१० चैत्र २०८२ मंगलबार
image/svg+xml
सम्पादकीय

सामाजिक सद्भाव

हाम्रो मुलुकको सामाजिक संरचना बहुधार्मिक, बहुसांस्कृतिक र सहअस्तित्वको बलियो आधारमा उभिएको छ। धेरै अघिदेखि फरक–फरक धर्म र समुदायले आपसमा  सहकार्य, सहिष्णुता र आपसी सम्मानलाई महत्त्व दिँदै आएका छन्। यसले  नेपाली समाजलाई स्थिर र समावेशी बनाएको छ  तर पछिल्ला वर्षहरूमा यदाकदा देखिँदै आएका हिन्दु–मुस्लिम समुदायबिचका केही तनावपूर्ण घटनाले यो आधार क्रमशः कमजोर बन्दै गएको संकेत दिएका छन्। कपिलवस्तुको घटनाले यस चिन्तालाई थप गहिरो बनाएको छ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकास्थित बरगदवा गाउँमा इदको अवसरमा नमाज पढिरहेको समयमा नजिकै रहेको काली मन्दिरमा ठुलो आवाजमा ध्वनि बजाइएपछि सुरु भएको विवाद केही क्षणमै उग्र झडपमा परिणत भयो। प्रारम्भमा सामान्य असमझदारीजस्तो देखिएको घटना बिस्तारै नियन्त्रणबाहिर गयो र जिल्लाका अन्य क्षेत्र तौलिहवा, पकडी, लवनी र डंगरीसम्म फैलियो। लगत्तै बजार बन्द भए, सार्वजनिक यातायात ठप्प भए, विद्यालयका वार्षिक परीक्षा स्थगित गर्नुपर्‍यो र दुई दर्जनभन्दा बढी मानिस घाइते भए। अन्ततः प्रशासनले निषेधाज्ञा जारी गरेर स्थिति नियन्त्रणमा लिन बाध्य हुनुपर्‍यो। यसले हाम्रो समाजभित्र अझै पनि बढ्दो अविश्वास र असहिष्णुताको संकेत  गर्छ।

त्यसो त कपिलवस्तुको घटना कुनै पृथक् होइन। यसअघि रौतहट र पर्सा, विशेषतः वीरगन्जमा पनि यस्तै प्रकृतिका विवादले हिंसात्मक रूप लिएका थिए। केही महिनाअघि सामाजिक सञ्जालमा फैलिएको घृणात्मक सामग्रीबाट सुरु भएको विवादले कफ्र्यु लगाउनुपर्ने अवस्थासम्म पुर्‍याएको थियो। त्यतिबेला सर्वदलीय तथा सर्वपक्षीय बैठकमार्फत संवाद र सद्भाव कायम गर्ने प्रयास गरिएको थियो, जसले अस्थायी रूपमा शान्ति फर्काउन सहयोग पुर्‍यायो तर ती प्रयासहरू दीर्घकालीन समाधानमा रूपान्तरण हुन नसक्दा घटनाहरू दोहोरिन थालेका छन्। यसले समस्या सतही रूपमा समाधान गरिएको तर यसको जरा अझै बाँकी रहेको स्पष्ट पार्छ।

यी घटनालाई केवल धार्मिक विवादका रूपमा व्याख्या गर्नु पर्याप्त हुँदैन। यसको पछाडि सामाजिक, राजनीतिक र प्राविधिक कारणको जटिल अन्तरसम्बन्ध छ। विशेषगरी सामाजिक सञ्जालको दुरुपयोगले पछिल्ला घटनामा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। अफवाह, भ्रामक भिडियो र घृणात्मक अभिव्यक्तिहरूले समुदायबिच अविश्वास फैलाउने काम गर्छन्। एक ठाउँमा उत्पन्न भएको तनाव केही घण्टामै अर्को ठाउँमा फैलिनु यसको स्पष्ट उदाहरण हो। सामाजिक सञ्जालमा आएका सामग्रीको सत्यापन नहेरी भावनात्मक रूपमा प्रतिक्रिया व्यक्त गर्नु हुँदैन भन्ने स्पष्ट सन्देश समाजमा आवश्यक देखिएको छ।

यसका साथै राजनीतिक र सामाजिक नेतृत्वको भूमिका पनि सन्तोषजनक देखिँदैन। कतिपय अवस्थामा स्पष्ट र जिम्मेवारीपूर्ण धारणा व्यक्त नगर्ने वा अवसरवादी रूपमा मौन बस्ने प्रवृत्तिले समस्या झन् गम्भीर बनाउँछ। यस्ता संवेदनशील विषयमा नेतृत्वले समयमै संयमित र स्पष्ट सन्देश दिन नसक्दा आमनागरिक अन्योलमा पर्छन् र उक्साहटमा आउने सम्भावना बढ्छ। महत्त्वपूर्ण पक्ष भनेको सबैभन्दा पहिले हामी मानव हौं र विभिन्न धर्म तथा सम्प्रदाय एक अर्काका अभिन्न विश्वास हुन्। तिनीप्रति हाम्रो विश्वास हुनुपर्छ। कानुनी शासनको प्रभावकारी कार्यान्वयन अभाव अर्को उल्लेख्य पक्ष हो। दोषीलाई समयमै कारबाही नगर्दा दण्डहीनता मौलाउँछ, जसले यस्ता गतिविधिलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन दिन्छ। साथै, बेरोजगारी, गरिबी र अशिक्षाले ग्रस्त युवाहरू सजिलै उक्साहटमा आउन सक्छन्, जसले साना विवादलाई पनि हिंसात्मक रूप दिन सक्छ।

यस्तो परिस्थितिमा दीर्घकालीन समाधान खोज्नु अत्यावश्यक छ। सबैभन्दा पहिले समुदायबिच विश्वास पुनर्निर्माण गर्नुपर्छ। स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र राजनीतिक नेतृत्वबिच नियमित संवाद र सहकार्यको वातावरण सिर्जना गर्न आवश्यक छ। संवाद केवल संकटको बेला मात्र होइन, निरन्तर हुनुपर्छ, जसले आपसी समझदारी र विश्वासलाई बलियो बनाउँछ।

त्यसैगरी सामाजिक सञ्जालमा फैलिने घृणात्मक सामग्रीलाई नियन्त्रण गर्न कडा कदम चाल्नुपर्छ। डिजिटल साक्षरता अभिवृद्धि गर्दै नागरिकलाई जिम्मेवार सूचना प्रयोगतर्फ सचेत गराउनु आवश्यक छ। कानुनी रूपमा पनि यस्ता सामग्री फैलाउने व्यक्तिलाई दण्डित गरिनुपर्छ, ताकि भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सकियोस्। अपराधीलाई धर्म वा समुदायको आधारमा होइन, उसको कार्यका आधारमा कारबाही गरिनुपर्छ। यसले मात्र न्यायप्रणालीप्रति विश्वास कायम गर्न सक्छ र समाजमा शान्ति स्थापना गर्न सहयोग पुर्‍याउँछ।

नेपालको पहिचान भनेको विविधतामा आधारित एकता हो। कपिलवस्तु, रौतहट र पर्साका घटनाले यो एकतालाई चुनौती दिएका छन्। यस्ता घटनालाई सामान्य रूपमा लिएर बेवास्ता गर्नु घातक हुनेछ। समयमै गम्भीरतापूर्वक हस्तक्षेप नगरे साना विवादहरू ठुलो सामाजिक संकटमा परिणत हुन सक्छन्। त्यसैले संयम, संवाद, सहिष्णुता र कानुनी शासनलाई सुदृढ गर्दै सहअस्तित्वको मार्गमा अघि बढ्नु आजको अपरिहार्य आवश्यकता हो। यही बाटोले मात्र नेपाली समाजलाई विभाजनबाट जोगाएर स्थायी शान्ति र सद्भावतर्फ डोर्‍याउन सक्छ।

प्रकाशित: ९ चैत्र २०८२ ०६:०८ सोमबार