नेपाली कांग्रेसको इतिहासमा यो साता एउटा कोसेढुंगा बन्ने निश्चित छ। गत संसदीय निर्वाचनका आधारमा पनि यो मुलुककै सबैभन्दा ठुलो दल हो। यस दलमा यतिबेला जबर्जस्त सुधारको अजेन्ड प्रवेश गरेको छ। त्यही सुधारको महत्तम कार्य गर्न अग्रसर भएका छन्-महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा। यस पक्षको अगुवाइमा आइतबार र सोमबार हुन गइरहेको विशेष महाधिवेशनले यो दल सकिने वा सच्चिने कुनै एक अवश्य हुनेछ तर यो विद्रोहले एक हदसम्म यो दलको सुधारतर्फको मार्ग प्रशस्त गरिसकेको छ।
कांग्रेस एक माघको दल होइन। यसको जीवनमा पटक–पटक संघर्षका आरोहअवरोध रहेका छन्। निरंकुशताविरुद्ध यसले सधैं दुन्दुभी बजाएको छ। जननेता बिपी कोइरालाले भनेजस्तो क्रान्तिको सफलतापछि ‘सुकिलामुकिला’ हाबी हुन्छन्। फेरि यसका ‘पुराना इमानदार समर्पित कार्यकर्ता’ले तिनका विरुद्ध विद्रोह गर्नुपर्ने हुन्छ। बिपी पथमा विश्वास गर्ने यी कार्यकर्ताले निःसन्देश उनको यो विचारलाई मनन गरेका छन्। आज कांग्रेसको विकल्प खोजिरहेका कैयन् भूतपूर्व वा हुनेवाला कांग्रेसलाई पनि यस्ता विद्रोहले आश्वस्त तुल्याउने छ। यसले कांग्रेस कमजोर हुने होइन, बरु थप सशक्त भएर अगाडि बढ्न र आकर्षणको केन्द्र बन्न मद्दत गर्नेछ।
गत भदौ २३ को जेनजी विद्रोह र त्यसको आडमा भएको लुटपाट, आगजनी र ध्वंसपछि मुलुकको राजनीति त्यही प्रवाहमा छैन। विशेष गरी जेनजी विद्रोहको सन्देश पुस्तान्तरण हो। त्यति मात्र होइन, समग्रतामा यसले दलदेखि राज्यसञ्चालनसम्म सुधारका निम्ति आग्रह गरेको हो। त्यसको आलोकमा कांग्रेस सुध्रिने लक्षण देखाएको पनि हो। विगतमा गल्ती भएको खुला हृदयले यसका महामन्त्री गगन थापाले स्वीकार गरेका पनि हुन्। यससँगै उनले सुधारका निम्ति निरन्तर लाग्न दललाई प्रेरित गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएपछि यो दल स्वाभाविक रूपमा सुधारको बाटोमा जाने अपेक्षा गरिएको हो तर उनी उपचारबाट देश फर्केपछि सत्तासुखले फेरि आक्रान्त भएको सन्देश दिइरहेका छन्। परिवारवादको आरोप उनीमाथि लागिरहेको छ। उनले कांग्रेसभित्र देखिएको परिवर्तनको स्वाभाविक अपेक्षालाई उपेक्षापूर्ण व्यवहार गरिरहेका छन्। लोकतन्त्रमा विश्वास भएका र उदार नेताका रूपमा चिनिएका देउवा र उनी निकट रहेका अघिल्लो पुस्ताका नेताका कारण कांग्रेस हुन लागेको रूपान्तरणको प्रयास खलबलिएको छ। त्यसैलाई ठाउँमा ल्याउने प्रयासमा महामन्त्रीद्वय र तिनीसँगै लामबद्ध महाधिवेशन प्रतिनिधिले गरिरहेको छ। कांग्रेसमा देखिएको यो विद्रोहले यसमा मात्र होइन, अन्यत्र पनि सकारात्मक प्रभाव पार्नेछ।
गत भदौको जेनजी विद्रोहको एउटा कारण ‘नेपोकिड’ पनि हो। युवाहरूमा आशा कम हुने र पहुँचवालाका सन्तानले उपलब्धि हासिल गर्ने व्यवस्थाका कारण पनि विद्रोह भएको हो। मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था भएर पनि यसको विपक्षमा मानिसहरू लाग्ने अवस्था त्यत्तिकै आएको होइन। आज संसारभरि लोकरिझ्याइँले आक्रान्त पारिरहेको छ। लोकतान्त्रिक शासन व्यवस्थाजस्तो उन्नत अवस्थालाई पनि मानिसले अन्यथा रूपमा हेर्ने भनेको यसमा देखिएका विकृतिकै कारण हो। अहिले मुलुकमा रहेका प्रमुख दलका अघिल्लो पुस्ताका नेताहरूको व्यवहारका कारण मुलुक दुर्गति उन्मुख भएको आरोप लागिरहेको छ। यसकारण पनि कांग्रेसभित्र सुधारका निम्ति उठिरहेको आवाज सुन्नु आवश्यक छ। अन्य दलले नसुध्रिने लक्षण देखाएका छन्। त्यस दलभित्रका दोस्रो र तेस्रो पुस्ताका युवाले विद्रोह पनि भरलाग्दो किसिमले गर्न सकेनन्। यसकारण पनि सबैको आशाको केन्द्रमा छन् कांग्रेसका विद्रोही युवा नेताहरू।
कांग्रेस विशेष महाधिवेशन माग गर्ने संख्या ५४ प्रतिशत छ। गत महाधिवेशनमा प्रतिनिधिरहेका चार हजार पाँच सय ५६ मध्ये २४ सय ८८ भन्दा बढीले विशेष महाधिवेशन माग गरेका छन्। कांग्रेसले आफूलाई लोकतन्त्रमा क्रियाशील र व्यवहार पनि लोकतान्त्रिक नै गर्ने ठान्छ भने निःसन्देश यो आवाजलाई सुन्नुपर्छ। त्यति मात्र होइन, विशेष महाधिवेशनले पारित गर्ने विशेष नीतिगत प्रस्तावलाई स्वीकार गर्ने मात्र होइन, यसबाट नेतृत्व निर्वाचित भयो भने त्यसलाई समेत राज्यका निकायले मान्यता दिनुपर्छ। निर्वाचन आयोगले यो लोकतान्त्रिक अभ्यासबाट आउने नेतृत्वलाई मान्यता नदिएर अन्यथा गर्न खोज्यो भने अन्यथा हुनेछ। त्यति मात्र होइन, नयाँ नेतृत्वको हस्ताक्षरबाटै आगामी निर्वाचनका निम्ति उम्मेदवारको मनोनयन हुने व्यवस्था गर्नुपर्ने हुन्छ।
कांग्रेसका युवाले गरेको यो विद्रोहले समग्रमा मुलुकको राजनीतिमा देखिएको वितृष्णा तोड्न गम्भीर भूमिका खेल्ने निश्चित छ। वास्तवमा कांग्रेसको संस्थापन पक्षले यसलाई आत्मसात गरेर परिवर्तनलाई सहजीकरण गर्नुपर्छ। देउवाले आफूलाई आफ्नो दल र यसमा रहेका सबै कार्यकर्ताको हित चाहने हो भने दलको सत्ता हस्तान्तरणका लागि तयार हुनुपर्छ। यसले मात्र कांग्रेसको हित गर्नेछ। पुराना दल सच्चिएको सन्देश जानेछ। अरू नसच्चिए पनि कांग्रेसले आफूलाई सच्यायो भने अरूमाथि पनि त्यसको प्रत्यक्ष वा परोपक्ष प्रभाव पर्ने निश्चित छ।
प्रकाशित: २७ पुस २०८२ ०६:१७ आइतबार

