२८ पुस २०८२ सोमबार
image/svg+xml
सम्पादकीय

विशेष अधिवेशनका सन्देश

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान भएको दोस्रो विशेष महाधिवेशनले लोकतन्त्रलाई नयाँ भरोसा दिएको छ। वास्तवमा लोकतन्त्रले लय समात्ने यसरी नै हो। 

दलका शीर्ष नेताको अकर्मण्यतामा लम्पसार परेर नयाँ नेतृत्व विकास हुँदैन। त्यति मात्र होइन, यसले दललाई गति दिँदैन। विशेष गरी ठुला भनिएका दलमा बितेका केही वर्षयता देखिएको अकर्मण्यताले मुलुकमा जेनजी विद्रोहलाई आह्वान गरेको बिर्सन मिल्दैन। जब आशाहरू समाप्त हुन्छन् तब विद्रोहले ठाउँ खोज्छ। कांग्रेसभित्रको उकुसमुकुसमा पनि अहिले युवाहरूले गरेको आह्वान र त्यसलाई साथ दिने सबै उमेर समूहका नेताको उपस्थितिले विद्रोहलाई भव्यता प्रदान गरेको छ।

कांग्रेसमा अघिल्लो पुस्ताका गोपालमान श्रेष्ठदेखि भर्खरै दलभित्र पाइला चाल्न खोजेका युवासम्म भृकुटीमण्डपमा आइतबार आयोजित विशेष महाधिवेशनमा सहभागी भएको र आफ्ना धारणा राखेको घटना एउटा लोभलाग्दो परिदृश्य हो। कांग्रेस भन्नु यसका सभापति शेरबहादुर देउवा र उनको वरिपरि घुमिरहेका केही नेता मात्र होइनन्। वास्तवमा कांग्रेसले सही बाटो लियो भने मात्र आगामी दिनमा लोकतन्त्रलाई सुदृढ तुल्याउन सकिन्छ भन्ने विश्वासले यी सबै आएका हुन्। जुन हिसाबले त्यहाँ कार्यक्रम भएको छ र नेतृत्वलाई सच्चिन आह्वान भएको छ, त्यो आफैंमा उल्लेख्य घटना हो। यस्ता विशेष घटनाले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ। कहिलेकाहीं आउने यस्ता निर्णायक मोडमा लिइने सही निर्णयले भविष्यको बाटोलाई सुनिश्चित गर्छ। 

विधानले विशेष महाधिवेशनको व्यवस्था यस्तै परिस्थितिलाई ध्यानमा राखेर गरेको हो। यसले दलभित्रको लोकतन्त्रीकरणमा मद्दत पुग्छ। लोकतन्त्र भनेको केवल भाषण गर्ने शब्दावली मात्र होइन, यो अभ्यासबाट जीवन्त हुने पक्ष पनि हो। यसकारण विशेष महाधिवेशनको पक्षमा उभिएका कांग्रेस कार्यकर्ताले लोकतन्त्रलाई यथार्थमै मार्गदर्शन गर्न उल्लेख्य भूमिका खेलेका छन्। हिजोका निरंकुशतन्त्रका दिनमा समेत कांग्रेस नेता तथा कार्यकर्ताले तपस्वीले जस्तो भूमिका खेलेर लोकतन्त्रको धिपधिपे बत्ती जोगाएका हुन्। हिजोको आँधीहुरीमा जोगिएको लोकतन्त्रको प्राण लोकतन्त्रमै जानुहुँदैन। कांग्रेसजस्तो गौरवपूर्ण इतिहास भएको दल जोगियो भने मात्र लोकतन्त्र पनि जोगिन्छ। आजको लोकरिझ्याइँले आक्रान्त संसारका निम्ति पनि यस्तो दलको आवश्यकता छ। 

कांग्रेसको जीवनमा कैयन् कठिन घडी आएका छन्। यस्तो समयमा सुझबुझपूर्ण निर्णयले यसलाई जोगाएको छ। विगतमा हालका सभापति शेरबहादुर देउवा आफैंले दल विभाजनसमेत गरेर नेपाली कांग्रेस (प्रजातन्त्रवादी) बनाएका पनि हुन्। पछि उनी फेरि कांग्रेसमा दल एकीकरण गरेर त्यसैको नेता बन्न पुगे। अहिले भएको विशेष महाधिवेशनकै क्रममा देउवाले आफ्नो निवास महाराजगन्जमा आफू निकट नेता तथा कार्यकर्ताको बैठक राखेर दल विभाजित नहुने सन्देश प्रवाह गरेका छन्। नि:सन्देह विशेष महाधिवेशन पक्षधर नेताहरूले दल विभाजनभन्दा पनि यसको नीतिगत सुधारमा बढ्ता जोड दिएका छन्। कुनै पनि नेता कतिपटक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र समानुपातिकमा पर्ने भन्नेजस्ता अहं सवाललाई समेत यसले मार्गदर्शन गर्ने देखिएको छ। 

यसले दलको अभ्यास र लोकतन्त्रीकरण प्रक्रियालाई मद्दत पुग्ने नै छ। यसका साथै दलमा कसैले एकलौटी गर्ने र लोकतान्त्रिक अभ्यासलाई अवरुद्ध गर्ने अवस्थामा यसरी खबरदारी गर्ने अभ्यासको निरन्तरता पनि हो यो। दलहरूको जुन अभ्यासले आज लोकतन्त्रमाथि धावा बोल्ने तत्वहरूलाई बल पुगेको छ, त्यसका निम्ति पनि सुधार प्रक्रिया आवश्यक छ। कांग्रेस मात्र होइन, अन्य दललाई पनि यसले प्रेरणा दिएको छ। मुलुकमा नयाँ पुस्ताले गरेको विद्रोहबाट राखिएका अपेक्षा पूरा गर्न पनि यसको आवश्यकता टड्कारो देखिएको छ। यसले समग्रमा मुलुकका आशावादी नजरले हेरिरहेका सर्वसाधारणमा पनि आशाको सञ्चार गरेको छ। ठुला दलको शक्ति क्षीण भएको भन्ने जुन भाष्य निर्माण गरिएको थियो, त्यो यथार्थ होइन भन्ने सन्देश दिनसमेत विशेष महाधिवेशन सफल भएको छ। विशेष महाधिवेशनमा आएका अनुहार र विचारले कांग्रेसलाई थप सशक्त तुल्याएको छ। 

कतिपय अवस्थामा फरक विचार र अभ्यास हुनासाथ दल विभाजन हुन्छ भनेर अनावश्यक डरको खेती गरिन्छ। कांग्रेसमा पनि विशेष महाधिवेशनको माग भएदेखि नै त्यो भाष्य निर्माण गरेर विद्रोहको आवाज कुल्चिन खोजेको हो। कैयन् नाम चलेका नेताहरू यही हावामा हिँडेको देखिएको हो। वास्तवमा यस्ता अभ्यासले दल कमजोर होइन बरु थप बलियो हुन्छ। 

दलभित्र विचार प्रवाह हुँदा त्यसले रक्तसञ्चारको काम गर्छ। रक्तसञ्चार अवरुद्ध भएको शरीर र विचार प्रवाह नभएको दल एकै हुन्। यसकारण पनि कांग्रेस महाधिवेशनले दिएको सन्देश सकारात्मक छ। यसले दिने सुविचारित बाटोले भोलिको यात्रा सरल हुने निश्चित छ। महामन्त्री थापाले पुसको अन्तिम साताको चिसो साँझमा संवोधन गर्दै आशाको न्यानो दिएका छन्– हामी परिपक्व र लोकान्तकारी निर्णय गर्छौं। 

प्रकाशित: २८ पुस २०८२ ०६:०९ सोमबार

Download Nagarik App
Download Nagarik App