिक गाथा हो। जहाँ मान्छेले मृत्युलाई डर होइन स्मृति र व्यंग्यको आलिंगन दिन सिक्छन्। नेवार भाषामा ‘सापारु’ भनिने यो पर्वको प्रारम्भिक कथा राजा प्रताप मल्लसँग जोडिएर आउँछ। पुत्र–शोकमा डुबेकी रानीलाई सान्त्वना दिन उनले आफ्नो राज्यमा रहेका मृतकका परिवारलाई नगरमा यात्रा आउन आग्रह गरे भन्ने कथा छ। यसो भए पनि गाईजात्राको इतिहास प्रताप मल्लभन्दा धेरै पुरानो रहेको इतिहासविद्ले दाबी गर्दै आएका छन्।

गोपाल वंशावलीमा ‘साँ यात’ ले गाईजात्राबारे वर्णन गर्छ। जसले ६ सय वर्ष अघिदेखि यो संस्कारको जरा उपत्यकाको माटोमा गाडिएको पुष्टि गर्छ। लिच्छविकालमै ‘गौ युद्ध’ र मृत्यु संस्कारमा गाईको प्रयोग हुन्थ्यो। सायद, जीवनको उत्सव र मृत्युको बिदाइ एउटै आकाशमुनि सधैं साथसाथै बग्ने सन्देश थियो त्यो।

उहिले गाईजात्रामा वास्तविक गाईको परिक्रमा थियो। मृतकको लिंग र उमेरअनुसार गाईको सजावट फरक हुन्थ्यो। रातो र नीलो कपडाले मृत महिला, डोकोको सानो गाईले मृत बालक र दोजियाका लागि बाच्छोसहित गाईको प्रयोग गरिन्थ्यो। घर लिपपोत गरिन्थ्यो, गोदान दिइन्थ्यो, रुनु अनिवार्य थियो। किनकि आँसु मृतकप्रतिको अन्तिम श्रद्धाञ्जली मानिन्थ्यो।

अहिले सहर बदलियो, गल्ली साँघुरा भए, भीड बाक्लियो। गाईलाई बाँसको ‘फ्रेम’ले प्रतिस्थापन गर्‍यो। डोकोको गाईमा रंगीन कागजको फूल टाँसियो। आज त कतै मृतकको तस्बिर राखिन्छ, कतै बच्चाहरूलाई कृष्ण–राधा, शिव–पार्वतीको भेषमा सजाएर घुमाइन्छ। यसले जीवन र मृत्यु अब एउटै रंगमञ्चमा एकसाथ अभिनय गरिरहेका छन् कि भन्ने अनुभूति गराउँछ।

गाईजात्राको आत्मा भने शोकमा पनि हाँसोको पराग छर्नु हो। यस पर्वले मृत्युको कठोर सत्यलाई व्यंग्यको मधुर चस्माबाट देखाउँछ। प्रताप मल्लको जनश्रुतिले यही भन्छ। गाईजात्राले पनि रानीको पीडा कम नगरेपछि उनले हास्य र व्यंग्यलाई मिसाए। किनभने कहिलेकाहीँ आँसुको भारी केवल हाँसोको पंखाले मात्र हल्का हुन्छ। मल्लकालीन हास्य र व्यंग्य पछिल्लो समय कलाकारको पर्व बनेको छ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र - यी राजनीतिक परिवर्तनहरू केवल शासन व्यवस्थामा मात्र आएनन्, अभिव्यक्तिको स्वरूपमा पनि आए। गाईजात्राले यसबाट लाभ पायो। परम्परागत व्यंग्य र हास्यको सुत्रलाई नयाँ युगको विषयवस्तुसँग बाँधेर कलाकारहरूले राजनीतिक असन्तुलन, सामाजिक विभेद, र आर्थिक अन्यायलाई उजागर गर्न थालेका छन्। विगतमा पञ्चायत व्यवस्थाको बोल्न नपाइने कालमा पनि गाईजात्रा एउटा अभिव्यक्तिको मुखर पर्व रहेको हो। आज काठमाडौंका रंगमञ्चदेखि सामाजिक सञ्जालसम्म कलाकारहरूले आफ्नो वेशभूषा, संवाद, नाच र गीतमार्फत सत्ताको अकर्मण्यता, भ्रष्टाचार, मूल्यवृद्धि, बेरोजगारी र सामाजिक विकृतिमाथि व्यंग्य प्रहार गर्छन्। यो अखण्ड परम्परालाई आजका कलाकारले पनि जीवन्त तुल्याइरहेका छन्।

गाईजात्रा वर्ष दिनको पर्व हो तर सिंहदरबारको गल्लीमा यो उत्सव कहिल्यै सकिँदैन। यहाँ वर्षैभरि गाईजात्रा चल्छ। कहिले सरकार ढल्ने, कहिले गठबन्धनको अन्त्य, कहिले आदर्श चिहानमा पुग्ने। नेवारी कथन छ - ‘गाईले बाटो देखाउँछ, मान्छेले गन्तव्य’। हाम्रो राजनीतिमा भने गाईजस्तो निरीह जनता बाटो देखाउँछन्, गन्तव्य भने सत्ताको आँगनमै घुमिरहन्छ। नेताहरूको बग्गी भव्य छ - अगाडि जनताको आशा, पछाडि स्वार्थको बोरा र बिचमा घोषणापत्रको धुजा।

राजनीतिक दलहरू पनि अद्भूत कलाकार हुन्। आजका शत्रु, भोलिका मित्र, आज नैतिकता, भोलि सौदाबाजी, आज ‘जनता पहिला’, भोलि ‘पार्टी मात्र’। यहाँ चरित्र स्थिर छैन, केवल कुर्सी स्थिर रहोस् भन्ने चाहना मात्र छ। गाईजात्रे बग्गी टोलभरि घुम्छ, राजनीतिक गाईजात्राको बग्गी पाँच वर्षसम्म कुर्सी वरिपरि मात्र घुम्छ।

राजा प्रताप मल्लले गाईजात्रा व्यंग्य र सत्यको उत्सव बनाए तर आधुनिक नेताहरूले यसलाई जीवनशैली नै बनाए। जनताको आँसु, हाँसो र सहनशीलतालाई सधैं मञ्च सजाउने साधन बनाए। यसरी देशको राजनीति एउटा दीर्घकालीन जात्रा हो, जसको कुनै ‘अन्तिम दिन’ छैन।

जबसम्म सत्ताको बजारमा सौदाबाजीको रौनक छ र जनताको मौन सहमति त्यसको मौन संगीत बनिरहन्छ तबसम्म भदौको जात्राले वर्षको मात्र होइन, नेपालको सम्पूर्ण राजनीतिक समय तालिका नै कब्जा गर्नेछ। आजका दिन सडक नै व्यंग्यको खुलामञ्च छ। असमानता, भ्रष्टाचार, अन्याय सबैलाई मजाकको पर्खालमा टाँसिन्छ।

फर्कौं फेरि संस्कृतिमै, आज गाईजात्रा उपत्यकाभित्र मात्र सीमित छैन, यसले उपत्यकाबाहिर पनि आफ्नो जरा फैलाइसकेको छ तर आधुनिकता र व्यावसायिकताको भीडमा यसको मौलिकता विस्तारै हराउँदै जाने खतरा छ।

हामीले बिर्सिनु हुँदैन - गाईजात्रा केवल दृश्य–श्रव्य उत्सव होइन, यो हाम्रो सांस्कृतिक मानसको ऐना हो। यसमा हाम्रा पीडा, हाँसो, सामूहिक स्मृति र बाँच्ने दृढता अटेका छन्। गाईजात्राले हामीलाई सम्झाउँछ - जीवन एक क्षणभंगुर फूल हो, जुन आज फुल्छ, भोलि मर्छ। त्यो फूलको सुगन्ध स्मृतिको बगैंचामा सधैं रहिरहन्छ। मृत्यु अपरिहार्य छ तर स्मृति र मुस्कान अमर छन्।

आँसुका थोपा र हाँसोका छालहरू एउटै नदीमा बगिरहेको देख्दा, लाग्छ– हामीले जीवनलाई यस्तै बाँच्नुपर्छ। शोकलाई सम्मानका साथ र हाँसोलाई निर्भीक हृदयका साथ। गाईजात्रा त्यसैको प्रतीक हो - जहाँ मृत्यु पनि जीवनको उत्सवमा घुलमिल हुन्छ र जीवन मृत्युको सत्यसँग हाँस्दै अगाडि बढ्छ।

प्रकाशित: २५ श्रावण २०८२ ०६:१० आइतबार

Download Nagarik App
Download Nagarik App