कात्तिकको गाढा रात अँध्यारोले मात्र होइन, उज्यालोको प्रतीक्षामा पनि हुन्छ। जब दीपावलीको दियो घर–घरमा बल्छ, त्यसले केवल घरको अँध्यारो हटाउने काम मात्रै गर्दैन, मनको अँध्यारो पनि पखाल्छ। तिहारको अर्थ यही हो– अँध्यारोमाथि उज्यालोको विजय, निराशामाथि आशाको विजय, लोभमाथि प्रेमको विजय। तर, के हाम्रो समाज, राजनीति र मनोविज्ञान पनि उज्यालो भएको छ? यही प्रश्न आजको तिहारले हामीलाई सोधिरहेको छ। किनकि बाहिर बिजुलीको झिलिमिली छ, तर मन र शासनमा चेतनाको उज्यालो अझ बल्न सकेको छैन।
तिहार, जसलाई हामी दीपावली पनि भन्छौं, यो केवल दियो बाल्ने पर्व मात्र होइन। यो उत्सव अँध्यारोमाथि उज्यालोको विजयको प्रतीक हो। आशा, सद्भाव र चेतना जागरणको पर्व हो। औंसीको कालो रातलाई उज्यालोले जित्ने यो पर्वले हामीलाई निराशा र अन्यायको अँध्यारोलाई अन्ततः सत्य, प्रेम र सहानुभूतिको उज्यालोले जित्न सक्छ भन्ने सन्देश दिन्छ।
ठ्याक्कै यसै सन्देशको गहिरो प्रतीक हालसालै देशभर फैलिएको जेनजी आन्दोलनमा पनि देख्न सकिन्छ। लामो समयदेखि थुप्रिएको असमानता, अन्याय र भ्रष्टाचारको अँध्यारोबिच युवा पुस्ताले विद्रोह गरेर देशलाई उज्यालोको बाटोतर्फ धकेल्ने प्रयास गरेको छ। जस्तै तिहारमा दियो बालिन्छ, जेनजी आन्दोलन देशको निसासिएको लोकतन्त्रमा जनचेतनाको दियो बनेर बल्यो।
जेनजी आन्दोलनले यही अँध्यारो चिर्न खोज्यो। त्यो केवल विद्रोह थिएन, त्यो एक दियो थियो। युवाहरूले सडकमा असमानता, स्वार्थ र भ्रष्टाचारको कालो रातविरुद्ध उज्यालो बोकेर हिँडे। जसरी तिहारमा दियो बालिन्छ, उनीहरूले पनि देशको चेतनामा दियो बाल्न खोजे। त्यो दियो सानो थियो, तर उसको प्रकाशले एउटा पुस्ताको मौनता भंग ग¥यो।
कागको सन्देश, कुकुरको निष्ठा, गाईको ममता, गोरुको श्रम र दिदीबहिनीको स्नेह तिहारका बिम्बहरू हुन्। यी सबै केवल पूजाका रूप होइनन्, एक सांस्कृतिक घोषणापत्र हुन्। तिनीहरूले जीवनका सबै रूप र सम्बन्धको सम्मान गर्न सिकाउँछन्। जेनजी आन्दोलन पनि यही चेतनाको विस्तार हो। युवाले आफ्नो देशप्रतिको निष्ठा कुकुरको जस्तै देखाए– मालिकप्रति होइन, सत्यप्रति। उनीहरूले कागझैं मृत्यु होइन, पुनर्जागरणको सन्देश बोके। गोरुझैं श्रम र घाम सहँदै देशलाई ताने र गाइझैं करुणा बोकेर आवाज उठाए। त्यसैले यो आन्दोलन केवल राजनीतिक घटना होइन, देशको आत्माको दीपावली हो।
तिहारमा हामी काग, कुकुर, गाई, गोरु, गोवर्धन र अन्ततः दाजुभाइ–दिदीबहिनीको पूजा गर्छौं। यही बेला नेवार समुदायले म्हःपूजा गरेर आफैंप्रतिको विश्वास पनि अभिव्यक्त हुन्छ। यसको गहिरो अर्थ यही हो– जीवनका सबै रूप र सम्बन्धको सम्मान गर्न सिकाउने। मानव र प्रकृतिबिचको सामञ्जस्यलाई पुनस्र्थापित गर्ने। यस्तै भावना जेनजी आन्दोलनको जरोमा पनि थियो– शक्ति र स्वार्थको नशामा हराएका नेताहरूमाथि जनताको सम्मान र समानताको चेत जागरण गर्ने।
राजनीतिक अँध्यारो केवल सत्ताको गल्ती होइन, हाम्रो मौनताको परिणाम पनि हो। तिहारले सिकाउँछ– दियो बाल्नुपर्छ, अँध्यारोलाई गाली गरेर मात्र उज्यालो आउँदैन। जनजी आन्दोलनले पनि देखायो– परिवर्तनका लागि प्रकाश बाल्नैपर्छ। त्यो प्रकाश सडकमा बालिएको आवाज हो, युवाको विद्रोही चेत हो र पुरानो राजनीतिक संस्कृतिविरुद्धको सामूहिक पुकार हो।
तिहारले सिकाउँछ– घर सफा गर्दा मन पनि सफा गर्नुपर्छ। राजनीतिमा पनि यही सूत्र लागु हुन्छ। आज दलहरू घरझैं बनेका छन्, तर भित्तामा फट्याङ्ग्रा, छानामा धुलो र झ्यालमा अन्धकार। जनताको विश्वास जस्तै ती झ्यालहरू बन्द छन्। दीपावलीको रातमा जसरी हरेक कोठा उज्यालो पारिन्छ, अब दलहरूले पनि आफ्नो अन्तरात्मा उज्यालो पार्नैपर्छ। जनताको घरमा उज्यालो बल्दा नेताहरूको हृदयमा अँध्यारो रहनु भनेको विडम्बना हो। त्यसैले यो तिहार दल र सरकारका लागि आत्मपरीक्षणको बेला हो। यमपञ्चकमा गरिने पूजा जसरी जीवन, प्रकृति र सम्बन्धको उज्यालो पक्षलाई जागृत पार्छ, त्यसरी नै जेनजी आन्दोलनले देशको राजनीतिक जीवनमा नयाँ नैतिकता, जिम्मेवारी र जबाफदेहिताको माग उठाएको छ। यो केवल विरोध होइन, पुनर्जागरणको प्रयास हो।
सानो भए पनि अँध्यारोलाई चुनौती दिने जेनजीका युवाहरू तिहारका दियोजस्तै हुन्। आफू जलेर अरूलाई उज्यालो दिने दियोको गुण हो। जेनजीले त्यही आत्मा बोकेका छन्। आन्दोलनले देखाएको असल बाटो ननिभाओस्, विरोध विनाश होइन, निर्माणको प्रकाश बनोस्। यो पुस्ताले राज्यलाई सम्झायो कि देश केवल सरकारको होइन, जनताको हो।
राज्यका लागि तिहारको सन्देश अझ गहिरो छ। बन्दुकले अँध्यारो हटाउँदैन, दमनले देश उज्यालो हुँदैन। तिहारका कथा जसरी यमराज र यमुनाको प्रेम र क्षमाको प्रतीक हुन्। त्यस्तै राज्यले पनि आफ्ना नागरिकप्रति करुणा र न्याय देखाउनुपर्छ। देश केवल कानुनले होइन, सहानुभूति, सहकार्य र विश्वासले पनि टिक्छ। तिहारले सिकाउँछ– दीप बाल्नु भनेको केवल उत्सव होइन, आत्मिक पुनर्जागरण हो। हामी सबैले मनभित्रको दीप बाल्नुपर्छ। घर मात्र होइन, देशभित्रका चिसिएका विश्वासहरू उज्यालो पार्नुपर्छ। दिदीले भाइलाई दीर्घायुको कामना गर्छिन्। आज हामी सबैले पनि देशलाई त्यो दीर्घायु कामना गर्नुपर्छ– जहाँ आशा नमरोस्, सत्य नथकाओस् र लोकतन्त्र केवल शब्द नभएर व्यवहार बनोस्।
दियो बाल्नु भनेको अन्यायको अँध्यारोमा सत्यको शिखा जगाउनु हो। त्यसैले, राजनीतिक दल र सरकारलाई आत्मसुधारको शुभकामना, जेनजी युवा र जनतालाई अडान, आशा र चेतनाको उज्यालोको शुभकामना र राज्यलाई दमन होइन, दया र न्यायको प्रकाश फैलाउन प्रेरणा। यस तिहारमा दियो बाल्दा सम्झनुहोस्– अँध्यारो केवल रातको हुँदैन, अन्याय र निराशाको पनि हुन्छ। र, उज्यालो केवल बत्तीको हुँदैन, चेतनाको पनि हुन्छ। तिहारले देखाएको मार्ग र जेनजी आन्दोलनले दिएको सन्देश एउटै छ– ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतर्फ।
तिहारको हार्दिक शुभकामना!
प्रकाशित: ३ कार्तिक २०८२ ०६:५१ सोमबार

